Thursday, December 19, 2013

लामाबगरको तरकारी काठमाडौंमा उपहारका रूपमा जान थाल्यो

दिलबहादुर केसी
लामाबगर (दोलखा), ३ पुस - लामाबगरमा उत्पादन भएको तरकारी उपहारका रूपमा काठमाडौं जान थालेको छ । कुनै पनि विषादी र रासायनिक मलको प्रयोग नगरी प्राङ्गारिक मल मात्र उत्पादन भएको रायोको साग, काउलीजस्ता तरकारी आजभोलि कर्मचारीहरूले काठमाडौंसम्म लैजान थालेका हुन् ।
चारैतिर भीर पाखा र सीमित उब्बजीयोग्य जमिनमा स्थानीय कृषकहरू तरकारी खेतीतिर आकर्षित हुन थालेपछि कृषकहरू दैनिक डोकामा तरकारी लिएर बिक्री गर्न गोंगर, लामाबगर र जगत बजारमा झर्ने गरेका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सुरु भएपछि तरकारीको समेत माग बढेको छ । कृषक बिहानै आयोजनाको कार्यालय र निर्माण कम्पनीको कार्यालय र भान्सासम्म तरकारी पु¥याउने गरेका
छन् ।
लामाबगरमा एक वर्षयता डेढ दर्जन बढी कृषकहरू व्यवसायिक तरकारी खेतीमा लागेका छन् । तरकारीबाट स्थानीय कृषकको जीवनस्तर उकास्नका लागि आयोजनाले समेत कृषकहरूलाई आधुनिक प्रविधिका तालिम, बीउ टनेल सहयोग गर्दै आएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण तथा प्रशासन प्रमुख गणेश न्यौपानेले गत वर्ष लामाबगरमा मात्र आयोजनाले गोलभेंडा खेती गराउन कृषकलाई तालिमसहित बीऊ र ४५ वटा प्लास्टिक टनेल वितरण गरेको जानकारी दिए ।
“कृषकलाई मौसमी र बेमौसमी तरकारी खेतीका लागि आयोजनाले उत्प्रेरित गरेको छ,” उनले भने, “आयोजनाको लगानी शतप्रतिशत सफल नभए तापनि धेरै कृषकले यसबाट लाभ लिएका छन् ।” स्थानीय स्तरमा उत्पादन भएको जति पनि तरकारी खपत हुने उनले बताए ।
स्थानीय स्तरमा उत्पादन बढेपछि लामाबगरमा चरिकोट र दोलालघाटबाट ल्याउने तरकारी समेत घटेको छ । कृषकहरूको जीविकोपार्जनका कार्यक्रमका लागि आयोजनाले निरन्तर कार्यक्रम सञ्चालन गर्ने बताए । प्रवद्र्धनात्मक कार्यक्रमका लागि आयोजनाले २५ करोड खर्च गर्ने लक्ष्य राखेको उनले बताए ।
आयोजनाका कर्मचारीहरूले समेत प्राङ्गारिक भएकाले स्वादिलो र पौष्टिक हुने भएकाले स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने बताउँछन् । आयोजनामा कार्यरत कर्मचारीहरू र घुम्न आउनेहरूले समेत प्राङ्गारिक तरकारी पाएसम्म घरपरिवार र आफन्तहरूलाई समेत उपहारको रूपमा काठमाडौं पठाउने गरेका छन् । “पहिला–पहिला काठमाडौंबाट आउँदा आफैंलाई खान तरकारी ल्याउँथ्यौं,” आयोजनाका कर्मचारी राम्जी कार्कीले भने, “अहिले घर जाँदा यतैबाट लिएर जान्छौं ।”
तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरूसमेत उत्साहित छन् । लामाबगर–६ की माइली तमाङले सिजनको साग र काउलीबाट दैनिक २ हजार ५ सयसम्म आम्दानी हुने बताइन् । परिवारले नै मेहनत गरे पनि छोराछोरीलाई समेत खर्च छुट्ट्याउने गरेकी छिन् । “पहिले–पहिले त हामीले यसरी हरियो तरकारी नै देख्न मुस्किल पथ्र्यो,” उनले कारोबारसँग भनिन्, “अहिले आफैंले गर्दा हुँदो रहेछ, बेचेर पनि पैसा लिने गरेका छौं ।” पैसा चाहियो भने सहरमा भारी बोक्नुपर्ने हाम्रो जिन्दगीमा आजभोलि घरमै बसीबसी विदेश जानेभन्दा बढी कमाइ हुन थालेको उनले बताइन् ।
पूर्वअध्यक्षसमेत रहेका रामे तमाङले बारीबाट तरकारी लिएर दैनिक आफैं बजार जाने गरेको बताए । कृषकहरूको यसमा अझैं बानी नपरे पनि विस्तारै कृषकहरू तरकारी खेतीतिर आकर्षित हुन थालेको उनले बताए ।
कारोवारबाट साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।