Tuesday, November 27, 2012

पेसा प्यारो कि परिवार ? पेसाको उत्कृष्ट नमुना !!




     
१२ मंसिर, काठमाडौं । पेसा प्यारो कि परिवार ? सबैका लागि पक्कै पनि परिवार प्यारो हुन्छ ! तर स्वास्थ्य क्षेत्रमा कार्यरत केशव भट्टराई र सरिता बोहराका लागि परिवारभन्दा बढी पेसा नै प्यारो भएको छ । बरु समयको अभावमा उहाँहरुले परिवार नै गुमाउनुपर्‍यो । उहाँहरुले पेसाप्रतिको लगनशीलता र कर्तव्यपरायणतालाई भने कहीँ कतैबाट आँच आउन दिनुभएन ।
भट्टराई १४ वर्षदेखि बझाङको सुमिकोट स्वास्थ्य चौकीमा वरिष्ठ स्वास्थ्य सहायक -अहेब) पदमा कार्यरत हुुनुहन्छ । उहाँले भन्नुभयो-”म आफू पेसामा इमान्दार र लगनशील भए पनि श्रीमतीको उपचारमा समय दिन नसक्दा उनलाई गुमाउनुपर्‍यो ।” त्यस्तै बोहरा हुम्ला जिल्ला अस्पतालमा अनमी पदमा कार्यरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ- “कामको सिलसिलामा निरन्तर लागिपर्दा मैले श्रीमान्बाट सम्बन्धविच्छेद हुनुपर्‍यो ।”
अहोरात्र काममै खटिएका उनीहरु दुवै बिदामा पनि बसेनन् । दिनरात, सुखदुःख र घामपानी केही नभनी काममै खटिइरहे । दुवैजना अहोरात्र जनताको स्वास्थ्य सेवाका लागि तल्लिन रहे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित सम्मान कार्यक्रममा अहेब भट्टराईले रुँदै भन्नुभयो- “सुत्केरी बेथाले च्यापेका बझाङका कैयौँ महिलालाई अकालमा मृत्युबाट जोगाएँ, बालबालिकालाई खोप लगाएँ तर आफ्नै श्रीमतीलाई मृत्युको मुखबाट जोगाउन सकिन ।”
भट्टराईको भनाइ सुनेकी अनमी बोहराका पनि आँखामा आँशु थामिएनन् । उहाँले पनि रुँदै भन्नुभयो- “मैले हुम्लेली महिलालाई स्व्ाास्थ्य चौकीमा सुत्केरी गराउनेदेखि परिवार नियोजनका सेवाका बारेमा जानकारी गराएँ तर समय दिन नसकेर श्रीमान्ले एकतर्फीरुपमा सम्बन्धविच्छेद गरिदिए ।”
पेसाप्रतिको लगनशीलतालाई कदर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलोपटक जनही रु ५० हजार नगदसहित प्रमाणपत्र दिएर भट्टराई र बोहरालाई सम्मान गरेको छ ।
कार्यक्रममा रुपन्देहीका जनस्वास्थ्य अधिकृत महेश्वर श्रेष्ठ र सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत विन्दालाल चौधरीलाईर् पनि जनही रु ५० हजार नगदसहित सम्मान प्रदान गरियो ।
श्रेष्ठलाई रुपन्देहीमा संस्थागतरुपमा प्रसूति सेवा गराउन स्वास्थ्य संस्थामा आउन गर्भवती महिलाई आकषिर्त गराएवापत र चौधरीलाई औलो नियन्त्रणमा योगदान दिएवापत सो सम्मान प्रदान गरिएको हो । त्यसैगरी मानवअङ्ग प्रत्यारोपणका क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत डा पुकारचन्द्र श्रेष्ठलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मान गरिएको थियो । पुरस्कारको राशि रु एक लाख छ ।
श्रेष्ठ मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । केन्द्रले रु २५० मा मिर्गौला उपचारको सेवा सुरु गरेको छ । नेपालमा पहिलोपटक मानवअङ्ग प्रत्यारोपण सेवा पनि सुरु भएको छ । रासस

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।