Thursday, October 27, 2011

झिलिमिली काठमाडौं (फोटो फिचर)


काठमाडौं । नेपालीहरुको महत्वपूर्ण चाड तिहारको तेस्रो दिन बुधबार साँझ मुलुकभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनाका साथै दीपावली गरिएको छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताअनुसार आजको दिन घरको सबैतिर सफासुग्घर गरी दैलो, सँघार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ ।


साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्ला तथा माटाको पालामा बत्ती बाल्ने चलन छ । हिजोआज भने कोराको सुत्ला तथा माटाको पालाको सट्टा मैनबत्ती तथा रङ्गिचङ्गी विद्युतीय बत्तीको चलन बढ्दै आएको छ । साँझ घरघरमा गृहिणीहरूले दीपावलीका साथै लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गरे ।
बुधबार साँझदेखी रातभर युवा-युवती तथा केटा-केटीका समूहले घरघरमा भैली पनि खेलेका थिए । सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।
दीपावलीका अवसरमा हितैषीहरू सुख, शान्ति र समृद्धिको कामनासहित एक-आपसमा शुभकामना आदान-प्रदान गर्ने गर्दछन् । यस अवसरमा एक आपसमा शुभकामना कार्ड प्रदान गर्ने गरिए पनि हिजोआज भने इन्टरनेट वा मोवाइलबाटै पनि शुभकामना पठाउन थालिएको छ ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।