काठमाडौं, माघ ५ - बहुप्रतीक्षित काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण माघ अन्तिमबाट सुरु हुने भएको छ। नेपाल पूर्वाधार विकास कम्पनीले सडक निर्माण, स्वामित्व र हस्तान्तरण (बुट) प्रणालीअन्तर्गत निर्माण हुने सुरुङमार्गका लागि सरकारी निकायबाट स्वीकृति लिने काम माघ १० भित्रै सकिने र अन्तिम साताबाट निर्माण सुरु गर्ने भएको हो।
सम्झौता गर्न कम्पनीले प्रस्ताव पठाइसकेको छ। यसमा सडक कर र बाटो सिमांकन (एलाइन्मेन्ट) सम्बन्धी सम्झौता हुनेछ। सम्झौता भएपछि सुरुङमार्ग निर्माणमा सरकारी निकायको अनुमति पूरा हुनेछ.।

जोशीले चार वर्षमा सुरुङमार्ग निर्माण सक्न माघभित्रै काम सुरु गर्नुपर्ने चाप रहेको बताए। सुरुङमार्ग निर्माणका लागि रकमको अभाव नभएको भन्दै उनले आफ्नै लगानीमा पूर्वाधार निर्माणमा सहयोग गर्ने थपिँदै गएको बताए।
'पूर्वाधार निर्माणमा सहयोग गर्ने थपिइरहेका छन्। यसले हामीलाई पनि हौस्याएको छ,' उनले भने, 'हामीले प्रतिबद्धता गरेअनुसार काम पूरा गरेर देखाउँछांै।'
गैरआवासीय नेपाली संघले पनि बिहीबार सुरुङमार्गमा लगानी गर्ने सहमति गरेको छ। पूर्वाधार कम्पनी र संघबीच लगानी गर्नेबारे सम्झौता भएको हो। 'सुरुङमार्ग निर्माणमा सघाउने प्रतिबद्धता आइसकेको छ। यसबाहेक नेपालका धेरै संघसंस्था आबद्ध भइसकेका छन्,' जोशीले भने, 'सुरुङमार्ग निर्माणमा रकम अभाव हुँदैन।'
सरकारी निकाय नेपाल लगानी बोर्डले सुरुङमार्ग निर्माणको जिम्मा निजी क्षेत्रलाई दिएको थियो। ५० किलोमिटर दुरीको यो परियोजना निजी क्षेत्रले बनाउन लागेको हालसम्मकै ठूलो हो।
कम्पनीले काठमाडौं, ललितपुर र हेटौंडामा पर्ने सुरुङमार्ग वरपरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिसकेको छ। सुरुङमार्ग निर्माण भएपछि काठमाडौंबाट हेटौंडा एक घन्टा गाडी यात्रामा पुग्न सकिन्छ। अहिले काठमाडौंबाट त्रिभुवन राजमार्ग हुँदै हेटौंडा पुग्न १ सय ३३ किलोमिटर र पृथ्वी राजमार्गबाट २ सय २६ किलोमिटर दुरी पार गर्नुपर्छ। ५० किलोमिटर लामो सडकमा तीन किलोमिटरमात्र सुरुङमार्ग पर्छ।
सुरुङ खन्न कम्पनीले विदेशी प्राविधिकको सहयोग लिनेछ। अन्य सबै काम भने नेपाली जनशक्तिबाट गरिने जोशीले बताए। सुरुङमार्ग पार गर्न बढीमा दुई मिनेट लाग्ने छ। अहिले सिस्नेरी-भीमफेदीको दुरी पार गर्न १६ किलोमिटर हिँड्नुपर्छ। पूरै परियोजना निर्माण गर्न २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसमध्ये सुरुङमार्ग निर्माण गर्नमात्र ९ अर्ब रुपैयाँ खर्च हुनेछ।
सुरुङमार्गलाई आवश्यक पर्ने आर्थिक स्रोतमध्ये केही स्थानीय बासिन्दाबाट सेयरका रूपमा संकलन गरिने छ। कम्पनीले प्रत्येक घरधुरीबाट १० हजार रुपैयाँबराबरको सेयर लगानी गराउने तयारी गरेको छ। उद्योगी-व्यवसायीले भने १ लाखसम्म सेयर लगानी गर्न सक्नेछन्।
कम्पनीले चार बेग्लाबेग्लै समूहबाट पुँजी संकलन गरेर आयोजना सम्पन्न गर्नेछ। ७ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले चार छुट्टै समूहबाट २५ प्रतिशतका दरले पुँजी संकलन गरेर आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।
चार लेनको सडक निर्माण गर्न कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध उद्योगी, निर्माण व्यवसायी महासंघका सदस्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, होटेल एसोसिएसन नेपाल (हान) र गैरआवासीय नेपालीले पुँजी लगानी गर्ने प्रतिबद्धता गरिसकेको छ। कम्पनीले यसरी १० अर्ब रुपैयाँ संकलन गरेपछि बाँकी पुँजी बैंक तथा वित्तीय संस्थासँग सहवित्तीयकरणबाट ऋण लिनेछ।
No comments:
Post a Comment