Friday, September 2, 2011

एक्सरे रिपोर्ट अब पेन ड्राइभमै

मधुसुधन गुरागाईं, बनेपा, भदौ १५- रोग निदानका लागि गरिने एक्सरे बोक्न अब झोला वा ठूलो खाम बोक्नु पर्दैन। न त एक्सरे फिल्म बटारिएर बिग्रेला भन्ने चिन्ता।'डिजिटल इमेजिङ' प्रविधिको विस्तारसँगै अब देखि सिडी, डिभिडी वा पेन ड्राइभमा आफ्नो एक्सरे लिएर जान सकिने भएको छ।


धुलिखेल अस्पतालको रेडियोलोजी विभागले मुलुकमै पहिलो पटक बुधबारदेखि सुरु गरेको डिजिटल एक्सरे(डिआर)मा यस्तो सम्भव भएको हो।
'राजधानीका केही अस्पतालहरुमा डिजिटल एक्सरे रहेको भनिए तापनि ती पूर्ण रुपमा डिजिटल होइनन्। त्यसमा क्यासेट राख्नुपर्छ,' अस्पतालका रेडियोलोजिष्ट डा. सुविन्द्र कार्कीले भने, 'धुलिखेल अस्पतालमा जापान सरकारको सहयोगमा भित्रिएको डिजिटल एक्सरेबाट क्यासेट विना नै तस्वीर खिचिन्छ। खिचिएको तस्वीरहरु मेडिकल रेकर्डका रुपमा हार्डडिस्कमा सुरक्षित राख्न सकिन्छ। विरामीले जतिखेर पनि प्रतिलिपि लिन सक्छन्।'
विरामीको एक्सरे खिच्नासाथ सम्बन्धित वार्डका विशेषज्ञले तत्कालै हेर्न मिल्ने गरी नेटवर्क (वायरलेससमेत)मार्फत एक्सरे पठाइने व्यवस्था विभागले मिलाएको छ। 'बिरामीको एक्सरे खिच्नासाथ उनको डाक्टरको स्क्रीनमा पुग्छ। बिरामी वार्डमा पुगुन्जेल डाक्टरले एक्सरेको अध्ययन गरिसकेका हुन्छन्,' कार्कीले जानकारी दिए, 'यसबाट चाँडो रोगको निदान गर्न मद्दत मिल्छ।'
विशेषज्ञ डाक्टर उपलब्ध नभएका बखतसमेत इमेलमार्फत एक्सरे पठाएर प्राप्त सुझावका आधारमा उपचार थाल्न सकिने प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजू भन्छन्, 'विदेशी विशेषज्ञको परामर्श आवश्यक ठानिएमा इमेलमा पनि एक्सरे पठाउन सकिन्छ।' धुलिेखल अस्पतालको यूरोपस्थित विभिन्न विशेषज्ञ अस्पतालसँग भगिनी सम्बन्ध भएकाले यसैको आधारमा परामर्श पाउन समेत सहज भएको उनको भनाई छ।
नेपालका लागि जापानी राजदूत तात्सुओ मिजूनोले बुधबार नै विधिवत सुरु गरेका डिजिटल एक्सरेबाट यस अगावै सयभन्दा बढी महिलाको पाठेघरको समेत जाँच(एचएसजी) गरि बाँझोपनका कारणहरु निदान गरिएको रेडियोलोजिष्ट कार्कीले बताए।
डिजिटल एक्सरेबाट पत्थरी रहेको पत्ता लगाउन गरिने आइभीपी एक्सरेमा राम्रो तस्वीर आएको उनको भनाई छ। यस्तै, घाँटीभित्र केही अड्केको अवस्थामा एक्सरेमा
फ्लूरोस्कोपको माध्यमबाट हेर्दै उपचार गर्न सकिन्छ। रिफर गर्नु पर्ने विरामीहरुलाई समेत एक्सरे दिएर पठाउँदा उनीहरुको व्ययभार समेत घट्ने कार्की बताउँछन्।Nagarik

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।