Sunday, November 23, 2014

दोलखामा मंसिर ११ बाट तथ्यङ्क संकलन सुरू

माथिल्लो तामाकोशी जलविद्युत आयोजना :
मंसिर ११ देखि स्थानीयको तथ्याङ्क संकलन

कारोबर सम्बाददाता
दिलबहादुर केसी-दोलखा, ६ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर लगानीका लागि मंसिर ११ बाट तथ्याङ्क संकलन सुरु हुने भएको छ । सेयर लगानीका लागि जिल्लाभरका नागरिकको स्पष्ट
तथ्याङ्क लिएर मात्र स्थानीयका लागि सेयर निष्कासन गर्न जिल्ला स्तरीय संयन्त्रमा भएका दलका नेताहरुले अडान लिएपछि जिविसले तथ्याङ्क संकलन गर्न लागको हो ।

तथ्याङ्क संकलनका लागि जिल्ला विकास समिति दोलखाले फाराम डिजाइन पूरा गरी जिल्लास्तरीय संयन्त्रमा छलफल गराइ सुझाव समेत लिइ सकेको छ । जिल्लास्तरीय संयन्त्रका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी विजयराज सुवेदीले तथ्याङ्क संकलनका लागि फाराम तयार गरी छपाइका लागि प्रेसमा पठाईसकेको जानकारी दिए । २ दिन फाराम छपाइको समय राखेर मंसिर ९ गतेदेखि विभिन्न समूहमा एक दिने गाविस सचिव र सामाजिक परिचालकहरुलाई अभिमुखिकरण गराएर मंसिर ११ देखि फिल्डमा तथ्याङ्क संकलनको काममा खटाउने तयारी भएको उनले जानकारी दिए ।

तथ्याङ्क संकलनका लागि संकलकहरु हरेक घरघरमा पुगेर पारिवारिक सबै किसिमको जानकारी लिने व्यवस्था गरेको छ । जिविसले तथ्याङ्क संकलनका लागि गाविस सचिव र सामाजिक परिचालकहरुलाई परिचालन गर्ने तयारी गरेको छ । गाविसमा अधिकतम ३ जना र नगरपालिकाको एक वडामा एक जना संकलक खटाउने उनले बताए । त्यसको अनुगमनका लागि जिविसका अधिकृतहरुको नेतृत्वमा उपसमितिहरु समेत तयार गरिएको उनले बताए । पुस ५ सम्म तथ्याङ्क संकलन गर्ने र पुस मसान्तसम्म छुट तथा उजुरी समेत गर्ने समय राखेर सम्पूर्ण तथ्याङ्कको अन्तिम प्रतिवेदन तयारी गर्ने समय तालिका तयार भएको जिविस ऊर्जा डेक्सका सम्पर्क व्यक्ति जगदीश अर्यालले जानकारी दिए ।

स्थानीयको तथ्याङ्क संकलनपछि माघबाट आयोजनाको सेयर निष्कासनका लागि नागरिक लगानी कोषलाई सहज हुनेछ । आयोजनाको सेयरको मोडालिटी निर्धारण समन्वय समितिमा रहेका दलका नेताहरु बीच नै लामो समयदेखि सहमति हुन नसक्दा सेयर निष्कासन तथा बाँडफाँडमा ढिलाइ भएको छ । संयन्त्रले स्थानीयलाई बराबर सेयर लगानीको अवसर दिने निर्णय गरेको छ । संयन्त्रमा जिल्लाका सभासदहरु र दलका प्रमुखहरु सदस्य छन् ।

आयोजनाको सेयर दसैं अघि नै निष्कासनका लागि निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले तयारी गरे तापनि दलका नेताहरुकै बैठकैपिच्छेका निर्णयले पछि धकेलिएको छ । आयोजनाको सेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा डेढ वर्ष अधि नै नागरिक लगानी कोषलाई नियुक्त गरेको हो । कोष आयोजनामा ऋण र सेयर लगानीकर्ता समेत हो । कोषले आयोजनामा २ अर्ब ऋण लगानी गरेको छ भने २ प्रतिशत सेयर रहेको छ ।

“देशको आकर्षक आयोजनामा कोही पनि दोलखाली सेयर लगानीबाट छुट्नु हुँदैन” संयन्त्रका सदस्य समेत रहेका एनेकपा माओवादी नेता बिशाल खड्काले भने “दलालहरुबाट बचाउन र एकादुई हुनेखानेले मात्र सेयर कब्जा हुनबाट सबैलाई दामासायीले बितरण निर्णय गरेका हौं ।” विदेमा बस्नेले समेत बसेकै ठाउँबाट फाराम डाउनलोड गरेर भरेर पठाउने व्यवस्था मिलाएको उनले बताए ।

आयोजनामा स्थानीयलाई लगानीका लागि दोलखाबासीलाई १० प्रतिशत शेयर सुनिश्चित गरेको छ । जिल्लाबासीले पाउने कुल शेयर मध्येबाटै छुट्याएर लामाबगरबासीलाई ४ करोड २३ लाख बराबरको सेयर दिने निर्णय गरेको छ । आयोजनाबाट प्रभावित जिल्लावासीले जारी पूँजीको १० प्रतिशत स्थानीयले १ करोड ५ लाख ९० हजार कित्ता शेयर पाउने छन् । २०६८ को जनगणना अनुसार दोलखा जिल्लाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ रहेका छन् भने लामाबगरको १ हजार ८ सय ७ रहेको छ ।

आयोजनाको शेयर संरचनाअनुसार नेपाल विद्युत प्राधिकरण ४१%, नेपाल टेलिकम ६%, नागरिक लगानी कोष २%, राष्ट्रिय विमा संस्थान २%, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु १७ दशमलब २८%, सर्वसाधारण १५%,  आयोजनामा ऋण लगानीकर्ता संस्थाका कर्मचारी २ दशमलब ८८%, कम्पनी र विद्युत प्राधिकरण कर्मचारी ३ दशमलब ८४% र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत शेयर हुनेछ ।
  copied by  karobardaily

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।