Wednesday, June 1, 2011

सबैभन्दा सस्तो कार 'नानो' दुई महिनाभित्र नेपाली उपभोक्ताले किन्न पाउने


सुशील भट्टराई, काठमाडौं, जेठ १८ - वहुप्रतीक्षित सबैभन्दा सस्तो कार 'नानो' दुई महिनाभित्र नेपाली उपभोक्ताले किन्न पाउने भएका छन्। यो कारलाई बुधबार काठमाडौंमा सार्वजनिक गरिँदैछ।





भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानोको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो। कम्पनीले बुधबार विशेष कार्यक्रम गरी नानोलाई नेपाली सडकमा गुडाउने छ। सिप्रदीका अध्यक्ष सिद्धार्थ समसेर जबराले झन्डा फहराएर नानो गाडीको औपचारिक उद्घाटन गर्नेछन्।
संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कारलाई सिप्रदीले एक साताअघि काठमाडौं ल्याएको हो। कम्पनीले वीरगन्जसम्म कन्टेनरमा र त्यहाँबाट कुदाएर काठमाडौंको टेकुस्थित आफ्नो सोरुमसम्म ल्याएको थियो।
'दुई महिनाभित्र नेपालीले नानो किन्न पाउँछन्,' स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'नेपालका बाटोमा नानो प्राविधिक रूपमा टिक्दैन भन्ने धारणालाई गलत साबित गर्न दुई थान नानो बजारमा कुदाउन लागिएको हो।'
नानोका तीन थरी मोडल छन्। सबैभन्दा सस्तोलाई नानो, मध्यमलाई नानो सिएक्स र सबैभन्दा महँगोलाई नानो एलएक्स नाम दिइएको छ। भारतमा नानोको मूल्य १ लाख ५० हजार, नानो सिएक्सको १ लाख ८० हजार र नानो एलएक्सको २ लाख १० हजार रुपैयाँ पर्छ। 'तीनै थरी नानो नेपाली बजारमा उपलब्ध हुनेछन्,' स्रोतले भन्यो।
नेपाली बजारमा आउँदा नानोको मूल्य ८ लाख १६ हजार, नानो सिएक्सको ९ लाख ७९ हजार २ सय र नानो एलएक्सको ११ लाख ४२ हजार ४ सय रुपैयाँ पर्छ। भारतीय मूल्यमा सबै किसिमका कर (२ सय ४० प्रतिशत) जोडेर नेपाली रुपैयाँमा निकालिएको हो। यी मूल्यमा नानो बिक्री गर्ने नेपालस्थित आधिकारिक बिक्रेताको नाफा जोडिएको छैन।
'यहाँ ल्याइएको दुई नानोलाई एक महिना मेचीदेखि महाकालीसम्म सडकमा कुदाइन्छ,' स्रोतले भन्यो, 'तराई होस् वा पहाड, त्यहाँका हिलो, धुलो, कच्ची, ग्राभेल, पक्की जस्तोसुकै सडकमा नानो कुद्नेछ।'
स्रोतका अनुसार नानोलाई नेपाली सडकमा एक महिनाभित्र १० हजार किलोमिटर कुदाइन्छ। ३५ दिनपछि पुनः दुवै नानोलाई थप ३५ हजार किलोमिटर कुदाउने योजना छ। 'यो बजार प्रबर्द्धनको रणनीति हो,' सोतले भन्यो।
बुधबार टेकुस्थित सोरुमबाट दुई नानोलाई त्रिपुरेश्वर हुँदै शहिदगेट, न्युरोड, रत्नपार्क, जमलबाट दरबारमार्गसम्म कुदाउने कार्यक्रम छ। 'यो नेपाली बजारमा नानो आउँदैछ भन्ने संकेत हो,' स्रोतले भन्यो।
नानोमा चार सिट छन्। यसको इन्जिन क्षमता ६ सय २४ सिसी रहेको छ। दुई सिलिन्डर रहेको नानो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। यसमा पाँच गियर हुन्छ। नानोको अगाडि र पछाडि दुवै पाङ्ग्रामा ड्रम ब्रेक छन्। पाङ्ग्रा ट्युबरहित छन्।
भारतीय बजारमा सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु रंगमा उपलब्ध छ। नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध छ।
हिटरसहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्नेलगायत विशेषता नानोमा छन्।
नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्र्युजन बिमलगायत सुरक्षा सुविधा छन्।
टाटा मोटर्सले मंगलबार श्रीलंकामा नानो बिक्री सुरु गरेको छ। टाटाले त्यहीँबाट नानोको अन्तर्राष्ट्रिय बिक्री सुरु गरेको हो। सस्तो नानोका मूल्य श्रीलंकामा ९ लाख २५ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य भारतभन्दा तीन गुणा बढी हो। तत्कालका लागि ५ सय नानो पठाइएको श्रीलंकामा एकमुष्ठ १ लाख रुपैयाँ बुझाउनेले दुई साताभित्र कार पाउँछन्।

copy right    from   nagarik   news

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।