Friday, March 7, 2014

दोलखा मन्दिरमा यौनासनका मूर्तिहरू कुँदिएका छन्

- डा. कविताराम श्रेष्ठ
दोलखा भ्रमणमा शिव मन्दिरमा भएका टुँडालहरू देखाएर एक मित्रले भनेका थिए – ‘यही मात्र एउटा मन्दिर यहाँ छ जसका टुँडालहरूमा यौनासनका मूर्तिहरू कुँदिएका छन् ।’ त्यसवेला उनले त्यहाँ उपलव्ध किमवदन्तिहरूबारे केही पनि बताएको मलाई सम्झना छैन । जनमानसले केही हुनुको अर्थ त जहाँकहीं पनि लगाएकै हुन्छ । साधरण बस्तीहरूमा पनि यो सिद्धान्त लागु हुन्छ भने दोलखा जस्तो आफ्नै इतिहास र परम्पराले सम्बृद्ध ऐतिहासिक शहरमा त्यसो नहोला भनेर म सन्तुष्ट
हुनेवाला थिइन ।
नेपालमा बनेका मन्दिरहरूको अध्ययनबाट स्पष्ट हुन्छ- मन्दिरहरूमा यस्तो कलाको प्रयोग सत्रौं शताव्दीदेखि हुन थालेको छ । काठमाण्डौंतिर यस्तो कलाकृतिहरूको प्रयोग चट्यांगबाट बच्नको लागि हुने गरेको भन्ने लोकविश्वास छ । चट्यांगलाई यस जनविश्वासले कुमारी देवीको रुपमा लिने गरेको छ । यस्तो कलाकृति राखेको खण्डमा तिनी लाजले तर्केर जान्छिन् रे । ध्यानयोग्य कुरा यो छ कि, हिन्दु धर्मशास्त्रमा चट्यांगलाई कतै पनि एउटा देवीको रुपमा देखाइएको छैन । यसलाई इन्द्रको बज्रको रुपमा मात्र देखाइएको पाइन्छ । यसबाट स्पष्ट हुन्छ कि यो जनविश्वास यतैको स्थानीय उपज हो र मन्दिरहरूमा यसको प्रयोग हुनु भन्दा अगाडि सायदै यसको अस्तित्व थियो ।
???????
नग्नताको प्रदर्शनबाट भूतप्रेत वा विघटनकारी अलौकिक शक्ति भाग्छ भन्ने स्थानीय जनविश्वास आज पनि नेपालभूमीमा व्याप्त छ । यो त्यही जनविश्वासको एउटा अभिव्यक्ति मलाई लागेको छ । चट्यांगलाई त्यसताका उनीहरूले विघटनकारी तत्व नै माने र त्यसलाई भगाउन यस्तो कलाकृतिहरूको प्रयोग भएको हो भन्ने धारणा साधरण जनमानसमा बन्यो भन्ने मेरो भनाई हो । तथापि यस्तो कुराको छनक कुनै लिखित दस्तावेज वा धर्मशास्त्रले दिएको छैन । यी त भए जनमानसका कुरा । मेरो भनाइ छ यसका पछाडि तान्त्रिकमतले काम गरेको छ ।
सत्रौं शताब्दी भन्दा पूर्व यसको प्रयोग कुनै पनि मन्दिरमा नदेखिनु र नेपालमा तन्त्रमार्गको विकास भएपछि तान्त्रिक वीधिद्वारा पूजिइने मन्दिरहरूमा यसको प्रयोग हुनुबाट आजका विद्वानहरूले यसलाई तन्त्रसंग जोड्ने गरेको पाइन्छ । तर ती जोडाइहरूलाई आजसम्म कुनैपनि विद्वानले यौनगत विषय मन्दिरको वास्तुकलासंग कसरी सम्बन्धित भयो भन्ने कुरासंग सान्दर्भिक गरी छिनाएर प्रस्तुत गरेको पाइएको छैन । जेजति पाइएका छन् ती प्रस्तुतिहरू यो चट्यांग देवीको किमवदन्ति जति पनि कार्य र कारणसंग सान्दर्भिक पाइएन । यसैको सन्दर्भमा म केही प्रयास गर्दैछु ।
