Sunday, May 22, 2016

कृषकलाई खुशीको खबर: अब हातहातमै कृषिका सम्पूर्ण जानकारी !

वि.सं २०७३ जेष्ठ ०९  संवाददाता
दोलखा, ९ जेठ – कृषकलाई प्राविधिक तथा बजारको जानकारी दिने ‘कृषि घर’ एप्स सार्वजनिक गरिएको छ । कृषकलाई प्रविधिसँग जोड्न यो एप्स ल्याइएको हो । कृषि मन्त्रालय कृषि विभागअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रले एप्स ल्याएको हो ।
अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइ किसान समूहबीच हस्तान्तरण गर्न एप्स उपयोगी भएको बताइएको छ । यसमा सम्भावना र समस्याबारे किसानलाई जानकारी दिने व्यवस्था गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)का एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापन र आईसीटी इन एग्रिकल्चर नेपालको सहयोगमा उक्त एप्स किसान माझ ल्याइएको हो ।

किसानले हातैमा सम्पूर्ण जानकारी पाउने र समस्या आफैं पत्ता लगाउन सक्ने प्रविधि यो कृषि घरमा राखिएको यूएनडीपीका वरिष्ठ आयोजना अधिकृत दीपक केसीले जानकारी दिए । चरिकोटमा जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले एप्स उद्घाटन गरे ।
कृषक घर एप्सबारे जिरी प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनरत विद्यार्थीलाई पनि जानकारी गराइएको छ । यूएनडीपीका वरिष्ठ आयोजना अधिकृत केसीले परीक्षणका रूपमा चितवन र सिन्धुपाल्चोकमा एप्स सञ्चालन गरिए पनि परिस्कृत रूपमा भने पहिलो पटक दोलखामा सार्वजनिक गरेको बताए ।

आयोजनाले पहिलो चरणमा नेपालका सात जिल्लामा यसलाई प्रयोगमा ल्याइने जनाएको छ । यसपछि देशव्यापी गर्ने योजना रहेको केसीले बताए । अहिले दोलखा, चितवन, सिन्धुपाल्चोक, सुर्खेत, धादिङ, स्याङ्जा र काभ्रेमा प्रविधि लैजाने गरी काम भइरहेको छ ।

कृषि घर मोबाइल एप्स विभिन्न क्षेत्रमा किसानले आफ्नै मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले एप्समार्फत् ७५ वटै जिल्लाका महत्वपूर्ण गतिविधि र जानकारीसमेत पाउन सकिने भएकाले कृषकको साथी नै हुने बताए । आयस्रोत वृद्धि गरी किसानको जीवनस्तर उकास्न यो प्रविधि सहयोगी हुने विज्ञहरूले बताएका छन् ।

कसरी प्रयोग गर्ने ?
यो एप्स प्रयोग गर्न निकै सरल छ । एनड्रोइड मोबाइल भएका किसानले आफ्नो मोबाइलमा प्ले स्टोर एप्स खोल्ने । त्यसमा कृषि घर टाइप गरी सर्च गर्ने र डाउनलोड गर्ने । त्यसमा क्लिक गरेपछि मुख्य मेनु खुल्छ । त्यसमा ‘गृह पृष्ठ’, ‘जानकारीहरू’ र ‘मेरो कृषि’ तीनवटा अप्सन दिइएको हुन्छ ।

‘गृह पृष्ठ’मा विभिन्न जानकारी, मौसम, कृषि डायरी, नयाँ जानकारी, तरकारी मूल्य, कृषि समाचार, जानकारी प्रदायक संस्था, सफलताका कथालगायतका विषय राखिएको छ ।

यस्तै, ‘जानकारीहरू’मा प्रशिक्षण, तालिम, विभिन्न तरकारी खेती, रोग किराबारे जानकारी लिन सकिनेछ । बाली लगाउने तरिका र विभिन्न जानकारीमूलक विषय पनि यहाँ समावेश गरिएको छ ।

किसानलाई आवश्यक कुनै सूचना नभए एप्समार्फत प्राविधिकलाई प्रश्न गर्न सक्ने व्यवस्था गरिएको छ । यसको जवाफ किसानले मोबाइलमै पाउँछन् ।
-aawajonline वाट साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।