Wednesday, May 4, 2016

पुरानो बसपार्क खुलामञ्चमा सर्याे, २९ तले भवनको निर्माण भोलिदेखि सुरु

सुदिल पोखरेल काठमाडौं, वैशाख २२
२९ तले भवन निर्माणको लागि पुरानो बसपार्क खुलामञ्चमा सरेको छ। बसपार्क खुलामञ्चमा सरेपछि भोलिदेखि जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले भवन निर्माण कार्य सुरु गर्ने भएको छ ।

तर आवश्यक तयारीबिना पुरानो बसपार्क खुलामञ्चमा सार्दा ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको छ। बसहरुको लागि लेनको व्यवस्था छैन। जसका कारण अस्तब्यस्त रुपमा सार्वजनिक सवारी साधन पार्किङ गरिएको छ।

जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिका प्रमुख मनोज भेटवालले खुलामञ्चमा शौचालय, चमेना गृह तथा प्रतिक्षालयको निर्माण गर्न लागिएको बताएका छन्। बसपार्कमा भवन निर्माण थाल्ने भएपछि जलेश्वरले ७ करोड खर्च गरी खुलामञ्चमा बसपार्कको व्यवस्था गरिदिएको छ। खुलामञ्चको आधा भागमा पिच गरिएको छ। तर सवारी साधन पस्ने र निक्लने ठाउँ साघुरो भएका कारण ट्राफिक व्यवस्थापनमै असर परेको छ।

भेटवालले भने ‘भोलिदेखि निरन्तर निर्माणको काम सुरु गर्छाैँ, तारबार तथा बागबजार जाने बाटो छुट्टाए पश्चात ८ देखि १० दिन भित्रमा भवनको नै निर्माण सुरु हुन्छ।’ सवारी साधनको फ्लो अनुसार लेन निर्धारण गर्ने सोचका साथ बुधबार नै बसपार्क स्थानान्तरण गरेर परिक्षण गरेको उनले बताए। साथै उनले बिहिबार देखि लेनको समेत निर्माण गर्ने बताएका छन्।

अस्तव्यस्त रुपमा गाडी पार्किङ भएका कारण यात्रु भने आफ्नो गन्तव्यका सवारी साधन नभेटेर हैरानीमा परेका थिए। दोलखाका ७२ वर्षीय ज्ञानेन्द्र बहादुर कार्कीले खुलामञ्चमा आप्mनो घर जाने गाडी १ घन्टादेखि खोजेको तर नपाएको बताए।

उनले भने ‘पहिलेको ठाउँमा कहाँ हो भनेर ठ्याक्कै थाहा थियो तर यहाँ त कहाँ हो कहाँ, कताबाट भित्र पस्ने र गाडी खोज्ने भन्ने नि थाहा भएन जताततै गाडी छ छिर्ने ठाउँ नै छैन, गाडी खोज्न जाँदा किचिएर मरिएला भन्ने डर।’

यता बसपार्क सरेसँगै पुरानो बसपार्कका व्यापारीको व्यवसाय भने सुकेको छ। कतिपय त खुलामञ्चमा सरीसकेका छन्। सानो बसापार्क क्षेत्रमा फुटपाथ व्यापारीका कारण बसपार्क झनै अव्यवस्थित भएको छ।

२९ तले बन्ने भनिएको काठमाडौं टावरको नक्सा पास भने १२ तलाको मात्रै छ। मापदण्ड नभएका कारण काठमाडौं टावरको भवन निर्माण आचारसंहिता अनुसार १२ तलाको मात्रै नक्सा पास पाएको  काठमाडौं महानगरपालिका बताउँछ।

 तर भेटवाल भने एक हप्ताभित्रै क्याबिनेटबाट २९ तला नक्सा पासको निर्णय हुने बताउँछन्। गत कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले यो भवनको शिलान्याश गरेका थिए।
जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिले २९ तले निर्माण गर्न पाउने आशमै निर्माण कार्य थालनी गर्न लागेको छ।

काठमाडौं महानगरपालिकाका अनुसार काठमाडौं टावर १ अर्ब ७५ करोडको लगानीमा निर्माण हुन लागेको हो। पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा बन्न लागेको यो टावर ३० वर्षपछि भने महानगरपालिकाको सम्पत्ति बन्ने भएको छ।

यो भवन सञ्चालन गर्दासम्म जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रा.लिले महानगरपालिकालाई वार्षिक रुपमा २ करोड ७० लाख रुपैयाँ बुझाउने गरी सम्झौता भएको छ। तर यो सम्झौता २९ तले भवनको लागि  मात्रै हो।

महानगरपालिकाले काठमाडौं टावरको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रा.लि.लाई ३ वर्षको निर्माण अवधि तोकिदिएको छ। निर्माण पश्चात कम्पनीले २७ वर्षसम्म सञ्चालन गर्न पाउने छ।

२९ तले भवनमा २ तला अण्डर ग्राउण्ड हुनेछ। ३ वटा तलामा बस, माइक्रो तथा मोटरसाइकल पार्क गरिने छ। सबैभन्दा तलको अण्डरग्राउण्डमा ठूला बस, १ तला अण्डरग्राउण्ड र पहिलो तलामा  गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गर्ने महानगरपालिकाको योजना छ।

पुरानो बसपार्क क्षेत्रको ४० प्रतिशत क्षेत्रमा मात्रै यो टावर बन्ने छ भने ६० प्रतिशत क्षेत्र खुला रहने छ।
setopati मा खवर छ 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।