हिन्दु धर्ममा तन्त्रमार्गीहरूले पूजा अर्चना गर्दा पांच ‘म’कारको प्रयोग गरेका हुन्छन् । पांच ‘म’कार भन्नाले ‘म’ बाट उठ्ने ५ कुराहरू – मद्य, मांस (पशूवली) मत्स्य, मुद्रा (तान्त्रिक योगीहरूद्वारा ध्यानमा एकाग्र हुने अभ्यासको लागि प्रयोग हुने तरुनी स्त्री), र मैथुन (यौनकृडा) भन्ने बुझ्नुपर्छ । तान्त्रिकहरू सनातन हिन्दुहरूले भन्दा अलग रुपमा पूजा गर्छन् – यी ५ कुराहरूको भोग वा भेटीबाट । यीनै पाच’म’कार मध्येको एक ‘म’कार मैथुन भएकोले मैथुनका लिलाहरू मन्दिरहरूमा सोभायमान गराइएका हुन् भन्ने मेरो धारणा छ । यसमा अर्को ‘म’कार मुद्रा सुन्दर युवतिको भाव पनि समाविष्ट छ । मुद्राको प्रयोग यौनकृडासंग प्रत्यक्ष सम्बन्धित छैन। तर, यौनतृष्णाका कारकतत्व भएको हुँदा यो पनि मैथुनकै समकक्षमा समाविष्ट भएको हो भन्ने मेरो भनाइ हो ।
मान्छेहरूलाई मोक्षको बाटोबाट विचलित गर्ने कुनैपनि वस्तुलाई सनातनीहरूले भोगको लागि बर्जित नै गरेका छन् । पूजा अर्चनाको लागि त झन कुरै भएन । सनातनीहरूको
लागि यी पाँच तत्वहरू निकृष्टतम छन् । किनभने यसको भोगबाट व्यक्ति कर्तव्यपथबाट विचलित हुन्छ, असामाजिक अनुशासनहीन छाडा उद्दण्ड आलसी नीर्लज्ज बन्दछ । यसका नकारात्मक गुणहरूका बारेमा तन्त्रमार्गीहरूको पनि फरक मत छैन । तर, नकारात्मक गुणहरूलाई सही ढंगमा उपचारार्थ प्रयोग गरियो भने सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने दर्शन तन्त्रमार्गमा समाहित छ । यही दर्शनका कारण नै व्यक्तिको भोगको कुरा त परै रहोस् पूजाअर्चनामा समेतमा पांच ‘म’कारको अनिवार्यता तन्त्रमार्गले कायम गरेको छ । यसैको प्रकरण यसमा लेखमा प्रस्तुत गरिएको छ ।
यसलाई बुझ्न प्रथमतः तान्त्रिक साधना के हो भन्ने कुरा नै बुझ्न जरुरी हुन्छ । त्यसैको विवेचना गरौं पहिले । हिन्दुधर्ममा तंत्रको विकास गाणपात्य, सौर, वैष्णव, शैव र शाक्त गरी जम्मा पाँच सम्प्रदायमा भयो । यीनमा शाक्त सम्प्रदायको जोर यतिसम्म भयो कि शाक्त धर्म नै तन्त्रमार्गको पर्यायवाची शव्द बन्न गयो । शाक्त दर्शन अनुशार संसारको आदितत्व नै शक्ति हो । शिव-शक्तिमा शिव अचल र शक्ति गतिपूर्ण छ । शक्तिबाटै संसार संचालित छ । यसै कारण शाक्तहरू हरेक देवताको शक्ति स्त्री स्वरुपलाई पुज्दछन् (जस्तै: शिवको शक्ति शैवी, विष्णुको शक्ति वैष्णवी, महादेवको महादेवी, महेश्वरको माहेश्वरी, ब्रह्माको ब्राह्मी, कुमारको कौमारी, इन्द्रको इन्द्राणी आदि) । कुनै एक देवताको शक्तिस्वरुप भनेको सम्पूर्णतामा त्यही रंग, रुप, वेषभुषा, आभूषण, हातहतियार, वाहन आदि हुन्छन् स्वरुपमात्र स्त्रीको हुन्छ ।
यस दर्शन अनुसार कुनै पनि जीव शिवशक्तिमा निहित छ भने त्यो सच्चितानन्द स्वरुपमा पुग्दछ वा ऊ अद्वैतको स्थितिमा हुन्छ । कुनै व्यक्ति शिवशक्तिमा निहित नभएर यसबाट अलग हुनपुग्यो भने ऊ द्वैतको स्थितिमा पुग्दछ । त्यहींबाट ऊ भ्रममा परी वस्तुहरूलाई राम्रो वा नराम्रो पृय वा अपृय काम्य वा अकाम्य मान्न लाग्दछ । यस दर्शनको सार यो हो कि संसारको कुनैपनि कृति करणिय वा अकरणिय छैन । जीवनका कुनै पनि कृया आफैमा पाप वा पुण्यको कारण होइन । जीवनको गुढ रहस्य कर्तव्य के वा अकर्तव्य के ? मा होइन कि आफू भित्रको भेद वा भ्रमलाई कसरी मेटाउन सकिन्छ भन्नेमा निहित छ । कसरी शिवशक्तिमा फेरि निहित भएर भ्रमबाट मुक्त भएर मोक्षको स्थितिमा पुग्न सकिन्छ – त्यसमा छ ।
