Friday, June 28, 2013

तामाकोसी समयमै पूरा हुने

दोलखा, १३ असार- नेपाल विद्युत् प्राधिकरणका टे«ड युनियनका प्रमुखहरूले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समय र लागतमा पूरा हुने बताएका छन् । प्राधिकरणमा क्रियाशील चार ट्रेड युनियनका पदाधिकारीहरूले निर्माणाधीन आयोजनाको स्थलगत अवलोकनपछि आयोजनाको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।
“आयोजनाको कामको प्रगति सन्तोषजनक पायौं,” नेपाल विद्युत् प्राधिकरण कर्मचारी कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले कारोबारसँग कुरा गर्दै भने“कुनै पनि समस्या आएन भने निर्धारित लागत र समयमा पूरा हुनेमा हामी आशावादी छौं ।”
मुलुकमा चरम लोडसेडिङ भएको अवस्थामा निर्माणाधीन माथिल्लो तामाकोसीले उद्यमी–व्यवसायीलगायत आमनेपालीलाई आशा जगाएको उनीहरूको भनाइ छ । “मुलुककै सस्तो र आकर्षक यो आयोजना कर्मचारी र जनताकै सहभागितामा निर्माण हुनुपर्ने टे«ड युनियनहरू र
दोलखावासीको जोड थियो,” प्राधिकरण राष्ट्रिय कर्मचारी संघका अध्यक्ष खगेन्द्र शाहीले भने, “यसको हरेक क्रियाकलापमा हाम्रो चासो रहन्छ ।” सबैको प्रयासबाट आयोजना आफूहरूले नै चाहेको मोडलमा अघि बढाउन सफल भएकोमा उनीहरूले गर्व गरे ।
आयोजनाको काम जति छिटो सकियो, लगानीकर्तालाई त्यति नै फाइदा हुने भएकाले सानातिना समस्याको वास्ता नगरी काम गर्न  व्यवस्थापनलाई समेत आग्रह गरेको प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले जानकारी दिए । आयोजनाको व्यवस्थापकीय पक्षको समस्या समाधानका लागि आयोजना सञ्चालक समिति र प्राधिकरणसँग छलफल गर्ने उनले बताए । राष्ट्रिय गौरवको आयोजना र नेपालीहरूको आफ्नै लगानीमा निर्माण भइरहेकाले समयमा पूरा गर्नु आफ्नै प्रतिष्ठाको विषय भएको उनले बताए ।
“हरेक समस्या भित्रै मिलाउनुपर्छ भन्ने मान्यता हो,” उनले भने “त्रिशूली–३ ‘ए’ मा आर्थिक चलखेल र अनियमितताको गन्ध आएकाले हामीले रोकेका हौं ।” आयोजनाको काम सम्झौताअनुसार र आर्थिक विनियमअनुसार गर्नुपर्ने उनीहरूले बताए । आयोजनाको काम छिटो पूरा गर्न द्रुत गतिमा काम गराउनका लागि प्राधिकरणलाई समेत आग्रह गरेको उनीहरूले बताए । विदेशी कम्पनीहरूले राम्रो काम गर्न खोजे पनि नेपाली दलालहरूकै कारण विभिन्न आयोजनामा समस्या आएको उनीहरूले दाबी गरे ।
आयोजनाको तीनवर्षे खर्च सार्वजनिक गर्न माग
आयोजना प्रभावित दोलखाका उत्तरी क्षेत्रका स्थानीयले आयोजनाले तीन वर्षमा सामाजिक तथा वातावरणीय क्षेत्रमा गरेको खर्च सार्वजनिक गर्न माग गरेको छ । बुधबार उत्तरी क्षेत्र नागरिक समाजको नामबाट २० बुँदे माग पत्र आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई बुझाएको छ ।
मागपत्रमा अतिथि सत्कारमा भएको खर्चको फाँटबारी सार्वजनिक गरी अनियमितता र भ्रष्टाचारउपर कारबाही गर्नुपर्ने, सुरुङको गुणस्तरहीन काममाथि छानबिन गरी कारबाही गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार यथाशक्य चाँडो निर्देशक छनोट गर्नुपर्ने उल्लेख छ । नागरिक समाज सिंगटीका सहसंयोजक पुष्पराज बस्नेतले स्थानीयको जायज माग समयमा पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उनले आयोजना प्रभावित सात गाविसमा विद्युतीकरण र ग्रामीण सडकलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, स्थानीयलाई दिने सेयरको प्रक्रिया जारी गर्नुपर्ने बताए । सामाजिक विकासको कुरा गर्दा कर्मचारीले स्थानीयप्रति बेवास्ता गरेको उनले गुनासो गरे ।
तीन दिनपछि काम सुचारु
नेपाली र चिनियाँबीचको विवादका कारण बन्द भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम तीनपछि सुचारु भएको छ । सिनो हाइड्रोको व्यवस्थापन पक्ष र मजदुरबीचको वार्तापछि काम सुचारु गर्ने सहमतिपछि बिहीबार दिउँसोबाट आयोजनाको काम सुचारु भएको हो ।
नेपाली मजदुरहरूसँग वार्ता गरी बुधबार बेलुकीबाट काम सुचारु गर्ने सहमति भए पनि चिनियाँ पक्षका पेटी ठेक्कामा काम गर्ने मजदुर काममा नफर्किएपछि पुनः बिहीबार बिहान वार्ता गर्नुपरेको थियो । नेपाली पक्षसँग अघिल्लो दिन वार्ता गरेर सहमति भए पनि चिनियाँहरूले आफ्नो आन्तरिक कुरा आफैं मिलाउँछौं भनेर मिलाएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण तथा जनसम्पर्क प्रमुख डा. गणेश न्यौपानेले बताए । घाइतेको उपचार र सुरक्षालगायतका सेवा–सुविधाको माग राखेर नेपाली मजदुरले मंगलबारदेखि कामै बन्द गराएका थिए ।
६ दिनअघि विद्युत्गृहभित्र सुरुङ निर्माण गर्ने क्रममा घाइते भएका नेपाली मजदुर अर्जुन श्रेष्ठलाई चिनियाँ सुरक्षा अधिकारीले दुव्र्यवहार गरेको निहुँमा नेपाली मजदुरले काम बन्द गरेका थिए । सुरुङ निर्माणका क्रममा माथिबाट आएको ढुङ्गा लागेर नेपाली मजदुर श्रेष्ठ घाइते भएका थिए । नेपाली मजदुरले काम बन्द गरेपछि आयोजनाको ब्युरो ६ अन्तर्गत पर्ने विद्युत्गृह, टेलरेस सुरुङको काम तीन दिनदेखि सुचारु हुन सकेको थिएन ।

प्रस्तुति:
कारोबर सम्बाददाता

दिलबहादुर केसी

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।