Friday, July 26, 2013

माथिल्लो तामाकोसीको १६ मध्ये साढे ३ किलोमिटर लामो मुख्य सुरुङ काम नलाग्ने

 लागत १ अर्ब र समय एक वर्ष थपिने "

बाबुराम खड्का/दिलबहादुर केसी
काठमाडौं, ८ साउन- सुरुङ खन्ने क्रममा कमजोर ढुंगा भेटिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १६ मध्ये साढे ३ किलोमिटर लामो मुख्य सुरुङ काम नलाग्ने भएको छ । परामर्शदाता नरकन्सल्ट एएस– लाहमेर जेभीले यो सुरुङबाट विद्युत् गृहमा ठूलो क्षति हुने सम्भावना औंल्याएपछि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सुरुङको डिजाइन (प्रारूप) नै परिवर्तन गर्न लागेको छ । यसले आयोजनाको लागत १ अर्ब रुपैयाँभन्दा
बढी थपिनेछ ।
पेनस्टक अडिटदेखि भैंसे अडिटसम्मको कुल ५ किलोमिटरमध्ये साढे ३ किलोमिटर सुरुङको डिजाइन परिवर्तन गर्न लागिएको हो । यसका लागि एउटा अडिट टनेलका साथै २ सय ६० मिटर अग्लो साफ्ट पनि खन्नुपर्नेछ । यसले आयोजनाको समय पनि एक वर्ष पर धकेलिने नरकन्सल्टको प्रारम्भिक प्रतिवेदन छ । यसअघि नै विभिन्न कारणले गर्दा आयोजनाको काम ६ महिना ढिला भइसकेको छ ।
सन् २०१५ को अन्त्यसम्म आयोजना निर्माण गर्ने योजना लम्बिएर २०१६ को मध्यमा पुगेको छ । हालसम्म आयोजनाको काम आधामात्र सकिएको छ । डेढ वर्ष ढिलाइ भएपछि अपर तामाकोसीले बिजुली बिक्रीबाट हुुने करिब १५ अर्ब रुपैयाँ आम्दानी गुमाउनेछ । माथिल्लो तामाकोसी राष्ट्रिय गौरवअन्तर्गत प्राथमिकताप्राप्त आयोजना हो ।
परामर्शदाताले प्रस्ताव गरेको अनुमानित लागत घटाउन छलफल भइरहेको आयोजनाका एक अधिकारीले बताए । उनका अनुसार प्रस्तावित समय पनि घटाउने गरी नयाँ कार्यतालिका बनाउने विषयमा छलफल सुरु भएको छ ।
सुरुङ परिवर्तनपछि थप अध्ययन गर्नुपर्ने हुन्छ । परामर्शदाताले एक महिनादेखि सुरुङ परिवर्तनको गृहकार्य थालेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार परामर्शदाताले अहिले सुरुङको परीक्षण गरिरहेको छ ।
आयोजनाको सुरुङ छड्के डिजाइन भएकोमा अब यसलाई परिवर्तन गरी सीधा बनाउनुपर्नेछ । यसअघि परामर्शदाताको सिफारिसमै छड्के निर्माण थालिएको हो । अपर तामाकोसीले यो समस्या समाधानका लागि अन्तर्राष्ट्रिय विज्ञसँग पनि परामर्श थालेको छ ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार अहिले मुख्य सुरुङ ०.८ प्रतिशत स्लोपमा निर्माण भइरहेको छ । परिवर्तित डिजाइनअनुसार बाँकी निर्माणको काम ०.३ प्रतिशत स्लोपमा निर्माण हुनेछ । सुरुङको स्लोप घटाउँदा २ सय ६० मिटर ठाडो पेनस्टक साफ्ट थप निर्माण हुनेछ ।
