Thursday, June 9, 2011

सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा महिलालाई पठाउन खुला गरेको छ


काठमाडौं, २५ जेठ
सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा महिलालाई पठाउन खुला गरेको छ । महिलाहरू बढी पीडित भएको भन्दै सरकारले एक दशकदेखि यसमा रोक लगाएको थियो ।

प्रतिबन्ध लगाएको अवस्थामा पनि भारतको बाटो हँुदै गैरकानुनी ढंगबाट महिला कामदार जाँदा झन् असुरक्षित हुने क्रम बढ्दै गएपछि घरेलु कामदारसम्बन्धी मापदण्ड बनाई खुला गरिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
अहिले कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरबमा खुला गर्ने निर्णय गरिएको छ । कुवेतस्थित नेपाली दूतावासको सुझावका आधारमा महिला कामदारलाई त्यहाँ यसअघि नै खुला गरिसकिएको छ ।
घरेलु कामदारको न्यूनतम तलब, बिमा, रोजगारदाता कम्पनीको आर्थिक अवस्था, सुरक्षित बासस्थान, रोजगारदाता कम्पनीको सामाजिक आधार, सुरक्षाको प्रत्याभूति र नियमित सम्पर्कको ग्यारेन्टी हुनुपर्ने प्रावधान राखिएको मन्त्रालयले जनाएको छ । यसबारे छिटै सम्बन्धित दूतावासमा जानकारी पठाइने एक अधिकारीले बताए । “त्यही मापदण्डका आधारमा दूतावासबाट मागपत्रमा प्रमाणीकरण गर्नुपर्छ, त्यसपछि मात्र नेपालबाट वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन्छ,” उनले भने ।
दूतावासले रोजगारदाताको सामाजिक, आर्थिक आधारका साथै पारिवारिक विवरण, पेसा र आफू कार्यरत संस्थाको स्पष्ट आधार बुझेर मात्र मागपत्र प्रमाणीकरण गर्नुपर्छ । कामदारको औषधि उपचार, दैनिक आठ घण्टामात्र काम, सातामा एक दिन बिदा, कानुनी सहायता र शौचालयको व्यवस्थालगायतका ग्यारेन्टी रोजगारदाताले दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
यी मापदण्डसहित कतारमा न्यूनतम मासिक पारिश्रमिक १ हजार रियाल (२० हजार रुपैयाँ), यूएईमा ९ सय रियाल (१८ हजार रुपैयाँ) र साउदी अरबमा ९ सय रियाल निर्धारण गरिएको छ । अविवाहित पुरुषले महिलालाई घरेलु कामदार राख्न नपाउने व्यवस्था गरिएको छ ।
कुवेतमा कामको प्रकृतिअनुसार फरक–फरक तलब निर्धारण गरिएको छ । ‘हाउस मेड’ र ‘हाउस ब्वाई’ का लागि ५० दिनार (१२ हजार रुपैयाँ), कुकका लागि ६० दिनार (१५ हजार रुपैयाँ) र ड्राइभरका ७५ दिनार (१८ हजार ७ रुपैयाँ) न्यूनतम मासिक तलब तोकिएको छ । त्यस्तै, घरेलु सुरक्षा गार्ड १ सय दिनार (२५ हजार रुपैयाँ) र गार्डेनरको ७० दिनार (१७ हजार ५ सय रुपैयाँ) न्यूनतम मासिक तलब निर्धारण गरिएको छ ।
साउदी अरब, कतार र यूएईको श्रम ऐनभित्र घरेलु काम नपर्ने हुँदा बिमाको व्यवस्था गर्न नसकिने त्यहाँस्थित नेपाली दूतावासहरूले बताएका थिए । “तर मन्त्रालयले अनिवार्य रूपमा घरेलु काममा बिमाको व्यवस्था हुनुपर्ने नियम बनाएको छ,” स्रोतले भन्यो, “त्यो नभए कामदार पठाउन नसकिने मापण्डमा उल्लेख छ ।” बिमा नहुँदा नेपाली महिला कामदारहरू विभिन्न समस्याबाट ग्रस्त भई फर्कने र घरपरिवार तथा समाजबाट टाढिनु पर्ने बाध्यता थियो ।
यसअघि खाडी मुलुकमा महिला कामदारहरू यौनशोषणमा पर्ने, साहुको कुटाइ खाने, पीडा सहन नसकेर आत्महत्या गर्ने, एजेन्टबाट ठगी हुने, घरमा सम्पर्क गर्न नपाउने, न्यून तलब दिने र चाहेको समयमा घर फर्कन नपाउने भएकाले सरकारले ती मुलुकमा जान रोक लगाएको थियो ।
खाडी मुलुकमा महिला कामदारलाई प्रतिबन्ध लगाए पनि जाने क्रम भने रोकिएको थिएन । दलालमार्फत ठगिने तथा विदेशमा अलपत्र हुने क्रम झनै बढेको थियो । सम्बन्धित देशका नेपाली दूतावासले दिएका जानकारीका आधारमा साउदी अरबमा ७० हजार, कतारमा ३० हजार, ओमानमा ११ हजार, यूएईमा ११ हजार र बहराइनमा २ हजार महिला कामदार छन् ।

copy right from
www.karobardaily.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।