कुलार्णव तन्त्रमा तान्त्रिक सम्प्रदायमा साधनाको लागि पाँच आचारहरू हुन्छन् भनिएका छन् । उत्कृष्टताको क्रममा वेदाचार त्यसपछि क्रमशः वैष्णवाचार, शैवाचार, वामाचार, सिद्धान्ताचार र कौलाचारका प्रशंगहरू त्यसमा आउँदछन् । अर्थात पाँचै आचारहरूमा वेदाचार निम्न कोटीको छ र क्रमशः वैष्णवाचार हुँदै कौलाचार चाहिं सर्वोत्कृष्ट मानिएको छ । वेदाचार र वैष्णवाचारमा पाँचै ‘म’कारको प्रयोग निन्दित छन् । वैष्णवाचारले वेदाचारको मत समेत समेटेर पांच ‘म’कारको प्रयोगबारेमा यसरी भनेको छ -वेदाचारक्रमेणैव सदा नियम तत्परः ।
मैथुनम् तत्कथालापम् कदाचिन्नैव कारयेत् ॥
हिंसा निन्दाम् च कौटिल्यम् वर्जयेन्मासंसभोजनम्
रात्रौ मालां च यन्त्रं च स्पृशेन्नैव कदाचन ॥
(अर्थ – वेदाचारको नियमानुसार सर्वदा नियममा तत्पर हुनुपर्छ । मैथुन वा त्यसको कथा समेत प्रसंगमा ल्याउनु हुन्न । हिंसा निन्दा कुटिलता र मांस भोजन परित्याग नै गर्नपर्छ । राती माला र यन्त्र छुनै हुन्न ।)
त्यसपछि क्रमशः शैवाचारमा पशुहत्याको व्यवस्था छ । वामाचारमा रजस्वलाको रज तथा कुलस्त्रीको पूजाको थप व्यवस्था छ र सिद्धान्ताचारमा मद्यपानको समेतको व्यवस्था थपिएको छ । अन्ततः कोलाचारमा मात्र पाँचै ‘म’कारको व्यवस्था छ । कोलाचारको भनाइ यस्तो छ-
पाचमम् देवि सर्वेष् मम प्राणपि्रयम् भवेत् ।
पाचमेन विना देवि चण्डिमन्त्रम् कथम् जपेत् ॥
यदि पाचमकारेष् भ्रान्तिम् चेत् कुरुते पृये ।
तस्य सिद्धिः कथम् देवि चण्डी मन्त्रम् कथम जपेत् ॥
आनन्दम् परमम् ब्रम्ह मकारातस्य सूचका ॥
(अर्थ – पांच ‘म’कार सबै कार्यमा मेरो प्राणसमान प्रिय छ । पांच ‘म’कार विना चण्डीको जप नै कसरी हुन्छ ? यसैकारण त्यसलाई सिद्धि नै असम्भव छ । आनन्द नै परमब्रम्ह हो र पांच ‘म’कार यसको सूचक हो।)
अष्टैश्वर्य परम् मोक्षम् मद्यपानेन शैलेजे ।
मांस भक्षण मात्रेण साक्षान्नारायणो भवेत् ।।
मत्स्य भक्षमात्रेण कालीप्रत्यक्षतामियात् ।
मुद्रासेवन–मात्रेन भूसुरो विष्णु रूपधृक् ।।
मैथुनेन महायोगी मम तुल्यो नसंशयः ।।
(अर्थ – मद्यपान गर्नाले अष्टैश्वर्य र परामोक्ष तथा मासुको भक्षण मात्र गर्दा साक्षात नारायणत्वको लाभ हुन्छ । माछा भक्षण गर्दाखेरी कालीकै दर्शन हुन्छ । मुद्राको प्रयोग मात्रले विष्णुरूप प्राप्त हुन्छ । मैथुनद्वारा त मेरै अर्थात् शिवकै स्वरूप महायोगी बन्दछ । यसमा शंकै छैन ।)