विद्युत्गृहसम्म ३ सय ७२ मिटरको पेनस्टक साफ्ट र मुख्य सुरुङको माथिल्लो भाग निर्माणका लागि गोंगरडाँडामा एक वर्ष लगाएर ९ सय १२ मिटर अडिट सुरुङ निर्माण गरिएको थियो । पेनस्टक अडिट सुरुङबाट मुख्य सुरुङतर्फ ४ सय १० मिटरमात्र निर्माण गरेर एक महिनादेखि त्यसको काम स्थगित गरिएको छ । अब त्यही ठाउँमा अर्को पेनस्टक साफ्ट निर्माणको तयारी भइरहेको छ ।
नयाँ डिजाइनअनुसार तल्लो भागबाट सुरुङको काम गर्न सकिँदैन । सुरुङ बनाउनै परे २ सय ६० मिटर माथि बाटो बनाएर पुनः एक किलोमिटर अडिट सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अर्को एक वर्ष लाग्छ । कार्यतालिकाअनुसार भैंसे अडिटबाट तल्लो खण्ड २ हजार ६ सय ११ मिटर र पेनस्टक अडिटबाट उपल्लो खण्ड २ हजार ३ सय ३६ मिटर एक वर्षमा निर्माण पूरा गर्नुपर्नेछ । त्यसमध्ये भैंसेबाट १ हजार १ सय मिटर र पेनस्टकतिरबाट ४ सय १० मिटर पूरा भएको छ ।
आयोजनाको प्रारम्भिक अध्ययनमा मुख्य सुरुङ ०.३ प्रतिशत स्लोपमै निर्माण गर्ने उल्लेख थियो । तर, विस्तृत अध्ययनबाट बीचमा अडिट सुरुङ बनाउने ठाउँ नहुने र काम पनि ढिला हुने भन्दै ०.८ प्रतिशतमा निर्माण गर्ने गरी प्रतिवेदन तयार गरिएको थियो । विस्तृत अध्ययनसमेत नर्वेजियन कम्पनी नरकन्सल्टले नै गरेको हो । चीनको सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको सिभिल निर्माण गरिरहेको छ । हाइड्रोमेकानिकल भारतको टेक्सम्याको, इलेक्ट्रोमेकानिकल अस्ट्रियाको एन्ड्रिज र प्रसारणलाइनको काम भारतको केईसीले गर्दैछन् ।
आयोजनाको पावरहाउस सुरुङ परामर्शदाताले गुणस्तरीयता परीक्षण गरी जिम्मा लिएको १ सय ४२ मिटर सुरुङमध्ये तीन महिनापछि सय मिटरको माथिल्लो भाग चर्किएपछि मर्मत भइरहेको छ । यसमा ४ करोड रुपैयाँ खर्च हुँदैछ । अहिले चर्किएको भागको आधाभन्दा बढी मर्मत पूरा भएको छ ।
रेजबोरिङले काम बिगारेपछि पर्ने पेनस्टक साफ्टको काम ६ महिना ढिला भएको छ । पुरानो मेसिन फिर्ता गरेर नयाँ मेसिन जर्मनबाट मगाइएको छ । तीन महिना भन्सारमा थन्किएर बल्लतल्ल छुटाएर ल्याएको मेसिनले निर्धारितभन्दा चार मिटर छड्के बनाएपछि त्यसलाई बन्द गरिएको छ । रेजबोरिङले पहिलो चरणमा विद्युत्गृहसम्म ९ इन्चको ठाडो प्वाल खने पनि समस्या आएपछि अहिले त्यसलाई सिमेन्टको घोल हालेर टालिएको छ ।
अहिले ठेकेदारले जर्मनीबाट नयाँ मोडलको रेजबोरिङ ल्याउन लागेको छ । कहिले भन्सारमा रोकिने त कहिले समस्या आउँदा पेनस्टक साफ्ट निर्माणको कामसमेत ६ महिना ढिला भएको छ । आयोजनामा ३ सय ७२ मिटरको पेनस्टक साफ्ट र ४ सय ४० मिटरको सर्जसाफ्ट सुरुङ निर्माण गर्नुपर्छ । अहिले पुनः २ सय ६० मिटर थपिनेछ ।
आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ छ www.karobardaily.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।