Friday, October 24, 2014

भीमेश्वर मन्दिरका घन्ट र त्रिशुल कबाडीमा बेचिएपछि समिति र स्थानीयबीच विवाद

बिहीबार ६ कार्तिक, २०७१
रमेश खतिवडा
दोलखा— प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिरमा भक्तजनले चढाएका वर्षौं पुराना घन्ट र त्रिशूल मन्दिर व्यवस्थापन समितिले नियमविपरीत कबाडीमा बेचेपछि समिति र स्थानीयबीच विवाद बढेको छ।

श्रद्धापूर्वक चढाइएका तामा, पित्तल र फलामका त्रिशूल र घन्ट एक महिनाअघि पूजा तथा व्यवस्थापन
समितिले बेचेको थियो । मन्दिर स्थापनादेखिका तामा र पित्तलका ठूला घन्ट र त्रिशूल संरक्षण गर्नुसाटो बेचिएको भन्दै स्थानीयले पुरातत्व विभागमा उजुरी दिएका छन् ।

समितिले भने घन्ट र त्रिशूल राखिएको स्थान भासिँदै गएको र खियासमेत लागेकाले बेचेको बताएको छ । काम नलाग्ने वस्तुमात्र बेचेको समितिको दाबी छ । पुरातत्वले बेचिएका घन्ट र त्रिशूलबारे छानबिन सुरु गरेको छ ।

मन्दिर पसिरमा थुपारिएका पुराना घन्ट तथा त्रिशूलमा खिया लाग्दै गएको र बोझले मन्दिरको माथिल्लो भाग भासिएकाले व्यवस्थापन गर्न समितिले भीमेश्वर मन्दिर जग्गा तथा सम्पत्ति छानबिन जिल्लास्तरीय समितिमा प्रस्ताव राखेको थियो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले मन्दिरको सम्पत्ति खोजबिन गर्न प्रमुख मालपोत अधिकृतको संयोजकत्वमा उक्त समिति बनाइदिएका थिए । सम्पत्ति छानबिन समितिले भने त्रिशूल र घन्टको उचित व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पूजा व्यवस्थापन समितिले भदौ २८ गते सदरमुकाम चरिकोटको रामकिसु ट्रेडर्सलाई मन्दिर परिसरमा थुपारिएका घन्ट र त्रिशूल १ लाख ९५ हजारमा बेचेको थियो । नापतौलबिनै कौडीको भाउमा बेचेको स्थानीयको आरोप छ । 'मन्दिर स्थापनादेखिका ठूला घन्ट र त्रिशूल त्यहाँ थिए,' अधिवक्तासमेत रहेका स्थानीय श्यामकृष्ण मास्केले भने, 'पुरातत्व विभागको स्वीकृति लिएर र उसलाई पुराना वस्तुको अध्ययन गरी संरक्षण गर्न लगाएर बिग्रेका वस्तुको व्यवस्थापन गर्नुपर्नेमा भक्तजनले श्रद्धापूर्वक चढाएका चिज जबर्जस्ती बेचिएको छ,' उनले तत्काल सामान फिर्ता ल्याउनसमेत माग गरे ।

मन्दिरको उत्तरपश्चिमपट्टि रहेको समीको फेदमा भक्तजनले चढाएका त्रिशूल र घन्ट वर्षौंदेखि थुपारिँदै आएको थियो । त्यसरी थुपारिएका घन्ट र त्रिशूलको थुप्रोमा वर्षौंअघि चढाइएको त्रिशूल घन्टसमेत रहेको स्थानीयको दाबी छ । 'वर्षौंदेखिका ठूल्ठूला घन्ट र त्रिशूल बेचिएको छ, जुन एकपटक पुरातत्व विभागलाई अध्ययन गर्न दिनुपथ्र्यो,' स्थानीय इन्द्रलाल श्रेष्ठले भने । घन्टा र त्रिशूल खरिद गरेको रामकिशु ट्रेडर्सले भने कबाडीमा किनिएका तामा र पित्तलका सामान अन्यत्र सप्लाई गरिसकेको बताएको छ ।

मन्दिर पूजा तथा व्यवस्थापन समिति अध्यक्ष जीवन श्रेष्ठले प्रक्रिया पुर्‍याएरै घन्ट र त्रिशूल बेचेको दाबी गरे । 'प्रक्रिया पुर्‍याएरै बेचेका हौं,' उनले भने । उनले पुराना र काम लाग्ने त्रिशूल र घन्ट नबेचेको दाबी गरे । बेचिएको रकमबाट मन्दिरको मूलढोकामा चाँदीको लेप लगाइनेसमेत बताए ।

समिति कोषाध्यक्ष भरतबहादुर श्रेष्ठले घन्ट र त्रिशूल थुपारिएको स्थान भासिएर पहिरो जाने खतरा रहेका कारण बेचिएको दाबी गरे । 'पुरातत्वको स्वीकृत नलिनु त्रुटि भयो होला तर नबेची राख्दा भासिएर पहिरो जाने डर भयो,' उनले भने ।

पूजा व्यवस्थापन समितिका प्रमुख संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बेचिएका घन्ट र त्रिशूल फिर्ता गर्न समितिलाई निर्देशन दिएका छन् । 'विवाद र गुनासो बढेपछि समितिले बचेको कवाडी पसलमा बाँकी रहेका सामान फिर्ता गर्न निर्देशन दिइसकेको छु,' उनले नागरिकसँग भने ।

भीमेश्वर मन्दिरको पूजा व्यवस्थापन समितिमा प्रमुख जिल्ला अधिकारी प्रमुख संरक्षक तथा स्थानीय विकास अधिकारी, जिल्लाका प्रहरी प्रमुख, मालपोत कार्यालयका प्रमुख र भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत संरक्षक हुने व्यवस्था छ ।
- /nagariknews.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।