तन्त्र शास्त्रकै यी उक्तिहरूबाट स्पष्ट हुन्छ कि सर्वोत्कृष्ट मानिएका कौलाचारमा पञ्च ‘म’कारका सबैवस्तुलाई अति विशिष्ट मानिएको छ तथा यीनको सेवन मात्रले दैवी स्वरूप प्राप्त हुन्छ भनिएको छ । यसको मान्यतालाई यसरी वर्णन गर्न सकिन्छ – जुन कुराले उँधोगति प्राप्त हुन्छ साधनाद्वारा यसमा विजय प्राप्त गर्दा उँभोगतिका कारक पनि यीनै हुन्छन् । अर्थात निष्कृटतम् वस्तु उत्कृष्टतम् पनि बन्न सक्छन् । घृणाका भेदहरू हटाउने साधनाबाट मोक्षको प्राप्ती छ । शिवशक्तिमा लीन व्यक्तिको लागि संसारका सबैवस्तु अघृण्य बन्दछ । घृणा आदि भेदबाट तव नै मुक्त होइन्छ जव त्यसका कारक तत्वलाई भिडेर नै जितिन्छ । भागेर होइन । टोक्ने कुकुरबाट भागियो भने त्यसले निरन्तर खेदिरहन्छ । यसलाई त आफू फर्केर मर्दन गर्नपर्छ ।
कुलार्णव तन्त्रको सर्वोत्कृष्ट साधना कौलाचारको सार यही हो र तान्त्रिक पूजा अर्चनामा प्रयोग हुने पञ्च’म’कार जो उँधोगति तथा उँधोमतिका कारक तत्वहरू छन् यीनलाई जित्नकै लागि प्रयोग गरिन्छ । थोपा थोपा गरेर वीष खाँदै गएमा एक समयमा वीष पचाउने शक्तिको विकास व्यक्तिमा हुन्छ । यही जित्ने विधि वा धृणाको भेदलाई घटाएर शुन्यमा पु¥याउने अभ्यासलाई नै तान्त्रिक साधनाको रूपमा विकसित गरिएको छ । सच्चा साधक त्यही मानिन्छ जो घृणा आदि भेदको मान्यताबाट मुक्त भइसकेको छ । त्यसैले यी पाँचै तत्वहरूको प्रयोग उनीहरू पूजा अर्चनामा गर्दछन् र प्रसाद स्वरूप दैनिकीमा समेत व्यक्तिहरू अच्छै भोग गर्दछन् ।
तन्त्रमार्गीहरूद्वारा पूजा अर्चनामा देवी देवतालाई जाँड–रक्सीको आचमन, पशुवलीको भोग, माछाको चढावा भएका त देखिन्छन् तर मुद्रा र मैथुन चाहिं कहाँ कुन अर्थमा प्रयोग भइरहेछ त्यो साधरण रूपले बुझ्न वा देख्न नसकिने कुरा रहेकोछ । अझ टुँडालमा प्रयोग भएका ती रासलिला सम्बन्धी कलाकृतिहरू कसरी तन्त्रमार्गका धृणाको भेदलाई घटाएर शुन्यमा पु¥याउने साधनासंग सान्दर्भिक छन् त्यसैको विवेचना यस लेखको विषय छ ।माथिका शास्त्रिय उक्तिबाटै प्रष्ट हुन्छ मुद्रा तथा मैथुन दुवै पूज्य थियो । यी दुवै मोक्षप्राप्तिको लागि पूजा अर्चनाको लागि नै साधना स्वरूप प्रयुक्त थियो त्यसवेला । प्रारम्भिक कालमा पूजा विधिमै यो यौनकृडा हुने गर्दथ्यो भन्ने कुरा त “पञ्चमेन विना देवि चण्डिमन्त्रम् कथम् जपेत्” (पञ्च’म’कार विना चण्डीको जप नै कसरी हुन्छ ?) भन्ने स्वयंको प्रश्न र “मैथुनेन महायोगी मम तुल्यो नसंशयः” (मैथुनद्वारा त म शिवकै स्वरूपको महायोगी बन्दछ शंकै छैन) मैथुनको साधनाबाट प्राप्त हुने मोक्षको स्थितिले नै स्पष्ट गर्दछ ।
भरतीय प्रान्त केरलाको उच्छिष्ट गाणपत्य भन्ने सम्प्रदायमा यो साधना जोरजुलुमको स्थितिमा भएको भारतीय धर्महरूको इतिहासले देखाउँदछ । तर यस्तो स्थितिले लामो समयसम्म राज गर्न पाएन । सनातनीहरूको आलोचना निर्वाधरूपमा बढ्दै जाँदा यसको जोर कम हुनलाग्यो र सामाजिक लाजगालबाट बच्न यसको प्रयोग प्रतिकात्मक स्वरूपमा मात्र हुन लाग्यो । यसैको परिणाम हो कि मैथुनका कलात्मक अभिव्यक्तिहरू पञ्च’म’कारका साधना स्वरूप मन्दिर वा धर्मस्थलहरूमा देखिन लागे । नेपालमा तन्त्रमार्गको परिचय यसै वेला (सत्रौं शताव्दी) अर्थात प्रतिकात्मक ढंगमा प्रयोग गरिने वेलामा मात्र हुन गयो । त्यसैले यसको पूर्वरूपको भानसम्म पनि यहाँ प्राप्त छैन । यत्तिसम्म कि यसको अवशेष लोकोक्तिमा समेत पाइन्न । फलस्वरूप आफ्नै अर्थका चट्यांगदेवीको कथा यसमा जेडिन गयो ।
