Sunday, October 20, 2013

म्याराथनमा स्वरुपा खड्काको राष्ट्रिय कीर्तिमान




काठमाडौं - अमेरिकामा बसोबास गर्दै आएकी सौखिन नेपाली धाविका स्वरुपा खड्काले सिकागो म्याराथनमार्फत सात वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन्। अघिल्लो आइतबार (अक्टोबर १३) सम्पन्न म्याराथन स्वरुपाले २ घन्टा ५७ मिनेट १० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
उनको समय १ मिनेट २९ सेकेन्डले उत्कृष्ट थियो। यसअघि निर्मला भारतीले सन् २००६ मा बर्लिन म्याराथनमा २ घन्टा ५८ मिनेट ३९ सेकेन्डको कीर्तिमान रचेकी थिइन्। स्वरुपाले व्यक्तिगत प्रदर्शनमा झन्डै ८ मिनेटको सुधार गरिन्। १६ वर्षदेखि अमेरिकामा बस्दै आएकी ३६ वर्षीया उनले
३५–३९ वर्ष समूहमा सहभागिता जनाएकी हुन्।
एथलेटिक्सका प्रमुख प्रशिक्षक सुशील नरसिंह राणा स्वरुपाको प्रदर्शन उत्साहजनक र उपलब्धिपूर्ण नतिजा भएको बताए। 'एउटी सौखिन खेलाडीले निरन्तर प्रयासबाट राष्ट्रिय कीर्तिमान भंग गरिन्। यो देशभित्र प्रशिक्षण गरिरहेका खेलाडीका लागि चुनौती पनि हो,' राणाले शनिबार नागरिकसँग भने, 'यो नतिजाले यहाँका खेलाडीलाई पनि पक्कै प्रोत्साहित गर्छ भन्ने विश्वास लिएको छु।'
स्वरुपाको कीर्तिमानलाई राष्ट्रिय कीर्तिमान मानिने प्रशिक्षक राणाले बताए। 'जसरी निर्मलाले बर्लिन म्याराथनमा कीर्तिमान बनाइन्। अहिले स्वरुपाको कीर्तिमान पनि त्यस्तै हो। उनीसँग नेपाली राहदानी छ। त्यसैले यो राष्ट्रिय कीर्तिमानमा गणना हुन्छ,' उनले प्रस्ट पारे।
२ हजार ४ सय ४८ जनाले दौड पूरा गरेको उक्त उमेर समूहतर्फ १३औं स्थान प्राप्त गरेकी स्वरुपा १७ हजार ३ सय ९३ महिलामध्ये ६७औं स्थानमा रहन सफल भइन्। समग्रमा ३८ हजार ८ सय ७३ ले पूरा गरेको म्याराथनमा स्वरुपा ६ सय ६२ औं स्थानमा रहेको सिकागो म्याराथनको आधिकारिक वेबसाइटमा उल्लेख छ। वेबसाइटका अनुसार पाँच नेपाली सिकागो म्याराथनमा सहभागी भएका छन्। काठमाडौंबाट सहभागी हुनेमा ५०–५४ वर्ष उमेर समूहका रामकृष्ण महर्जन छन् भने अन्य उतै बस्नेहरू छन्। स्वरुपाकै समूहमा सौरभ कार्की र उज्ज्वल श्रेष्ठ पनि दौडिएका थिए। सौरभले ३ घन्टा ३८ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दा ८ सय ७९ औं स्थान भेट्टाए भने उज्ज्वलले दौड पूरा गर्न सकेनन्।  ३०–३४ वर्ष उमेर समूहतर्फ सिकागोमै रहेका श्याम चालिसेले सहभागिता जनाए। उनले ५ घन्टा ४ मिनेट ४३ सेकेन्डमा दूरी पार गरे।
स्वरुपाले वर्षको सुरुआतमा बोस्टन म्याराथन ३ घन्टा ५ मिनेट ५ सेकेन्डमा पूरा गरेकी थिइन्। उक्त म्याराथन चल्दै गर्दा भएको बम आक्रमणबाट कम्तीमा तीनको मृत्यसहित सयभन्दा बढी घाइते भए पनि स्वरुपाले आफ्नो दौड पूरा गरेकी थिइन्। त्यति बेला नेपालबाट भाग लिने उनी एक्ली थिइन्।
बोस्टन म्याराथनलगत्तै नेपाल आउँदा स्वरुपाले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिनिधित्व गर्ने इच्छा व्यक्त गरेको प्रमुख प्रशिक्षक राणाले स्मरण गरे। 'देशको प्रतिनिधित्व गर्ने उनमा ठूलो चाहना रहेछ। नेपालबाट फर्केको ६ महिनामै उनले आफ्नो टाइमिङमा निकै सुधार गरेकी छन्। यसले उनको लगाव र समर्पणले प्रमाणित गर्छ,' राणा भन्छन्, 'उनी जस्तो सम्भावना बोकेको खेलाडीलाई मौका दिनुपर्छ।' प्रशिक्षक राणाले संघको बैठकमा आफूले स्वरुपाको प्रस्ताव राख्ने जानकारी दिए। 'उनको उपलब्धि र उनले मसँग गरेको प्रस्ताव संघको बैठकमा राख्छु। ३ घन्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने खेलाडी अहिले नभएको अवस्थामा स्वरुपा एउटा राम्रो विकल्प हुन सक्छिन्,' राणाले थपे।
