Wednesday, May 22, 2013

हाइड्रोपावरले फेरियो लामाबगरको मुहार

अनकन्टार गाउँले बिर्सायो स्वीट्जरल्याण्ड (फोटोफिचर)

नविन अर्याल
८ जेठ, काठमाडौं । दोलखाको चरिकोटबाट ५६ किलोमिटरको दुरीमा रहेको लामाबगर बाहिरबाट झट्ट हेर्दा नेपाल नभएर स्वीट्जरल्याण्डजस्तो देखिन थालेको छ । विकास भएमा जस्तोसुकै ठाउँको पनि अकल्पनीय परिवर्तन हुनेरहेछ । भाषणमा नेताहरुले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं भन्दै हिँडे पनि नेपाल कहिल्यै स्वीजरल्याण्डजस्तो बनेन । तर, विकास निर्माणको काम सुरु भएपछि अनकन्टार ठाउँमा रहेको दोलखाको लामाबगर अहिले साँच्चै स्वीटजरल्याण्ड बन्न लागेको छ ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाले लामाबगरको स्वरुप नै परिवर्तन गरेको छ । स्थानिय बासिन्दाले त्यस क्षेत्रमा कहिल्लै मोटर गुड्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । अहिले आफै मोटर चलाएर हिँड्न थालेका छन् । अहिले अधिकांश घरको अगाडी मोटर साइकल देखिन्छ । पुराना घरमाल बसेपनि मोटरसाइकल भने नयाँ चढ्छन स्थानीय बासिन्दा ।

‘परियोजना निर्माण सुरु हुनु अगाडि लामाबगर नेपालको छुट्टै राज्यजस्तो थियो’ स्थानिय बासिन्दा एवं शिक्षक पासाङ शेर्पाले भन्नुभयो- ‘अहिले यहाँको परिवर्तन हेर्न नेपालभरका मान्छेहरु आउन थालेका छन् ।’ परियोजनाले लामाबगर बासीको जीवन शैली लगाई खबाईमा परिवर्तन गरिदिएको छ । ‘पहिला यहाँका मान्छेले मोटर साइकल देखेका समेत थिएनन्, अहिले आफै लिएर हिँड्न थालेका छन्’ उहाँले अनलाइनखबरसँग कुराकानी गर्दै भन्नुभयो- ‘तपाई एक वर्षपछि आउनुभयो भने गाडी नै चलाएर हिँडेको देख्नुहुनेछ ।’
परियोजना निर्माण कार्य सुरु भएपछि त्यहाँको जग्गाले आकाश छोएको छ । परियोजना निर्माण गर्दा पहिलो चरणमा रोपनीको २० देखि ३५ हजार रुपैयाँमा अधिग्रहण गरेको जग्गा दोस्रो चरणमा अधिग्रहण गर्दा ६५ हजार देखि १ लाख ५ हजार रुपैयाँ सम्म तिर्नुपरेको थियो । अहिले लामाबगरमा आनाकै ३ लाख रुपैयाँभन्दा माथि पर्ने स्थानीय शिक्षक पासाङ शेर्पा बताउनुहुन्छ ।

अहिले परियोजनामा झण्डै २ हजार जना कार्यरत छन् । जस्ले गर्दा त्यहाँ होटेल खोल्नेहरुको संख्या पनि बढेको छ । होटेल संचालन गरेर नयाँ घर बनाउनेहरु पनि लामाबगरमा रहेका छन् । परियोजनाले अनकन्टार पहाड फोरेर लामाबगरमा बाटो पुर्‍याईदिएको छ । परियोजनाले बाटो नपुर्‍याइदिएको भए लामाबगरमा बाटो पुग्ने सम्भवना नै नरहेको बताउनुहुन्छ मिजार भनेर चिनिने स्थानिय पेम्बा छिरिङ शेर्पा ।
अहिले त्यस क्षेत्रका स्थानीयहरु परियोजनामा काम गर्छन् । उनीहरुलाई परियोजनाले आकर्षक ज्याला दिएर काम लगाएको छ । त्यसको अलवा अहिले त्यस क्षेत्रका स्थानीयहरुले जग्गा बेचेर नयाँ घर बनाउने नयाँ घर बनाउने नयाँ मोटरसाइकल किन्ने होडबाजी नै चलाएको तिर्थबहादुर श्रेष्ठले बताउनुभयो । अहिले लामाबगरमा बस्तीसमेत बाक्लिएको छ । जता हेरे पनि नयाँ घर बनाएको मात्र देखिन्छ । झुपडीमा बस्नेहरु पक्की घरमा बस्न थालेका छन् । अधिकांश घरको छानामा डिश होम एन्टिना राखेको देखिन्छ ।
परियोजनाका सिभिल इञ्जिनियर पदमप्रसाद पोखरेलका अनुसार अहिले त्यस क्षेत्रका स्थानीयहरु परियोजना निर्माण सुरु भएपछि अत्यन्त खुसी भएका छन् ।
हाइड्रो पर्यटनको समेत प्रशस्त सम्भवना रहेको लामाबगर प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण रहेको छ । लामाबगरलाई हाइड्रो पर्यटनको रुपमा प्रचार प्रसार गरि प्रशस्त पर्यटक भित्राउन सकिने सम्भावना रहेको गोपीप्रसाद शिवाकोटीले बताउनुभयो । अपर तामाकोशी हाइड्रोपावरमा सुरुङभित्र जलविद्युत गृह रहने हुँदा छुट्टै आकर्षणको रुपमा रहनेछ ।











onlinekhaber.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।