Tuesday, April 15, 2014

अब यसरी एमआरपी (मेशीन रिडेवल राहदानी) का लागि निवेदन दिनुस् है .....


पुरानो अर्थात हस्तलिखित राहदानी २४ नोभेम्बर २०१५ सम्मका लागि मात्र काम लाग्नेछ । निवेदन दिएपछि २ महिनादेखि ६-७ महिनाको समयावधिमा मात्र तपाईको राहदानी हात पर्दछ । हस्तलिखित राहदानीको सट्टा सबैले मेशिन रिडेवल राहदानी बनाउनु पर्दछ ।  

मेशिन रिडेवल राहदानी भनेको यस्तो यात्रा अनुमतिपत्र हो जसको पहिचान राहदानी पृष्ठमा भएका विवरणहरु यन्त्रबाट पढ्न सकिने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड अनुरुपको राहदानी हो। एमआरपी अन्तर्राष्ट्रिय स्तरको राहदानी सुरक्षण विधिअनुरुप जारी भएको हो। यस राहदानीमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने खालका सुरक्षण चिन्हहरु प्रयोग गरीएका छन।

एमआरपी सुरक्षाको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारको
सुविधायुक्त राहदानी भएकाले यात्रुहरुको यात्रामा सहजता प्रदान गर्दछ। यन्त्रबाट राहदानीमा भएका विवरण पढ्न सकिने भएकाले यो राहदानी बाहकलाई अन्तर्राष्ट्रिय सिमामा आवतजावत गर्दा छिटो छरितो रुपमा सुविधा उपलब्ध हुनेछ।

एमआरपीमा वाहकको फोटो र अन्य विवरण कम्प्यूटर प्रिन्ट गरी ल्यामिनेट गरिने हुनाले यो राहदानीको दुरुपयोग हुने सम्भावना धेरै कम छ। यसमा नाम, राहदानी नब्बर, राष्ट्रियता, जन्म मिति, लिङ्ग, राहदानीको म्याद समाप्त हुने मिति, व्यक्तिगत परिचयपत्र नम्बर उल्लेख गरिएको हुन्छ।

एमआरपीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

१ – रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति

२ – नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि

३ – ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो २ प्रति

४ – राहदानी दस्तूर: अमेरिकी डलर १५० बराबरकोसम्बन्धित देशको मुद्रा

नाबालिगको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचय पत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सोको प्रतिलिपि। संरक्षक नियुक्त भएकोमा संरक्षक भएको ब्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि।

एमआरपीका लागि संलग्न गर्नु पर्ने फोटोको विवरण

१ – फोटोः ६ महिना भित्र खिचेको रंगिन

२ – आकारः ४५ मि.मी. ह ३५ मि.मी. (४.५ से.मी. ह ३.५ से.मी.)

३ – पृष्ठभूमिः सादा र हलुका रंग

४ – अवस्थिति(Pose) : पूर्ण रुपमा अगाडि फर्केको, दुवै कान देखिने, आंखाले क्यामेरा हेरेको, टाउको पूरा र काँधको केही भाग देखिने, छायां (Shadow) नदेखिने, रातो आंखा (Red eye) नभएको, साथमा अरु व्यक्ति नभएको, मुख बन्द भएको, चहकिलो रंगको लुगा नलगाएको

५ – स्वरुप (Image) को स्थिति अनुहारले ७० देखि ८० प्रतिशतसम्म फोटो ढाकेको।

६ – गुणस्तर प्रष्ट (Sharp focused), उच्च गुणस्तरको, नखुम्चिएको, मसी वा दाग धब्बा नलागेको, स्तरीय कागजमा तथा उच्च Resolution मा छापिएको।

७ – चश्मा प्रयोग गर्नु पर्ने भएमा : आंखा प्रष्ट देखिने, मसिनो फ्रेममा, प्रकाश परावर्तन (Reflection) नभएको तथा शिशा रंगीन नभएको

