![]() | ![]() | ![]() |
|
लक्ष्मण खड्का/नयाँ पत्रिका
दोलखा, ११ माघ
बुधबार दैलेखमा भएजस्तै झडप शुक्रबार दोलखामा दोहोरिने खतरा छ । माओवादीको जिल्ला अधिवेशनकै दिन कांग्रेस र एमालेले विरोध प्रदर्शन आह्वान गरेका छन् ।
दैलेखमा प्रधानमन्त्रीलाई बहिष्कार गर्न भन्दै कांग्रेस-एमालेलगायतका विपक्षीले बन्द र विरोध गरेका थिए । दोलखामा भने माओवादीका कुनै पदाधिकारी जाँदै छैनन् । तर पनि अधिवेशन उद्घाटनकै दिन र समयमा विरोध प्रदर्शन आह्वान भएको छ । 'अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई बोलाउने भनिएको थियो, तर उहाँहरू अन्यत्रै जाने खबर आएको छ,' माओवादी स्रोतले भन्यो, 'माओवादीको ताम्सालिङ इन्चार्ज आहुतिले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ ।' माओवादीले साढे ११ बजेदेखि र्याली सुरु गर्ने र १२ बजे सम्मेलन उद्घाटन गर्ने तयारी गरेको छ । त्यस्तै, कांग्रेस र एमालेले साढे १२ बजे सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । माओवादीको जिल्ला सम्मेलन र विपक्षी दलको प्रदर्शन एकै दिन र समयमा परेपछि जिल्ला प्रशासनले बिहीबार सर्वदलीय बैठक गरेको थियो । बैठकमा माओवादी नेतृ देवी खड्का, कांग्रेसका सभापति ताराबहादुर कोइराला, एमाले सचिव भरत दुलाल र राप्रपाका प्रतिनिधि सहभागी थिए । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कार्यक्रम नजुधाउन दलहरूलाई आग्रह गरेका थिए । तर, दलहरूले निर्धारित समयमै कार्यक्रम गर्ने अडान दोहोर्याएपछि वार्ता असफल भएको छ । माओवादी नेतृ खड्काले कांग्रेस-एमाले माओवादीको जिल्ला सम्मेलन बिथोल्ने षडयन्त्रमा लागेको बताइन् । 'कांग्रेस आफूलाई लोकतन्त्रवादी पार्टी भन्छ, तर अर्को दलको जिल्ला सम्मेलनकै दिन जुलुस निकाल्ने भनेको छ, सम्मेलन भाँड्न खोजिएको छ,' उनले भनिन् । माओवादीलेे जिल्ला सम्मेलनकै दिन विरोध प्रदर्शन गरेर आफूहरूलाई जिस्क्याउन खोजेको बताएको छ । माओवादी जिल्ला संयोजक गंगा कार्की विश्वले भने, 'हाम्रो सम्मेलनकै दिन विरोध प्रदर्शनको कार्यक्रम राख्नु अराजनीतिक कदम हो, अन्यथा केही भए विरोध प्रदर्शन गर्नेहरूले जिम्मेवारी लिनुपर्छ ।' कांग्रेस सभापति ताराबहादुर कोइरालाले विपक्षी दलको आन्दोलन पूर्वघोषित केन्द्रीय कार्यक्रम भएको बताए । 'हाम्रो कार्यक्रम पूर्वनिर्धारित हो, प्रदर्शन शान्तिपूर्वक गर्छौं,' उनले भने । बिहीबारदेखि नै चरिकोटमा तनाव बढेको छ । दिनभर माओवादी र विपक्षी दलहरूले सदरमुकाम चरिकोटमा छुट्टाछुट्टै प्रदर्शन गरे । माओवादीले मोटरसाइकल र्याली गरेको छ भने विपक्षी कांग्रेस र एमालेले सरकारविरुद्ध सिठीजुलुस निकाले । विपक्षी दलहरूले सरकार र माओवादीविरुद्ध चर्को नाराबाजीसमेत गरे । त्यसअघि दिउँसो विपक्षी दलका कार्यकर्ताले पनि सदरमुकाममा मोटरसाइकल र्याली गरेका थिए । तीनवटै प्रदर्शन एक/एक घन्टाको फरकमा भएका हुन् । दलहरूबीच सहमति नभएपछि जिल्ला सुरक्षा समितिको बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । बैठकलगत्तै सदरमुकाम चरिकोटमा प्रहरी गस्ती बढाइएको छ । |



No comments:
Post a Comment