आज त्यसवेला बनेका मन्दिरका टुँडालहरूमा थरीथरीका यौन कृडाका कलाकृतिहरू पाइन्छन् । यीनलाई सम्बन्धित समाजले जानी नजानी स्वीकृति र संरक्षण प्रदान गरिरहेका छन् । यो किन त्यहाँ छ पत्तो पाएका छैनन् तरपनि यसको कुनै महत्व छ र त त्यहाँ छ भन्दै पुर्ख्यौली सम्पदा भनेर पूजिरहेका पनि छन् । आज यौन विषय संसार रचनाको कारक तत्वको रूपमा हेर्ने परम्पराको अवसान भइसकेको छ । यो गुप्तस्थानको खेल हो भन्ने मान्यताले मलजल पाएको छ । त्यसैले साहित्य तथा कलाकृतिका अन्य विधामा यौन विषयको खुला प्रयोगलाई अश्लील भनेर नकारामत्मक दृष्टीले हेर्ने संस्कृतिको विकास भएको छ । एउटै परिवारका सदस्यहरूले यस्ता कलाकृतिहरूलाई एक साथ बसेर हेर्न नसक्ने भएको छ । यस बाहेक अझ तन्त्र साधना भनेको गुप्त साधना हो भन्ने मान्यता नै हावी भएको छ । ब्रम्हचर्यलाई अभिष्ट मान्ने सनातनी सोचको यो विजय हो । संसार उसैबाट निसृत छ भन्ने तान्त्रिक सोचको हार हो यो । अश्लीलता वस्तुमा होइन मान्छेको दृष्टिकोणमा हुन्छ भन्ने सोचको हार हो यो ।
आजको तुलनामा त्यसताका यौनलाई आदरकासाथ हेरिन्थे । सनातनी ब्रम्हचर्यको प्रभाव त्यस ताका न्यून थियो । नेपालमा मल्लहरूको अवसान र पश्चिमी ठकुरीहरूको उदयपश्चात तान्त्रिक सोचले राजकीय संरक्षण प्राप्त गरेन । त्यसपछि हावी भएका अभिजातहरूको सीकोमा यौनलाई अश्लील मान्ने परम्पराको विकास भयो र आजसम्म त्यो कायम छ । योनी र लिंगको संयोजनलाई शिवलिंग भनेर भक्तिपूर्वक पूज्ने त्यही समाज, टुँडालका यौनविषयक कलाकृतिहरूलाई पचाउन सक्ने त्यही समाज, कृष्णका रासलिलालाई भक्तिपूर्वक श्रव्यपान गर्ने त्यही समाज त्यस्तै कलाकृतिलाई आजको निर्माणको विषय मान्दैन । पुराणले साक्ष दिएका पुराणपुरुषहरूको यौनगत लिलाहरूलाई सांसारिक व्यक्तिको लागि आदर्श मान्दैन । भगवानको लिला मात्र मानेर मान्छेको लागि असम्भव वा बर्जित गर्ने परम्पराको विकास भएको छ ।
जे होस् मान्नै पर्छ सत्रौं शताव्दीको नेपालमा त्यो विभेद थिएन । मन्दिरहरूमा त्यसले धार्मिक महत्ता राख्दथे । उनीहरू ती कलाकृतिहरूमा अश्लिलता देख्दैन थे । आफू कामूक हुँदैन थे । कामुक हुन्थे भने पनि त्यसलाई सहज मानवीय गुण मानेर त्यसमाथि विजय प्राप्त गर्नु उनीहरूको तन्त्रिक साधना थियो । पूजा अर्चनाको एउटा भावनात्मक विधि थियो । घृण्यलाई क्रमिकरूपमा घटाउँदै अघृण्यको शुन्य विन्दुमा पुर्‍याउने साधना थियो । शिवशक्तिमा निहित भएर भ्रमबाट मुक्त मोक्षको स्थितिमा पुग्ने अभिष्ट थियो त्यो ।
अस्तु ।


 
copied by,,,,,,dainiknepal.com 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।