८ – शिरपोश : विशेष धार्मिक, सांस्कृतिक एवं स्वास्थ्य सम्वन्धी कारण वाहेक टाउको खुला हुनुपर्ने।

राहदानीको निवेदन फाराम भर्ने तरिका

(क) फारामको शिरमा राहदानीको लागि जुन कार्यालयमा निवेदन पेश गरिएको हो सो कार्यालयको नाम उल्लेख गर्नुपर्नेछ।

ख) राहदानी अङ्ग्रेजी भाषामा तयार गरिने हुनाले राहदानी माग गर्ने निवेदकले तोकिएबमोजिमको फाराम सकेसम्म टाइप गरी पेश गर्नु पर्नेछ। टाइप गर्न संभव नभएमा गाढा कालो मसिले बुझिने गरी फाराममा माग गरिएको सबै सूचना दिने गरी फाराम भर्नु पर्नेछ। फाराम भर्दा एक कोठा भित्र एक अक्षर मात्र पर्ने गरी सफा र शुद्धसँग अङ्गे्रजी ठूलो अक्षरमा भर्नुपर्नेछ। यदि स्पेस दिनु परेमा सो को लागि एक कोठा खाली छाड्नुपर्नेछ।

(ग) निवेदकको नाम, थर तथा ठेगानालाई अङ्ग्रेजी भाषामा लेख्दा हिज्जे फरक पर्न सक्ने हुँदा पुरानो राहदानी भएमा सो अनुसार र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित हिज्जेलाई ध्यान दिनुपर्नेछ।

(घ) राहदानीको निवेदन फाराममा १७ खण्डहरु रहेका छन। ती खण्डहरुलाई निम्नानुसार क्रमैसँग भर्नुपर्नेछ। फाराममा ८ चिन्ह दिइएका खण्डहरु अनिवार्य रुपमा भर्नुपर्नेछ।

(१) थर (Surname) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर लेख्नुपर्नेछ।

(२) नाम (Given Name) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नामको पहिलो र बीचको नाम लेख्नु पर्नेछ। उदाहरणका लागिः

पूरा नाम कृष्ण बहादुर थापा भएका निवेदकले थरमा Thapa र नाममा Krishna Bahadur लेख्नुपर्नेछ।

बिवाहित महिलालेआफ्नो माइती र पति दुवैको थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ। जस्तैः गीता कुमारी गौतम खनाल पूरा नाम भएकी निवेदकले थरमा Gautam Khanal नाममा Gita Kumari लेख्नु पर्नेछ। त्यस्तोमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

बिवाहित महिलाले आफ्नो माइती तर्फो मात्र थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ। तर पति तर्फो थर राख्न चाहेमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

(३) जन्मस्थान (Place of Birth) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्मस्थानको जिल्ला भर्नुपर्नेछ।

(४) राष्ट्रियता (Nationality) सम्बन्धी खण्ड भर्दा अङ्ग्रेजीमा NEPALESE भर्नु पर्नेछ।

५) (क) जन्ममिति (Date of Birt h) खण्ड भर्दा निवेदकले नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्ममिति बिक्रम सम्वतमा र त्यसलाई रुपान्तरण गरी इश्वी सम्वतमा समेत लेख्नु पर्नेछ।

विक्रम सम्वतबाट इश्वी सम्वतमा रुपान्तरण गर्दा ७ दिन सम्मको फरक परेमा सो को पुष्ट्याइ गर्ने प्रमाण पेश गरेमा सो बमोजिमको जन्ममिति राहदानीमा उल्लेख गर्न सकिनेछ। बिक्रम सम्वतबाट इश्वी सम्बतमा जन्ममिति रुपान्तरण गर्दा ३ दिन सम्म फरक परेमा त्यसको पुष्ट्याइ गर्ने थप प्रमाण पेश गर्नु पर्नेछैन।

माथिखण्ड (क) को अधिनमा रही जन्म मिति भर्दा S.L.C. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मिति र पहिले राहदानी लिइ सकेको भए त्यसमा उल्लिखित जन्म मितिलाई ध्यान दिनु पर्नेछ।

