Wednesday, December 18, 2013

यस्तो बन्दैछ चक्रपथ ...............

काठमाडौ, पुस ३ - तीव्र गतिमा सवारी चलाउन मिल्ने दायाँ-बायाँ दुई-दुई लेन । त्यसको दायाँ-बायाँ ७/७ मिटर चौडाइको दुई-दुई लेनको सर्भिस ट्रयाक । सडकको दुवैपट्टि साइकल लेन र फुटपाथ । यस्तो आठ लेनको सडक कुनै विकसित मुलुकको होइन । राजधानीमा चीनको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको
चक्रपथको हो ।
कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर सडक तीन वर्षभित्र सक्ने लक्ष्य लिएको छ । यसको नमुना सडक देखाउन ठेकेदार कम्पनीले ललितपुरको भनिमण्डपदेखि एकान्तकुना चोकसम्मको साढे पाँच सय मिटर तीन महिनाभित्र बनाइसक्ने गरी काम गरिरहेको काठमाडौं चक्रपथ सुधार योजना प्रमुख अशोक तिवारीले जानकारी दिए । उनका अनुसार अन्य स्थानमा पर्खाल लगाउने काम भइरहेको छ ।
चिनियाँ ठेकेदार संघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले ठेक्का पाएको यस सडक निर्माणमा ३१ करोड २० लाख चिनियाँ युआन अर्थात् झन्डै ५ अर्ब रुपैयाँ लाग्नेछ । सडक विस्तारका लागि चीन सरकारले खर्च गरे पनि पोल, पाइप सार्ने खर्च नेपाल सरकारले बेहोर्ने छ । यसका लागि ४० देखि ५० करोड खर्च हुने अनुमान गरिएको छ । सडक निर्माणका लागि २०१२ डिसेम्बर १८ मा सम्झौता भएको थियो । डिजाइन अनुसार (फोटोमा देखिएको जस्तो) को काम सन् २०१६ मे १५ भित्र सिध्याउनुपर्ने सम्झौता छ ।
योजना प्रमुख तिवारीका अनुसार अहिले मनोहरा खोलाको दायाँबायाँ पुल निर्माणका लागि फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा नमुना बनाउने भनिएको सडकको काम धमाधम भइरहेको उनले बताए । साढे पाँच सय मिटर सडकको सबग्रेटको काम सकिएको उनले जानकारी दिए । 'पहिलो चरणमा साढे पाँच सय मिटर सकाउन लागि परेका छन्,' उनले भने, 'बाँकी भागमा रिटेनिङ वाल निर्माण काम भइरहेको छ ।'
१० किलोमिटर सडकखण्डमध्ये व्यस्त मानिएको ग्वार्को, सातदोबाटो, एकान्तकुना लगायतका क्षेत्रमा आकाशे पुल बन्नेछ । कलंकीमा भूमिगत सडक -चित्रमा जस्तै) निर्माण हुने भएको छ । बल्खुबाट स्वयम्भू जाने सवारी भूमिगत बाटोबाट जानेछन् भने कालिमाटीबाट कलंकी चोक तर्फ जाने माथिबाट गुड्नेछन् । भूमिगत सडकमा फुटपाथ हुने छैन । भूमिगतभन्दा माथिको सडकमा जेब्राक्रस र फुटपाथ हुनेछ । कोटेश्वर-चाबहिल खण्डको पनि अधययन भइरहेको विभागले जनाएको छ ।
४० महिनामा योजना सकाउने भनिए पनि विद्युत् प्राधिकरण, टेलिकम र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अझै आफ्नो जिम्मेवारीको काम सकाएका
छैनन् । सडक विभागले विद्युत्, टेलिफोनको पोल र खानेपानीको पाइप सार्न आवश्यक रकम गत असारमा भुक्तानी गरिसकेको छ । स्रोतका अनुसार खानेपानी र ढल वयवस्थापनका लागि केयूकेएललाई ३ करोड ७० लाख रुपैयाँ, विद्युत् प्राविधिकरणलाई ३ करोड र टेलिकमलाई १ करोड १० लाख रुपैयाँ दिइसकिएको छ  ।
विद्युत्, टेलिकम र केयूकेएलले अझै काम सुरु नगर्दा काममा ढिलाइ हुन सक्ने विभागले जनाएको छ । सडक दायाँबायाँको ढल नगरपालिका र केयूकेएल कसले हटाउने भन्ने अझै टुंगो लागेको छैन । 'रिङरोडमा भएको ढल स्वामित्व कसले लिने भन्ने विवाद छ,' स्रोतले भन्यो, 'दुवै कार्यालय पन्छिन खोजेका छन् ।' निर्माणपछि चक्रपथको कलंकी चोकमा देखिने स्वरूप (माथिल्लो) । चक्रपथ (बीच) र कलंकी चोककै भूमिगत बाटो (तल) ।


प्रकाशित मिति: २०७० पुस ३ ०९:५०
copied by  .....Ekantipur.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।