Monday, April 22, 2013

यूएई आएर फर्किएका महिलाहरूको लागि कानुनीरुपमा जुनसुकै काममा आउँदा पनि उमेरको हदबन्दी नलाग्ने



विदेशमा कार्यरत नेपाली महिलाका समस्याबारे छलफल
उमाकान्त पाण्डे
९ बैशाख, अबुधाबी । ‘म आबुधाबीको एउटा होटलमा कार्यरत छु, मैले आफू कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्न चाहें भने मैले के प्रकृया अपनाउन सक्छु ?’ काभ्रेकी सुशीला थापाले युएईका नेपाली राजदूत धनञ्जय झासँग सीधै जिज्ञासा राखिन् ।’ राजदूत झाले जवाफ दिए -’कम्पनीको करार अवधि सकिएपछि सजिलै काम परिवर्तन गर्न

सकिन्छ, होइन भने कम्पनीले रुजु गरेर पत्र दिनुपर्छ, अन्यथा सकिँदैन ।’ ‘मैले मेरी बहिनीलाई म कार्यरत घरको मालिकको भाइका घरमा ल्याउने भनेर भिसा निस्कियो, नेपालमा श्रम स्वीकृति भएन ।                                  
बहिनी अझै आउन सकेकी छैनन्, फ्री भिसा हो, प्रकृया पुरा गर्छु भन्दा हजारौं खर्च भयो । तर, अझै उनलाई ल्याउन सकेकी छैन । अब मैले के गर्नु पर्छ ?’-गुल्मीकी सावित्रा भुसालले राजदूतलाई जिज्ञासा राखिन् । जवाफमा राजदुत झाले भने-’उमेरको हदबन्दीले गर्दा त्यस्तो भएको हुन सक्छ , कानुन र प्रकृया मिचेर हामीले चाहेर पनि समस्या समाधान गर्न सक्दैनौं ।-राजदूतले थपे “सरकारी कर्मचारीको नाताले सरकारको नियमको बिरोध हामीले पनि गर्न मिल्दैन । जनगुनासो यस्तो छ भनेर हामीले उपल्लो तहमा सुझाब दिने मात्र हो ।’खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि आउने महिला ३१ वर्ष अनिवार्य हुनुपर्ने उमेर हदबन्दी आफुलाई पनि मन नपरेको भन्दै नीतिगत निर्णयलाई प्रयोगमा ल्याउनुपर्ने जिम्मेवारीका कारण सहयोग गर्न नसक्ने राजदुत झाको भनाइ थियो । संयुक्त अरब एमिरेट्स (युएई)को दुबईमा नेपाली महिलाका समस्याहरु समाचार आउन थालेपछि त्यहाँस्थित नेपाली राजदूत धनञ्जय झाले नेपाली महिलाहरुसँग छलफल गरेका हुन् ।
घरेलु महिला कामदारको सख्या बढ्ने क्रमसँगै समस्या थपिँदै गएको सुनेपछि युएईका लागि झाले गत शुक्रबार महिलाहरु माझ दुबो उमि्रएको सार्वजनिक चौरीमा करिव एकघण्टा सम्वाद गरेका हुन् । छलफलका क्रममा श्रमिक महिलाहरूले दुतावाससँग सरल र सहज पहुँच हुन नसकेको, अधिकांश नेपाली श्रमिकहरुलाई दुतावासले दिने सेवाबारे ज्ञान नभएको गुनासो सुनाएका थिए । त्यस्तै घरायसी काममा भोगिरहेका समस्या, श्रमका लागि यूएई आउन तोकिएको उमेरको हदलगायतका विषयमा पनि नेपालीहरुले गुनासो गरेका थिए । घर मालिक वा परिवारले गर्ने व्यबहार र त्यसबारे उजुरी गर्न नसक्नुका कारण, भिजिट भिसामा आउन खोज्दा नेपालमा अध्यागमनले दुःखका साथैं नक्कली भिसा बनाएर आउनुपरिरहेको पीडालगायतका बिषयमा पनि महिलाका गुनासो झले उत्सुकतापूर्वक सुन्नुभएको थियो ।