(६) लिङ्ग (Sex) खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित लिङ्ग भर्नु पर्नेछ।

(७) नागरिकता वा अनुमति नं. (Citizenship or Permit No.) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रको नम्बर भर्नुपर्नेछ।

(८) जारीमिति (Date of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ।

(९) जारी भएको स्थान (Place of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको नाम लेख्नुपर्नेछ।

(१०) पूरानो राहदानी वा यात्रा अनुमतिपत्र नं (Old Passport or Travel Document No.) सम्बन्धी खण्ड भर्दा पहिले राहदानी लिएको भए उक्त राहदानीको नम्बर, पहिले एक भन्दा बढी राहदानी लिएको भएमा पछिल्लो राहदानीको नम्बर उल्लेख गर्नुपर्नेछ।

१०A) जारी भएको मिति (Date of issue) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमति पत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ।

(१०B) जारी भएको स्थान (Place of Issue) (११) ठेगाना (Address) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको ठाउँ उल्लेख गर्नुपर्नेछ।

(११A-E) ११A देखि E सम्मका खण्ड भर्दा निवेदकको स्थायी ठेगाना भएको जिल्ला, नगरपालिका वा गा.वि.स., वडा नम्बर, टोल वा गाउँको नाम र घर नम्बररब्लक नम्बर भएमा सो समेत क्रमैसँग लेख्नुपर्नेछ। घर नम्बररब्लक नम्बर नहुनेले घर नम्बरको ठाउँ खाली छाड्न सकिनेछ।

(१२) इमेल (E-mail) सम्बन्धी खण्डमा निवेदकको सम्पर्क इमेल ठेगाना भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ।

१३) फोन नं. (Phone No.) सम्बन्धी खण्डमा निवेदकको फोन नं. भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ। आफ्नो फोन नभएमा परिवारका सदस्य वा नजिकका चिनजानका व्यक्तिको नम्बर दिन सकिनेछ।

(१४) आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको ( Next of Kin) खण्डमा निवेदक विदेशमा छँदा कुनै संकट परेमा खबर गर्न सकिने निवेदकको परिवारको सदस्य वा आफन्त वा मित्रको नाम र ठेगाना भर्नुपर्नेछ।

(१४A-G) १४A देखि १४G सम्मका खण्डमा निवेदक विदेशमा छँदा आपत परेमा खबर गर्ने व्यक्तिको पूरा नाम थर, ठेगाना, जिल्ला, गा.वि.स.रन.पा., वडा नं., टोलरगाँउ, घर नम्बर, समेत क्रमैसँग भर्नुपर्नेछ।

(१५) नाता (Relationship) सम्बन्धी खण्डमा आपत परेको बेलामा खबर गर्नुपर्ने व्यक्तिसँग निवेदकको के नाता पर्छ सो उल्लेख गर्नुपर्नेछ।

(१६) फोन नं.(Phone No.) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको फोन नम्बर भएमा सो लेख्नुपर्नेछ।

(१७) इमेल (E-mail) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको इमेल भएमा सो प्रष्टसँग लेख्नुपर्नेछ।

(१८) फारामको अन्त्यमा निवेदकको दायाँ र बायाँ बुढी औंलाको छाप प्रष्टसँग लगाउनुपर्नेछ। निवेदक को स ही (A pplicant’s Signature) सम्बन्धी कोठामा निवेदकले पूरा हस्ताक्षर गर्नुपर्नेछ। उक्त हस्ताक्षर डिजिटल प्रविधिबाट निवेदकको राहदानीमा राख्नुपर्ने हुँदा हस्ताक्षर पूरा र प्रष्ट नभएमा निवेदक स्वयं जिम्मेवार हुनुपर्नेछ। निरक्षर भएमा हस्ताक्षर गर्नुपर्ने बक्समा × चिन्ह लगाउनु पर्नेछ।

विदेशमा वसेका नेपालीले कसरी लिने एमआरपी ?

१. विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राहदानीको लागि नजिकको नेपाली नियोगमा निवेदन दिन सक्नेछन् ।

२. दफा (१) बमोजिम प्राप्त भएका निवेदनहरुलाई नियोगले नागरिकताको प्रमाणपत्रको सक्कल वा पूरानो राहदानीसँग भिडाइ निवेदकले भरेको फाराम नियमावली तथा यस निर्देशिका बमोजिम पूर्ण, प्रष्ट र बुझिने गरी भरे नभरेको रुजू गरी, रीत नपुगेको भएमा रीत पुर्‍याउन लगाउनुपर्नेछ।

३. नियमबमोजिम नयाँ राहदानी लिनुपर्दा वा म्याद समाप्त नभएको हस्तलिखित राहदानी बुझाइ मेसिन रिडेवल राहदानी लिन नियोगमा निवेदन दिँदा पूरानो राहदानीको सक्कलको अतिरिक्त नियोगको सम्बन्धित अधिकारीले निवेदकको नागरिकताको सक्कल प्रति पेश गर्न लगाउन सक्नेछ। त्यस्तो अवस्थामा आवश्यक देखिएमा उक्त नागरिकताको सत्यताबारे सम्बन्धित निकायबाट यकिन भएपछि मात्र राहदानी निवेदन उपर कारवाही अगाडि बढाउन सकिनेछ।

४. रीत पूर्वक प्राप्त निवेदनमा नियमावलीले तोकेबमोजिमको राजश्व बुझी एक प्रति रसिदरभौचर निवेदकलाई दिने, दोस्रो प्रति निवेदन फाराम साथ संलग्न राखी कार्यालयमा पठाउने र तेस्रो प्रति नियोगको फाइल अभिलेखमा राख्नुपर्नेछ।

५. दफा (२), (३) र (४) तथा नियमावलीको नियम ७ बमोजिम नियोग समक्ष परेको निवेदन फाराम साथ प्राप्त कागजात छानविन गर्दा राहदानी जारी गर्न मनासिव देखेमा सो को अभिलेख राखी फाराममा उल्लिखित विवरण प्रमाणित गरी सिफारिस सहित एक प्रति सक्कल निवेदन तोकिएबमोजिमको फोटो २ प्रति तथा निवेदन फाराम साथ संलग्न कागजपत्रको प्रमाणित प्रतिलिपि कूटनीतिक थैली मार्फत कार्यालयमा पठाउनुपर्नेछ।

६. दफा (२) वा (५) बमोजिम प्राप्त राहदानीको निवेदन उपर छानबिन गर्दा आवश्यक कागजात पर्याप्त नभएकोले निवेदकलाई राहदानी जारी गर्न उपयुक्त नहुने भएमा सो को जानकारी नियोगले निवेदकलाई निवेदन दर्ता गर्दाकै बखत दिनुपर्नेछ। निवेदन साथ आवश्यक कागजपत्र पेश नगरेको अवस्थामा निवेदकलाई चाहिने कागजपत्र पेश गर्न लगाउनुपर्नेछ।

७. नियोगले दफा (४) बमोजिम सिफारिस सहित निवेदन तथा कागजातहरु कार्यालयमा पठाउँदा राहदानीको लागि परेका निवेदन उपर छानविन समाप्त भएको मितिले सामान्यतया एक हप्ता भित्र पठाइसक्नु पर्नेछ। पठाउने समय तालिका नियोगमा प्राप्त निवेदन संख्या, उपलब्ध उडान तालिका समेतलाई ध्यानमा राखी नियोग स्वयंले निर्धारण गरेबमोजिम हुनेछ।

८. माथि उल्लेख गरेबमोजिम नियोगहरु मार्फत प्राप्त हुन आएका निवेदन उपर कार्यालयले मेशिन रिडेवल राहदानी तयार गरी कूटनीतिक थैली मार्फत सम्बन्धित नियोगमा पठाउनेछ। त्यसरी प्राप्त भएका राहदानीहरुमा नियोगको सम्बन्धित अधिकारीले जारी गर्ने अधिकारीको रुपमा आवश्यक दस्तखत गरी निवेदकलाई राहदानी जारी गरी भरपाइ फाइल संलग्न राख्नुपर्नेछ।

