Sunday, April 8, 2012

पावर भएको चस्मा नलगाइ तपाइ केहि देख्न सक्नु हुन्न ? अब चस्मा लगाउन पर्दैन

चैत २६ -'जो चस्मा नलगाई देख्न सक्दैनन्, उसको निम्ति चस्माबिनाको जिन्दगी कति सजिलो हुन्छ भन्ने कुरा आँखा सामान्य भएका वा सोखले चस्मा लगाउनेहरूले कल्पनासम्म गर्न सक्दैनन्।' यो भनाइ हो, निशान कँडेलको। काठमाडौंका २८ वर्षीय निशानले १५ वर्ष उमेरदेखि नजिकको दृश्य राम्ररी देख्न छाडे। उमेरसँगै आँखाको शक्ति झन्झन् कमजोर हुँदै प्लस ६ पावरको चस्मा लगाउनुपर्ने भयो। 



बाँकि हेर्न यहाँ क्लिक गरैां


निशानले सानैदेखि फुटबलमा करिअर बनाउने सपना देखेका थिए। आँखाले धोका दिएपछि उनको सपना पूरा हुन सकेन। एकचोटि चस्मा फुटेर बनाउन दिएका थिए। त्यत्तिकैमा जाँच पर्‍यो। उनले प्रश्नपत्र पनि राम्ररी देखेनन्।
'चस्मा लाउनु नपर्ने भएपछि अब म फुटबलदेखि अरू सारा साहसिक सोख पूरा गर्न सक्छु,' एक साताअघि शल्यक्रिया गरेर चस्माबिनै राम्ररी देख्नसक्ने भएका निशानले शनिबार भने, 'साँच्चै चस्माबिनाको जिन्दगी कति सजिलो हुँदो रहेछ भन्ने कुरा न आँखा सद्दे भएकाहरूले कल्पना गर्न सक्छन्, न म शब्दमा व्यक्त गर्न सक्छु।'
चस्माबिना नदेख्ने वा कम देख्नेले अब निशानजस्तै अत्याधुनिक प्रविधियुक्त शल्यक्रियाबाट पावरवाला चस्मा नलगाई राम्ररी देख्नसक्ने भएका छन्। आँखाको नानीभित्र 'रेटिना' छेक्ने पत्र हटाएर दृष्टि सन्तुलित पार्ने 'लेजर सर्जरी' तिलगंगा आँखा प्रतिष्ठानले नेपालमै पहिलोचोटि सुरु गरेको हो। यसको निम्ति जम्मा तीन एमएमको प्वाल पारेर रेटिना छेक्ने पत्र हटाइन्छ। यसलाई 'स्माइल' प्रविधि भनिन्छ। यसअघि ब्लेडले २० एमएमको आकारमा काट्नुपर्ने हुँदा शल्यक्रिया निकै महँगो र जोखिमपूर्ण थियो।
'ठूलो घाउ बनाउनुपर्दा समस्या हुन्थ्यो,' तिलगंगाका लेजर शल्यचिकित्सक डा. किशोर प्रधानले भने, 'लेजर सर्जरीमा ब्लेडसमेत प्रयोग गर्नुपर्दैन। अप्रेसन गरेको दस मिनेटमै आँखाले सजिलै हेर्न सकिन्छ।'
युवायुवतीहरू लेजर शल्यक्रिया गर्न ठूलो संख्यामा भारत र थाइल्यान्ड जान्छन्। भारतमा झन्डै अढाइ लाख भारू खर्च लाग्छ। अन्य देशमा पनि २ देखि ८ लाख रुपैयाँ पर्छ। तिलगंगाले करिब ४५ हजारमा यो सेवा दिँदैछ। विपन्नले निशुल्क सेवा पाउनेछन्। यसलाई अस्पतालले 'दृष्टिदोष मानवीय सेवा' नाम दिएको छ।
सेवाको औपचारिक सुरुवात शनिबार भए पनि हालसम्म १ सय २० जनाको शल्यक्रिया भइसकेको छ। त्यसमध्ये आधाको निशुल्क गरिएको अस्पतालले जनाएको छ। यति सुलभ मूल्यमा यस्तो शल्यक्रिया गर्ने नेपाल पहिलो देश भएको प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइतले बताए। नेपालमै सस्तो सेवा सुरु भएपछि भारत, चीन, भुटान र मध्यपूर्वबाट समेत बिरामी तान्न सकिने आशा गरिएको छ।
