रुबी रौनियार, काठमाडौं,असार २६- परिवार नियोजनका अस्थायी साधन नवविवाहित महिलाको पहुँचमा नभएको एक अध्ययनले देखाएको छ। अध्ययनमा १५-१९ वर्ष उमेर समूहका नवविवाहित ४२ प्रतिशत महिलाले कन्डोम, पिल्स, डिपो, नरप्लान्ट,आइयुडी आदि प्रयोगबारे जानकारी पाउन नसकेको उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रका प्राध्यापक रामशरण पाठकको अध्ययनअनुसार २० देखि २४ वर्ष उमेर समूहका ३७ प्रतिशत महिलाको पहुँचमा यस्ता साधन पुग्न सकेका छैनन्।
अध्ययनअनुसार १५-१९ वर्ष उमेर समूहका २१ प्रतिशत र २०-२४ उमेर समूहका २३ प्रतिशत महिलाले परिवार नियोजनका साधनबारे एफएम रेडियो, टिभी, पत्रपत्रिका र सडक नाटकबाट सूचना पाउन सकेका छैनन्।
परिवार नियोजनका साधन प्रयोग नगर्नेमध्ये ९५ प्रतिशत १५-१९ वर्ष उमेर समूह र ८५ प्रतिशत २०-२४ उमेर समूहका महिलाले स्वास्थ्य चौकी या अस्पतालमा डाक्टरसँग कहिल्यै परिवार नियोजनका साधनबारे छलफल नगर्ने अध्ययनमा छ।
गाउँमा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्था भए पनि साधन तथा सुविधा उपलब्ध हुन नसकेकाले महिलाले आफ्नो चाहना र इच्छालाई कुण्ठित गर्नुपरेको पाठकको भनाइ छ।
'कुनाकाप्चामा आधुनिक स्वास्थ्य संस्थाको कमी छ,' पाठकले भने, 'भएका संस्थामा पनि परिवार नियोजनका गुणात्मक साधन उपलब्ध छैनन्।'
सोमबार राजधानीमा पपुलेसन एसोसिएसन अफ नेपाल (पान) को कार्यक्रममा पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए। जुलाई ११ मा 'प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच' भन्ने नारासाथ विश्व जनसंख्या दिवस मनाइँदैछ।
विवाहपूर्व ६२ प्रतिशत १०-२४ वर्ष उमेर समूहका किशोरकिशोरीले विपरीत लिंगीसँग भेट्दा चुम्बन, अंगालो मार्नुका साथै एक अर्कालाई छुन मन पराएको कार्यपत्रमा उल्लेख छ।
पाठकको कार्यपत्रमा युवायुवती तथा किशोरहरूको विवाह र शारीरिक सम्बन्धबारे पनि उल्लेख छ। ५८ प्रतिशत १०-१४ वर्ष उमेर समूह, ८४ प्रतिशत १५-१९ वर्ष उमेर समूह र ८६ प्रतिशत २०-२४ वर्ष उमेर समूहका पुरुषले प्रेमविवाहलाई राम्रो मानेका छन्।
महिलामा प्रेमविवाहप्रतिको धारणा कम पाइएको छ। ४६ प्रतिशत १०-१४ वर्ष उमेर समूहका महिलाले यस्तो विवाह मन पराएका छन्। प्रेम विवाह मन पराउनेमा १५-१९ वर्ष उमेर समूह र २०-२४ वर्ष उमेर समूहका ७४ प्रतिशत महिला छन्।
कनै किसिमको सामाजिक डर नहुनु र बोलक्कड भएकाले पुरुषले प्रेम विवाहलाई मन पराएको पाठकले बताए। सामाजिक र परिवारिक भयले महिला प्रेम विवाहप्रति खुल्न नसकेको पाठकको ठहर छ। विवाहपूर्व विपरीतलिंगीहरू सँगै बस्नुलाई १०-१४ वर्ष उमेर समूहका ६ प्रतिशत पुरुषले राम्रो मानेका छन् भने १५-१९ र २०-२४ वर्ष उमेर समूहका २३ प्रतिशत पुरुषले राम्रो मानेका छन्।
अध्ययन अनुसार १०-१४ वर्ष उमेर समूहका ४ प्रतिशत, १५-१९ वर्ष उमेर समूहका १० प्रतिशत र २०-२४ वर्ष उमेर समूहका ११ प्रतिशत महिलाले विपरीतलिंगी सँगै बस्नुलाई राम्रो मानेका छन्।
नेपालमा प्रेमविवाह र विवाह पूर्वसँगै बस्नेहरूको संख्या बढ्दै गएको पाठकको निष्कर्ष छ। 'समयको परिवर्तनसँगै नयाँ पुस्ता परिवर्तन हुँदै गएको छ,' पाठकले भने 'प्रेम विवाह र विवाह पूर्वको सम्बन्ध पनि वृद्धि भइरहेको छ।' कूल जनसंख्यामध्ये ३३ प्रतिशत १०-२४ वर्ष उमेर समूहका छन्।
योजना अयोगका सदस्य शिवकुमार राईले सरकारले गुणात्मक स्वास्थ्य सेवामा महिलाको पहुँच पुर्याअउन थप कार्ययोजना ल्याउनुपर्ने जनाए। 'स्वास्थ्य वातावरणमा स्वास्थ्य बच्चा जन्माउनु हरेक आमाको अधिकार हो,' राईले भने, 'सरकारले महिलामा परिवार नियोजनका साधनको प्रयोग र स्वास्थ्य सेवाबारे सूचना पुर्याउनु पर्छ।',,,समचार नागरिक न्यूजबाट
No comments:
Post a Comment