दोलखा, आश्विन २७ - ऐतिहासिक, धार्मिक र नेवारी परम्परा भएको दोलखा बजारवासीमा दुर्घटनाको भयावह विपत्ति आइपरे पनि परम्परादेखि चल्दै आएको पूजापाठ र जात्राहरु निरन्तर गरिने निष्कर्ष निकालिएको छ ।
भीमेश्वर मन्दिरदेखि दर्जनौ टोल, डबली र मन्दिरहरुमा गरिने परम्परागत पूजाआजा र जात्राहरु शोकका
बीच पनि निन्तर गरिने निर्णय गरिएको भिमेश्वर गुठीले जानकारी दिएको छ । फुलपातीको दिन काठमाडौंबाट रिजर्भ गरी आएको बस दुर्घटनापछि दोलखा बजारका नेवारी समुदायमा ठूलो शोक परेको छ । १० जना मृत्यु भएकामध्ये ९ जना उक्त नेवारी वस्तीको परेपछि धेरैलाई जुठो परेको छ । २७ भन्दा बढी घाइते भएकाले दसै मनाउन छाडेर घाइते र आफन्तहरु काठमाडौंस्थित अस्पतालमा बस्नु परेको छ ।
भीमेश्वर नगर वडा २ र ३ का नेवारी समुदायमा आइपरेको शोकका बीच अष्टमी र नवमीमा गरिनुपर्ने बिधि सधा झै गरिएका भीमेश्वर मन्दिर व्यवस्थापन समितिका भरत श्रेष्ठले बताए । अष्टमीको साँझ दोलखा बजारको राजकुलेश्वर तलेजु भवानीबाट बाजागाजासहित निम्तो गरेपछि भीमेश्वर मन्दिरमा नवमीको दिन बली पूजा खुलाउने प्रकृया सम्पन्न भएको छ ।
परम्परा अनुसार देव र दानवको युद्धको निर्णायक दिन मानिने नवमीमा बली दिन विधिवत आव्हान गरेपछि दिनभर भीमेश्वरमा बोका, राँगा र भाले वली दिने परम्परा छ । भीमेश्वर मन्दिरमा यसपटक पनि बाहिरबाट आएकाहरुले आफ्नो सवारी पूजा गर्ने र बली दिनेको भीड कायमै रहेको छ । स्थानीयहरुले नवमीको दिन वली दिन कार्य भने शोक परेकाले निकै कम रह्यो ।
अघिल्ला बर्षहरु झैँ अष्टमीको साँझ युद्दका निम्ता दिने संकेत स्वरुप स्थानीय नेवार जातिका मानिसले बाजा बजाउदै बजार परिक्रमा गरेका थिए । भीमेश्वरमा वली दिनुको अर्थ दानवको नाश गरेको भन्ने भनाई छ ।
मन्दिरमा सर्वसाधरणले बली दिइसकेपछि नवमीको मध्यराती भीमेश्वर मन्दिर परिसरमा चारवटा रागाको घाटीको नशा काटी बध गर्ने चलन यसपटक निन्तर गरिने स्थानीयको भनाई छ ।
कालरात्रीमा ती रागालाई राक्षसको प्रतीक मानेर बध गरिएको ठान्ने प्रचलन छ । युद्धको क्रममा बध गरिएका ती रागालाई टिकाको भोलीपल्ट खड्ग जात्रामा देखाइने चलन छ ।
नवमीको मध्य रातमा पनि दोलखा बजारका सबै शक्तिपीठ र कुल्यानहरुमा पशु बध गर्ने चलन छ ।
प्रकाशित मिति: २०७० आश्विन २७ ०९:२०
Ekantipur.com बाट साभार
No comments:
Post a Comment