
सुन्दरतालाई मनमोहक बनाएको छ । र, मानिसलाई आकर्षित गरिरहेको छ । तर, प्रश्न गरिरहेको छ कालिञ्चोकले, ‘मलाई चिन्न सक्नेले मात्र सही गन्तव्यको छनौट गर्न सक्छ । के तपाईं सक्नुहुन्छ रु यदि सक्नुहुन्छ भने आउनुहोस मसँग मितेरी लगाउन ।’
कहाँ छ र कसरी जाने कालिञ्चोक भगवती मन्दिर?
जनकपुर अञ्चलको दोलखा जिल्लामा अवस्थित छ, कालिञ्चोक भगवती मन्दिर । काठमाडौंको पुरानो बसपार्कबाट बस चढेर १ सय ३३ किलोमिटरको यात्रामा दोलखाको सदरमुकाम चरिकोट पुगिन्छ । पक्की सडक भएकाले विस्तारै गए पनि करिब ५ घण्टाको यात्रामा चरिकोट पुगिन्छ । चरिकोटबाट १८ किलोमिटर उत्तरतर्फ फोर ह्वील सवारीसाधनबाट करिब २ घण्टा लामो कच्ची सडकको यात्रामा कालिञ्चोकको फेदीमा रहेको कुरी भ्यालीमा पुग्न सकिन्छ ।
चरिकोटबाट कुरी जाँदा जाडो मौसम भए हिँउमा खेल्दै जान पाइन्छ भने वैशाख जेठको समयमा वनभरी फुलेका रङ्गीचङ्गी लालीगुराँसका फूलहरूले तपाइलाई आकर्षित गर्नेछ । यदि तपाई सवारीसाधनको चेपाइ र प्रदुषणबाट मुक्त हुन चाहनुहुन्छ भने चरिकोटबाट करिब ५ घण्टाको उकालो बाटो हिँडेर पनि कुरी भ्यालीमा पुग्न सक्नुहुनेछ । तपाइसँग आज एक दिनको समय छ भने कुरी भ्यालीमै रहेको होटलमा बास बस्नुहोस् । कुरी भ्यालीमा करिब २० वटा साना होटलहरू सञ्चालनमा छन् । त्यहाँ सादा नेपाली खाना, लोकल कुखुराको मासु, ढिँडो, राँगा वा चौंरीको सुकुटी लगायतका परिकार तपाईको खाना हुनेछ ।
भोलिपल्ट झिसमिसेमै तपाई कुरीबाट उकालो लाग्नुहोस् । करिब १ घण्टाको उकालो बाटो पार गरेपछि तपाई कालिञ्चोक डाँडामा पुग्नुहुनेछ । यो डाँडा ३ हजार ८ सय ४२ मिटर उचाइमा छ । यदि तपाई दमको रोगी हुनुहुन्छ वा लेक लाग्ने सम्भावना छ भने पूर्वतयारी पनि पहिले नै गर्नुहोला । जाडो छल्न समयअनुसार आवश्यक कपडाको पनि बन्दोबस्त गर्नुहोला । कालिञ्चोक भगवतीको मन्दिर परिसर पुगेपछि तपाईंले जाडो समयमा यस्तो दृश्य देख्नुहुनेछ ।
यदि तपाईंले पुजाको सामग्री घरबाटै ल्याउनुभएको भए पुजा गर्नुहोस् र छैन भनेपनि तपाईं यही डाँडामा रहेको पसलबाट पुजा सामग्री किनेर कालिञ्चोक भगवतीको दर्शन गर्नुहोस् ।
के हो कालिञ्चोक भगवतीको धार्मिक महत्व ?
धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीको ठूलो महत्व छ । पार्वतीले महादेव स्वामी पाउँ भनेर तपस्या गरेको भूमि मानिन्छ कालिञ्चोक भगवतीलाई । हिमालय पर्वत माइती भएकी पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई देख्ने गरी कालिञ्चोकको डाँडामा तपस्या गरेको किंवदन्ती छ । त्यही भएर पनि नेपाली तथा भारतीय हिन्दु धर्मावलम्वीहरूले सम्भव भएसम्म एकपटक कालिञ्चोक भगवतीको दर्शन गर्ने गरेका छन् ।
कालिञ्चोक भगवतीलाई भगवतीका सात दिदीबहिनीमध्येकी एक समेत भनिने गरिएको छ । त्यही भएर पनि यहाँ पूजाआजाका लागि दैनिक जसो तीर्थयात्रीहरू आउने गरेका छन् । कालिञ्चोक भगवतीको दर्शन गरेर भाकल गरेपछि मनले चिताएको पुरा हुने जनविश्वाससमेत छ । परापूर्व कालमा कालिञ्चोक क्षेत्रबाट भेडाबाख्रा हराएमा कालिञ्चोक भगवतीको नाम पुकारेपछि सोही क्षेत्रबाट हराएका भेडाबाख्रा भेटिने गरेको किंवदन्तीसमेत छ ।
हामी कालिञ्चोक भगवतीको मन्दिर परिसर पुग्दा सिन्धुपाल्चोकबाट केही विद्यार्थी र शिक्षकहरू मन्दिरको दर्शन गर्न आइपुगेका थिए । सिन्धुपाल्चोकका शिक्षक रामकाजी ल्वामी पहिलेपनि भगवतीको दर्शन गर्न पुग्नुभएको थियो । दुई वर्षपहिले कालिञ्चोक भगवतीको दर्शन गरेपछि कहीँ उपचार नभएको शरीर सुन्निने रोग लागेकी उहाँकी श्रीमतीलाई निको भएको रहेछ । त्यही विश्वास लिएर उहाँ विद्यार्थीसहित पुनस् कालिञ्चोकको दर्शन गर्न आउनुभएको थियो ।