असोज १२ मा सम्पन्न रियल काठमाडौं म्याराथनमा मात्र दुई महिला खेलाडीले म्याराथनमा भाग लिएका थिए। एपिएफकी सोनुजया राईले मात्र ३ घन्टाभन्दा बढी समयमा दौड पूरा गरिन्।
दौडसँग स्वरुपाको साइनो
काठमाडौंको चाबहिल मैंजुबहालमा जन्मेकी स्वरुपाको सेन्ट मेरिज पढ्दादेखि एथलेटिक्ससँग नाता जोडिएको थियो। स्कुले जीवनमा १ सय, २ सय, ४ सय र १ सय मिटर हर्डल्स उनको रुचिको इभेन्ट हुन्थे। १९९५ एसएलसीपछि उनले सेन्ट जेभियर्सबाट आइएस्सी गरिन्। आइएस्सी सकेलगत्तै उनी १९९७ मा उच्चशिक्षाका लागि अमेरिका पुगेकी हुन्।
स्नातकको अध्ययन सकेपछि २००१ मा हेविट एसोसिएट्स नामक व्यावसायिक प्रतिष्ठानमा काम थालेकी उनले त्यही संस्थाको प्रेरणामा ट्र्याकमा पुनरागमन गरेकी थिइन्।
हेविट एसोसिएट्सले स्थानीय स्तरमा ५ र १० किलोमिटरका मध्यम दुरीका रेसहरू प्रायोजन गर्थो। २००२ मा त्यही रेसको ५ किलोमिटरमा सहभागिता जनाएपछि एथलेटिक्ससँगको उनले पुरानो नातालाई फेरि जोडिन्।
सुरुसुरुमा दौडनै गाह्रो भए पनि स्पर्धामा स्वरुपा आफ्नो कम्पनीकामध्ये दोस्रो भइन्। नतिजाले उनको मनोबल बढायो। २४ वर्षमा पाएको त्यो आत्मविश्वासले ३६ वर्ष पुग्दासम्म पनि स्वरुपालाई विश्वकै ठूला प्रतिस्पर्धाहरूमा डोहोर्‍याइरहेको छ।
मध्यम दुरीबाट एथलेटिक्समा फर्केकी स्वरुपा लामो दुरीमा भने २००७ को फिलाडेल्पि्कया म्याराथनबाट भाग लिन थालेकी हुन्। हेल्प नेपाल नेटवर्कका लागि पैसा उठाउने उद्देश्यले उनले फिलाडेल्पि्कया म्याराथनमा सहभागिता जनाएकी थिइन्।
फिलाडेल्पि्कया म्याराथनले थप मनोबल जुटाए पनि अमेरिकाको व्यस्त जीवनले स्वरुपा फेरि चार वर्ष एथलेटिक्सबाट टाढा रहिन्। २०१० मा मरिनकर्प म्याराथनबाट उनी फेरि फर्किइन्। ३ घन्टा १० मिनेटमा मरिनकर्प म्याराथनको दुरी पूरा गरेर उनी बोस्टन म्याराथनका लागि छानिएकी थिइन्।
२०११ मा न्युयोर्क सिटी म्याराथनमा टाइमिङ मरिनकर्पको दाँजोमा बिग्रिए पनि आत्मविश्वास बढेकै थियो। न्युयोर्कमा उनको टाइमिङ ३ घन्टा १५ मिनेटको थियो। त्यो वर्ष चोटका कारण बोस्टन म्याराथनमा सहभागिता जनाउन नसकेकी उनले २०१२ मा विश्व एथलेटिक्सको अर्को ठूलो बर्लिन म्याराथनमा सहभागिता  जनाइन्।
जर्मनीको बर्लिन सहरमा हुने उक्त स्पर्धामा स्वरुपाको टाइमिङ ३ घन्टा ७ मिनेटको थियो।

रामकृष्ण ११औं स्थानमा
अर्का नेपाली धावक रामकृष्ण महर्जन पुरुषको ५०–५४ वर्षको उमेर समूहमा दौड पूरा गर्ने १ हजार ९ सय ७५ मध्ये  ११ औं स्थानमा आएका छन्। आफ्नै खर्चमा सहभागी भएका उनले २ घन्टा ५० मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए।
म्याराथन पूरा गर्ने २१ हजार ४ सय ८०  पुरुषमध्ये रामकृष्ण ३ सय ६१औं स्थानमा आए। समग्रमा ३८ हजार ८ सय ७३ ले पुरा गरेको म्याराथनमा रामकृष्ण ४ सय स्थानमा आएका थिए। उनले गत वर्ष सिड्नी म्याराथनमा सोही उमेर समूहमा स्वर्ण पदक जितेका थिए।
copied by.nagariknews.

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।