Thursday, June 19, 2014

गर्मि छल्न तथा सितलताको लागी चरिकोट जाउँ,,,,,,

शीतलमा आराम गर्न चरिकोट
राजेन्द्र मानन्धर               
दोलखा, जेष्ठ २७ - अत्यधिक गर्मीले जताततै सताइरहेका बेला राजधानी नजिकैको चरिकोट भने शीतलमा आराम गर्न आउनेको जमघटस्थल बनेको छ । आरामदायक मौसम भएकाले बिहान आएर
बेलुकी र्फकनेहरू पनि एकाध दिन चरिकोटमै बस्न थालेका छन् । समुद्री सतहबाट १९७० मिटर उचाइको चहलपहलयुक्त दोलखा सदरमुकाम चरिकोट गर्मी छल्न आउनेको जमघटले होटलहरू भरिएका छन् । क्षेत्रीय होटल संघ दोलखा अध्यक्ष सुन्दर कार्कीका अनुसार अन्यत्र गर्मी बढेसँगै चरिकोट र जिरी बजारका होटलमा आउने संख्यामा तुलानात्मक रूपमा बढेको

छ । 'जाडो मौसममा भन्दा अहिले केही दिन बढी बस्न आउने पाहुनाको संख्या ह्वात्तै बढ्यो,' कार्कीले भने, 'अघिल्लो वर्ष यही मौसममा भन्दा अहिले बढेको छ ।'

काठमाडौंबाट १३३ किलोमिटर यात्रापछि पुगिने चरिकोटमा यतिखेर न जाडो, न गर्मी छ । जिविस दोलखामा राखिएको तापक्रम मापनले अधिकतम तामक्रम २२ डिग्री सेल्सियससम्म देखाएको छ । न्यूनतम १९ दशमलव ३ रेकर्ड गरेको छ । गत वर्ष भने यो बेला करिब ३० डिग्री तापक्रम थियो ।

चैतको तुलनामा वैशाखपछि दोलखा प्रवेश गर्ने निजी सवारी बढेको प्रहरीको तथ्यांकमा छ । जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले खरिढुङ्गा चेकपोस्टबाट चैतमा मोटरसाइकलबाहेक २ हजार ७ सय निजी सवारी जिल्ला भित्रिएको बताए । वैशाखमा उक्त संख्या ३ हजार १० रहेको काफ्लेले बताए । जेठको तेस्रो सातासम्म ३ हजार ३ सय निजी साधन जिल्ला प्रवेश गरेको उल्लेख छ । ठिक्कको मौसम फेला पारेपछि कोलकताबाट दुई साथीसहित भीमेश्वर दर्शन गर्न आएका पिके सरकार अरू एक दिन चरिकोटमै बसे । 'काठमाडौंको गर्मी खेप्नुभन्दा यहीँ बस्नु ठीक लाग्यो,' उनले सुनाए । अरनिको यातायात सेवा समिति सचिव श्याम लामाले खाडीचौर हुँदै दोलखा जाने ५८ वटा बसमा यात्रुहरूको चाप वैशाखयता बढेको बताए । नियमितबाहेक अतिरिक्त बस रिजर्भ आउनेको संख्या पनि बढेको उनको भनाइ छ ।

धेरैजसो पर्यटक दोलखास्थित भीमेश्वर र कालिञ्चोक भगवती दर्शनमा आउँछन् । चरिकोटबाट १७ किलोमिटर टाढा तीन हजार आठ सय ४२ मिटर अग्लो कालिञ्चोक दर्शनमा आउनेमध्ये केही भने एक रात उतै बिताउँछन् । 'आहा.. कस्तो शीतल' काठमाडौंबाट कालिञ्चोक जाँदै गरेका सुधीर श्रष्ठले भने । उनको अनुभवमा चरिकोटमा दिउँसो घाममा हिंड्दा केही असहज भए पनि छायामा बसेपछि शीतल हुन्छ । रातमा पातलो सिरक नै ओढ्नुपर्छ भने बिहानबेलुकी पातलो ज्याकेट नै लगाउनुपर्छ ।

चरिकोटमा आरामदायक कोठाहरू भएका ३५ वटा होटल छन् । करिब तीन सय बाथरुम जोडिएका कोठा छन् । पछिल्लो समय हिमाल, पहाड, बस्ती, खोलानाला देख्न सकिने चरिकोट तालिम, गोष्ठी, कलेज र सहकारी अवलोकन भ्रमणस्थल पनि बन्दै गएको छ । चितवनस्थित सिद्दी जागरण सहकारीबाट भ्रमणमा आएका टीकाराम आचार्यले चिसो मौसममा रमाउन कार्यक्रम नभए पनि एक दिन चरिकोटमै बसेको सुनाए । त्यसैगरी कलेजका विद्यार्थी पनि दोलखा, कालिञ्चोक, जिरी र शैलुङको मनमोहक स्थल घुम्न चरिकोट बास बस्छन् ।

उद्यम, व्यापार, कृषि, वित्तीय कम्पनीहरू फस्टाएको भीमेश्वर नगरपालिका पछिल्लो समयमा पर्यटन हब बन्दै गएको जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीले बताए । सुविधायुक्त मानवीय आवश्यकता पूर्ति हुने र कहिल्यै लोडसेडिङ नहुने भएकाले पनि बारम्बार चरिकोट आउन पर्यटक रमाउँछन् ।

प्रकाशित मिति: २०७१ जेष्ठ २७ १०:३६
साभार

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।