कालिञ्चोक डाँडालाई पानीको श्रोतकारुपमा पनि लिइन्छ । मन्दिरको पूजा गर्ने स्थानमा एउटा जल कुण्डसमेत छ । सोही जलकुण्डको दायाँ अर्थात् पूर्व दिशाबाट तामाको धारा भएर तामाकोशी र बाँया अर्थात् पश्चिमबाट सुनको धारा भएर सुनकोशी बगेकोसमेत किंवदन्ती छ ।
कालिञ्चोकको डाँडाबाट देखिने हिमालका सुन्दर दृश्यहरूले मन पुलकित बनाउँछ । मन्दिरको डाँडाबाट देखिने कुरी भ्यालीको दृश्य त अझै हेर्नलायक हुनेछ । कालिञ्चोक डाँडा आसपासका क्षेत्रमा स्केटिङ वा गल्फ खेलका लागि पनि राम्रो सम्भावना छ । हिँउ खेल्न वा वा दैनिक व्यस्त जीवनबाट फ्रेस हुनका लागि पनि दोलखाको कालिञ्चोक र कुरी भ्याली एकपटक पुग्नैपर्ने स्थान हो, चाहे धार्मिक आस्थाका काण होस् या प्राकृतिक सुन्दरताका लागि ।
दोलखा भिमसेन नछुटाउनोस् !
दोलखाको अर्को पर्यटकीय स्थल हो, दोलखा भिमसेन । जिल्लाको सदरमुकाम चरिकोटबाट ४ किलोमिटर पूर्वमा रहेको दोलखा भिमसेन नेवारहरूको इष्टदेवता समेत हो । भिमेश्वरसमेत भनेर चिनिने दोलखा भिमसेन हिन्दु धर्मावलम्वीहरूको आस्थाको केन्द्र पनि हो ।
भिमसेनलाई बल र साहसका प्रतीक मानिने भएकाले दोलखालीलाई आपतविपत पर्दा अहिले पनि बलदेउ भिमसेन भनेर पुकार गर्ने गर्छन् । द्वापरयुगमा किच्चकलाई मार्न र कौरवहरूको संहार गर्न भीमसेनले महादेव र भगवतीको स्तुती गर्दा रुद्र एवं भगवतीको अंश पनि उनैमा समाहित भएको हुनाले भिमसेनको नाम भीमेश्वर रहन गएको भन्ने धार्मिक कथन छ । मुख्यत नेवारहरूको इष्टदेवता भएकाले दोलखा भिमसेनलाई नेवारहरूले सबैभन्दा बढी पुज्ने गरेका छन् ।
भिमसेन घटना सुचक !
भिमेश्वर मन्दिरलाई वा भिमसेनको शिलालाई घटना सुचकको रुपमा ब्याख्या गर्ने गरिएको छ । देशमा ठूलो राजनीतिक परिवर्तन वा अन्य कुनै दैवी प्रकोपका घटना हुन लागेमा भीमेश्वरको शिलामा पसिना आउने गरेको बताइएको छ । भीमसेनको शिलामा बाँयापट्टी पसिना आएमा जनतालाई पिरोल्ने र दाँया पट्टी पसिना आए दरबार वा देशको प्रमुख रहने स्थानमा कुनै अनिष्ट हुने जनविश्वास रहिआएको छ । जब दोलखाको भीनसेनलाई पसिना आउँछ तब हजारौंको सङ्ख्यामा भक्तजनहरू दोलखा भिमसेनको दर्शन गर्न पुग्ने गरेका छन् ।
इतिहास हेर्ने हो भने पनि जब भिमसेनको शिलामा पसिना आएको छ, तब केही नै केही भएकै देखिन्छ, चाहे त्यो संयोग होस् या अन्य केही कारण । भीमसेनको शिलामा १९९० सालमा पसिना आउँदा महाभूकम्प गयो भने १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दियो । त्यसैगरी २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको छ भने २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको देखिन्छ । २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आयो भने २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भयो ।
२०३५ सालमा पसिना आउँदा देशमा जनमत संग्रह भयो भने २०४५ साल चैत्रमा पसिना आउँदा ०४६ सालमा प्रजातन्त्र आएको छ । २०५७ सालमा पसिना आउँदा २०५८ सालमा दरबार हत्या काण्ड भयो भने २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जनआन्दोलन भयो र सफल भयो । २०६४ साल जेठमा पसिना आउँदा गणतन्त्रको घोषणा भयो । त्यसैगरी २०७० सालमै पनि २ पटक पसिना आइसकेको छ । यद्यपि मंसिर ३० गते पसिना आएपछि फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । यस अर्थमा दोलखाको भिमसेनलाई घटना सुचकका रुपमा व्याख्या गर्ने गरिएको छ ।
मदन ढुंगाना
copied by .............www.nepalipatra.com
No comments:
Post a Comment