९. नियमावलीको नियम ११ को उपनियम (२) बमोजिम निवेदकले कार्यालयबाट नै राहदानी बुझिलिन चाहेमा निवेदकको पहिचान हुने विवरणको प्रतिलिपि लिई सम्बन्धित निवेदकलाई कार्यालयबाट राहदानी प्रदान गर्न सकिनेछ।

१०. केन्द्रीय राहदानी कार्यालय र नियोगहरु बीच नेटवर्किङ गरी विद्युतीय माध्यमबाट राहदानी निवेदन फाराम तथा अन्य सूचनाहरु संकलन गर्ने कार्य प्रारम्भ भएपछि त्यसको जानकारी सरोकारवाला सबैलाई दिइनेछ। विद्युतीय माध्यमबाट राहदानी निवेदन फाराम संकलन गर्ने सम्बन्धी कार्यविधि पछि तोकिएबमोजिम हुनेछ।

द्रुत सेवा सम्बन्धी व्यवस्था

१. निवेदकले उचित कारण उल्लेख गरी द्रुत सेवा मार्फत राहदानी पाउन सो को पुष्ट्याइँ हुने कागजपत्र समेत राखी दोब्बर दस्तूर तिरी निवेदन दिएमा कार्यालयले ७ कार्यदिन भित्र द्रुत सेवा मार्फत साधारण राहदानी जारी गर्न सक्नेछ।

२. निवेदकले पेश गरेको कागजपत्रका आधारमा द्रुत सेवा मार्फत राहदानी जारी गर्न सकिने वा नसकिने सम्बन्धित राहदानी अधिकृतले यकिन गर्नेछ।

३. खण्ड (१) बमोजिमको निवेदन साथ पेश गरेको कागजपत्रको आधिकारिकता सम्बन्धित निकायबाट छानबिन गराउँदा अन्यथा प्रमाणित भएमा वा छानबिन गर्न ३ दिन भन्दा बढी समय लाग्ने अवस्थामा निवेदकलाई द्रुत सेवा मार्फत राहदानी जारी गर्न सकिनेछैन।

४. द्रुत सेवा मार्फत राहदानी प्राप्त गर्न पेश भएका निवेदनहरुको छुट्टै लगत राखी राहदानी जारी गरिनेछ।

५. द्रुत सेवा मार्फत राहदानी पाउनका लागि कन्द्रीय राहदानी कार्यालयमा मात्र निवेदन दिन सकिनेछ।

राहदानी हराएमा के गर्ने?

१. राहदानी हराएको कारणले नयाँ राहदानी लिनुपर्दा माथि उल्लिखित कागजातको अतिरिक्त निम्नबमोजिमका कागजात समेत संलग्न गर्नुपर्नेछ :

(क) राहदानी हराएको पुष्टि हुनेगरी स्थानीय प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
(ख) हराएको राहदानी खोजतलासका लागि राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना,

३. राहदानी हराएको कारण नयाँ राहदानी जारी गर्नु पूर्व हराएको राहदानीको नम्बर र जसको नाममा राहदानी जारी गरिएको हो सोको सूचना नेपाल प्रहरी, नेपालस्थित इन्टरपोलको कार्यालय, अध्यागमन कार्यालय तथा नेपालस्थित विदेशी नियोगलाई दिएपछि मात्र नयाँ राहदानी जारी गर्न सकिनेछ।

३. राहदानी हराएको अवस्थामा राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन भएको मितिले ७ दिन पछि मात्र नयाँ राहदानीको लागि निवेदन दिन सकिनेछ। तर विदेशमा राहदानी हराई नियोग समक्ष नयाँ राहदानीका लागि निवेदन दिंदा यस दफाबमोजिम राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने छैन।

४. हराएको राहदानीको हकमा दोब्बर दस्तुर लाग्नेछ।

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।