शल्यक्रिया गर्न 'फेम्डोसेकेन्ड' र 'एन्जाइमर' जस्ता आँखा उपचारमा प्रयोग हुने नयाँ उपकरण भिœयाइएको छ। दुवै उपकरण लन्डन भिजन क्लिनिकले सहयोगमा दिएको हो। यसको मूल्य मात्रै करिब १४ करोड रुपैयाँ पर्छ। यसबाहेक करिब ५ करोड बराबरका परीक्षण उपकरण, विशेषज्ञ तालिम लगायतमा युएसएड र हिमालयन क्याटर्‍याक प्रोग्रामले सघाएका छन्।
अहिलेसम्म सीमित देशमा रहेको महँगो सुविधालाई सस्तोमा नेपालका विपन्न समुदायसम्म पुर्‍याउन खोजेको लन्डन भिजनका निर्देशक डा. ड्यान र्‍यानस्टेनले बताए।
'सानै उमेरमा चस्मा लगाउनुपर्दा बालबालिका र युवाहरू धेरै समस्यामा हुन्छन्, उनीहरूलाई सस्तो सेवा दिन तिलगंगा छानेका हौं,' उनले शनिबार तिलगंगा अस्पतालमा आयोजित कार्यक्रममा भने।
अतिविशेष खालको शल्यक्रिया भएकाले छोटो समयमै सकिने अस्पतालले जनाएको छ। परीक्षण गर्न भने कम्तीमा तीन घन्टा लाग्छ। नेपालमा हालसम्म माइनस १४ र प्लस ६ सम्म पावर भएकाहरूलाई यो प्रविधिबाट शल्यक्रिया गर्न सकिन्छ।
संसारमै यो प्रविधिबाट शल्यक्रिया गर्ने जम्मा ६ जना विज्ञ छन्, जसमध्ये नेपालका डा. प्रधान एक हुन्। प्राविधिकका रूपमा गोपाल कर्माचार्यले बेलायतबाट तालिम लिएर आएका छन्। नेपालका चिकित्सकले शल्यक्रिया गर्नुअघि बेलायतमा डा. ड्यान लगायत विशेषज्ञले कम्प्युटरबाट बिरामीको रिपोर्ट हेरेर सुझाव दिने व्यवस्था गरिएको छ।
नेपालमा १६ वर्षमुनिका १० लाख, १६ देखि ३५ वर्षका ११ लाख र ३५ वर्ष माथिका ३७ लाखलाई विभिन्न प्रकारका दृष्टिदोष पाइएको छ। स्कुल जाने उमेरका दस लाख बालबालिकाको आँखा कमजोर भएकाले चस्मा लगाउनुपर्ने अवस्था छ।
एक अध्ययनअनुसार चस्मा लगाउनुपर्नेहरू ५० प्रतिशत गाउँमा छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हाल विश्वमा १ अर्ब ३० करोड दृष्टिदोषबाट पीडित छन्। त्यो संख्याले कुल अन्धोपन भएकाको ४३ प्रतिशत हिस्सा ओगट्छ।
'ग्रामीण क्षेत्रमा चस्मा किन्न घन्टौं यात्रा गर्नुपर्छ,' डा. प्रधानले भने, 'अधिकांशसँग चस्मा किन्ने पैसा नभएर पनि दृष्टिविहीनजस्तो बस्नुपरेको छ, यो शल्यक्रियाबाट विपन्न वर्ग लाभान्वित हुनेछ।'
नेपालमा सन् २००३ देखि २००६ सम्म तिलगंगामा ब्लेडको सहयोगले आँखाको नानी काटेर गरिने शल्यक्रिया सम्भव थियो। पुरानो मेसिन बिग्रिपछि यस्तो सेवा छैन। अन्धोपन गराउने मुख्य रोग वा अवस्थाहरूमा दृष्टिदोष प्रमुख कारण हो। नजिक वा टाढाको दृश्य नदेख्नु वा देख्न समस्या हुनुलाई दृष्टिदोष भनिन्छ। दृष्टिदोष भएका आँखाले कुनै पनि आकृति स्पष्ट छुट्याउन सक्दैन।





Listen Live




hamrofm live Click Here                                     
  If you not listening  कालिन्चोक एफएम पेजClick Here

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।