स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार मापदण्ड पुर्याएका सबै गाविसलाईर् समूहगत रूपमा नगपालिका घोषणा गर्ने तयारी भइरहेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले जानकारी दिए । 'नगरोन्मुख गाविसलाई नगरपालिका घोषणा गर्ने तयार गरिरहेका छौं,' उनले भने, 'त्यसबारे सम्बन्धित जिल्ला विकास समितिले अध्ययन गरिरहेको छ ।'
मन्त्रालयले तीनवटै जिल्लाका स्थानीय विकास अधिकारीलाई नगरोन्मुख गाउँ विकास समितिको अध्ययन गरेर दस दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । काठमाडौंका स्थानीय विकास अधिकारी उद्धव तिमिल्सिनाले गाविसको साधन स्रोतलाई हेरेर थप आठवटा नगरपालिका घोषणाका लागि मन्त्रालयमा सिफारिस गर्ने तयारी भइरहेको बताए ।
नगरपालिका घोषणाका लागि स्थानीय जनताबाट माग बढिरहेको बताउँदै उनले जनचाहनाअनुसार काम भइरहेको उल्लेख गरे । सरोकारवाला र स्थानीय जनतासँग राय सुझाव संकलन गर्ने कार्य भइरहेको उनको भनाइ थियो । 'सर्वदलीय संयन्त्रका स्थानीय प्रतिनिधि, सरोकारवालासँग छलफल भइरहेको छ, चाँडै टुंगोमा पुग्छांै,' उनले भने ।
काठमाडांै, कीर्तिपुर नगरपालिका, शंखरापुरलगायत काठमाडौं जिल्लामा अब नगरपालिकाको संख्या एघार पुग्नेछ । ललितपुरका स्थानीय विकास अधिकारी विष्णुप्रसाद ढकालले अन्य दुई थप नगरपालिका घोषणाका लागि मन्त्रालयमा सिफारिसको तयारी भइरहेको बताए । इमाडोल, टीकाथली, हरिसिद्धि, ठैब, धापाखेल र सुनाकोटी गाविस ललितपुर उपमहानगरपालिमा गाभिनेसमेत उनले बताए । गोदावरी र महालक्ष्मी नगरपालिका नामकरणका लागि सरोकारवाला र स्थानीय प्रतिनिधिसँग छलफल भइरहेको जानकारी उनले दिए । ललितपुर उपमहानगरपालिका, बज्रबाराही, कार्यविनायक, गोदावरी र महालक्ष्मीलगायत ललितपुर जिल्लामा नगरपालिकाको संख्या अब पाँच पुग्नेछ । भक्तपुरका स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले चारवटा थप नगरपालिका घोषणाका लागि मन्त्रालयमा सिफारिस पठाउने तयारी भइरहेको बताए । आर्थिक, भौगोलिक र साधन स्रोतको राम्ररी अध्ययन भइसकेपछि मात्र सिफारिसका लागि पठाइने उनले बताए ।
'विभिन्न जातजाति छन्, त्यसकारण उनीहरूको आत्मपहिचान गरेर मात्र घोषणा गर्छुं,' उनले भने, 'स्थानीय बासिन्दासँग छलफल भइरहेको छ, चार नगरपालिका प्रस्ताव मात्र होइन कम पनि हुन सक्छन् ।' मध्यपुरठिमी, भक्तपुरसहित अब भक्तपुर जिल्लामा नगरपालिकाको संख्या छ पुग्नेछ ।
नगरपालिका बनाउन बीस हजार जनसंख्या, उद्यान क्षेत्र, सडक, ढल निकास, सञ्चार जस्ता मापदण्ड पुगेको हुनुपर्छ । यसरी मापदण्ड पूरा गरेका आफ्ना गाविसलाई पनि नगरपालिका घोषणा गर्नुपर्ने स्थानीय स्तरबाट गुनासो आएपछि मन्त्रालयले स्थानीय विकास अधिकारीको नेतृत्वमा समिति गठन गरेको हो ।
प्राध्यापक सूर्यलाल अमात्यले उपत्यका वरपरका सबै गाविसले सबै मापदण्ड पूरा गर्न सक्ने हुँदा नगरपालिका बनाउनुपर्ने बताए । 'सबै गाविसहरू नगरोन्मुख भइसके, जहाँ सडक, बिजुली, सञ्चार आदिको विकास भइसकेको छ, त्यसकारण नगरपालिका घोषणा गर्दा खासै फरक पर्दैन,' उनले भने ।कान्तिपुरबाट Click Here

No comments:
Post a Comment