Thursday, October 20, 2016

केबलकारमा सरर कालिञ्चोक, २६ करोड लगानीमा निर्माण हुने

 कात्तिक ४-दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ । अर्को दसैंको बेला सञ्चालनमा आउने गरी केबलकार निर्माण गरिने भएको छ । कालिञ्चोक मन्दिरको दर्शनका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न लागिएको हो । कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गर्न लागेको केबलकारको निर्माण कार्य तिहार लगत्तै सुरु हुने कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए । वर्षात्ले अहिले चरिकोटबाट कुरीसम्मको सडकसमेत अप्ठ्यारो भएकाले सडक सफा गरेपछि सामान ढुवानी र केबलकारका लागि पूर्वाधारको काम पनि सुरु गरिने बताए ।उनले अबको एक वर्षभित्रमा कालिञ्चोक माताको दर्शनका लागि कुरीबाट केबलकारमा जान सकिने बताए । २६ करोडको लगानीमा निर्माण हुन लागेको भए तापनि बञ्जिजम्प, स्किपिङसहितको खेल र कुरीमा पर्यटकहरूका लागि लक्षित गरी सुविधासम्पन्न होटेलसमेत नयाँ प्याकेज थपिएकाले कुल लगानी ५० करोडसम्म पुग्ने उनले बताए । कालिञ्चोकको कुरीबाट एक किलोमिटर ठाडो उकालो पार गरेर पुग्नुपर्ने मन्दिरको दर्शनका लागि केबलकारबाट करिब ५ मिनेटमा पुगिनेछ । जबकि कुरीबाट हिँडेर पुग्न एक घण्टा लाग्छ । केबलकारमा १२ जना क्षमताको २ वटा कार रहने छ । कालिञ्चोक मन्दिर छेउमा ठाउँको अभावमा २ वटा मात्र कार राख्न लागेको बताए । अर्को सामान ढुवानीको लागिसमेत कार राखिने छ । दैनिक ८ घण्टा सञ्चालन हुँदा १ हजार ८ सय जनाले सेवा पाउने अनुमान छ । हाल कालिञ्चोक गाविसको कुरीमा काम सञ्चालनका लागि आवश्यक तयारी भइरहेको उनले बताए । केबलकारको आवश्यक मेसिन स्विट्जरल्यान्डमा निर्माण भइसकेको उनले बताए । तयारी मेसिनको निरीक्षणका लागि तत्कालै इन्जिनियर स्विट्जरल्याण्ड पठाउने र ढुवानीको काम पनि सुरु हुने बताए । ढुवानीको लागि मात्र २ महिना लाग्ने बताए । कालिञ्चोकमा चरिकोटदेखि कुरीसम्म सडक सुचारु भएपछि केही वर्षदेखि आन्तरिक पर्यटकको संख्यासमेत बढ्दै गएको छ । शुक्रबार शनिबार, विभिन्न चाडपर्व, बिदा मनाउन आउनेको रोजाइ कालिञ्चोक हुने गरेको छ । यसपालिको दसैंमा मात्र दैनिक ५ सयभन्दा बढी पर्यटक कालिञ्चोक पुगेको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए । केबलकार सञ्चालनमा आएपछि साविकको भन्दा दोब्बर पर्यटक दोलखा भित्रिने उनको विश्वास छ । यो समस्या पनि केबलकार सञ्चालन पछि हट्ने उनको भनाइ छ । केबलकार सञ्चालनमा आएपछि जिल्लाका होटेलमा पनि चहलपहल बढ्ने भएकाले आफूहरू पनि सहयोग गर्न तयार रहेको उनले बताए । कालिञ्चोकमा सञ्चालन हुने केबलकार देशकै तेस्रो केबलकार हुनेछ । मनकामनामा सञ्चालन भएको केबलकार सबैभन्दा पुरानो केबलकार हो । काठमाडौंको चन्द्रागिरिमा केही महिनादेखि केबलकार सञ्चालनमा आएको छ । (कारोबारदैनिक अनलाईन बाट साभार)


No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।