सार्वजनिक स्थलमा उपस्थित महिलाहरु राजदुत झासँग सोझै जिज्ञासा राख्न तँछाड-मछाड गर्दै हात उठाउँदै गरेको देखिन्थ्यो । अनेकौं बिषयमा प्रश्न गर्दै बिभिन्न कम्पनीमा ठूलो संख्यामा कार्यरत नेपाली महिलाहरूको अवस्था, कम्पनीले श्रम नियमअनुसार अनिवार्य उपलब्ध गराउनु पर्ने सेवा सुबिधाको जानकारी लिन र आफ्ना नागरिकलाई अभिभाकत्व प्रदान गर्नका लागि दूतावासका कर्मचारीहरू त्यस्ता कम्पनीहरूको क्याम्पमै पुगेर नेपाली श्रमिक महिलाहरूको यथार्थ विवरण संकलन गर्नुपर्ने माग नेपाली चेलीहरुले गरेका छन् । राजदूत झाले भने नेपाल सरकारको निर्देशन अनुसार नेपाली श्रमिकहरूको हितको पक्षमा आफूले सक्दो काम गरिरहेको बताए । दुतावासको शरणमा रहेका महिलाहरूलाई खाने बस्नेलगायत प्रकृया पुरा गरेर स्वदेश फिर्ता गर्ने कार्यमा लागिपरेको उनले जानकारी दिए । कम्पनीमा काम गर्नु र हाउसमेडका रुपमा काम गर्नुमा धेरै फरक रहेको बताउँदै यूएइको श्रमसम्बन्धी कतिपय नियम कानुनले हाउसमेडलाई सम्बोधन गर्न नसक्ने हुनाले यसबारेमा सचेत हुनुपर्ने राजदूतको भनाइ थियो ।
राजदूत झाले रोजगारी भिसामा एकपटक यूएई आएर फर्किएका महिलाहरूको लागि कानुनीरुपमा जुनसुकै काममा आउँदा पनि उमेरको हदबन्दी नलाग्ने भन्दै त्यस्तो समस्या भए तुरुन्त्त दुतावासमा सम्पर्क गर्न राजदुत झाले आग्रह गरेका थिए । महिलाहरुले राखेका अलग-अलग जिज्ञासाको जवाफ दिँदै राजदुत झाले उपलब्ध श्रोत साधनको भरपुर प्रयोग गरी नेपाली श्रमिकहरूको सहजताका लागि दुतावास आवश्यक भूमिका निभाउन सधैं अग्रसर रहने बताए । दुबईको मध्यभागमा रहेको जबिल पार्कमा शुक्रबार आयोजित वनभोज कार्यक्रममा उपस्थित महिलाहरुको जमघट बाक्लो थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा युएईका लागि नेपाली राजदुत धनञ्जय झा उपस्थित थिए । कार्यक्रमको आयोजना एमालेनिकट प्रवासी महिला संघ यूएईले गरेको थियो । कार्यक्रममा डेढ दर्जन बढी महिलाको उपस्थिति थियो । नेपाली पुरुषहरुको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन महिला नै गरेको व्यवस्थापकीय संयोजकत्वको जिम्मा सम्हालेकी सीता भुर्तेलले बताइन् । उनले महिलाहरूद्वारा खुल्लारुपमा आयोजित कार्यक्रममा नेपाली महिलाको यति ठूलो उपस्थिति यूएइमा पहिलोपटक भएको दावी गरिन् ।
मध्यान्हको टण्टलापुरे घामको प्रबाह नगरि पार्कमा रहेका केही छहारीको सहारामा नेपालीहरु बसेका थिए । एकातर्फ महिलाहरु खानाको चाँजोपाजो मिलाउदै थिएभने अर्कोतर्फ अन्य केही साप्ताहिक जम्काभेटमा माया पिरती र दुःख-सुख साटासाट गर्नमा ब्यस्त देखिन्थे । नयाँवर्ष ०७० को अवसरमा प्रवासी नेपाली महिला संघ यूएइले शुभकामना आदान-प्रदानसहितको कार्यक्रम गरेको हो । कार्यक्रममा यूएइका बिभिन्न राज्यबाट आएका महिलाहरु धेरै समूहहरूमा बाँडिएर एक आपसमा शुभकामना आदान प्रदान गर्दै प्रचलित नेपाली लोक भाकामा गीतसमेत गाएका थिए ।onlinekhaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।