Saturday, July 2, 2011

२८ करोडको एअरपोर्ट रनवे (फोटो फिचरसहित)


सुशील भट्टराई, काठमाडौं, असार १६- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार महिनाअघि मात्रै करोडौं खर्च गरेर कालोपत्रे गरिएको धावनमार्ग ठाउँ-ठाउँमा भत्किएपछि अस्थायी मर्मत गरेर जहाज उडान र अवतरण भइरहेको छ। तीन महिनाअघि सञ्चालनमा आएको हेलिप्याड हेलिकप्टर राख्नै नमिल्नेगरी भत्किएको छ। यसको मर्मतसम्भार गरिएको छैन।
बुधबार धावनमार्ग निरीक्षण गर्न गएका सार्वजनिक लेखा समितिका सदस्य सभासद्हरूले 'सडक विभागले ठाउँ-ठाउँमा सडक टालेजस्तो गति भएको' भन्दै विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई हप्काए।



अन्तर्राष्ट्रिय विमानस्थलका अतिसंवेदनशील क्षेत्र मानिने धावनमार्ग र हेलिप्याड 'महानगरपालिकाको आँखै नपरेको काठमाडौंका ध्वस्त सडकजस्तै दुर्दशा भएछ' भन्ने उनीहरूको प्रतिक्रिया थियो।
आन्तरिक र अन्तर्राष्ट्रिय गरी दिनहुँ औसत तीन सय जहाज उडान र अवतरण गर्नुपर्ने धावनमार्गको मध्यभागै भत्किएको छ। यसले केही समययता आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पटकपटक घन्टौं अवरुद्ध हुन थालेका छन्। धावनमार्गलाई पहिलेभन्दा ४ देखि ७ सेन्टिमिटर बाक्लो बनाएर कालोपत्रे गरिएको दाबी गरिएको छ। त्यस्तै, हेलिप्याड ४५ सेन्टिमिटर ग्राभेल र त्यसको माथि १५ सेन्टिमिटर ढुंगा र ५ सेन्टिमिटर कालोपत्रे गरिएको दाबी छ।
लेखा समितिका सभापति रामकृष्ण यादवको नेतृत्वमा १२ जना सभासद् बिहानै निरीक्षणमा पुगेका हुन्। उनीहरूले बिहान साढे ८ बाट ९ बजेसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडान रोकी र अवतरण गर्न आएकालाई पनि आकासमै 'होल्ड' गर्न लगाई निरीक्षण गरेका थिए।
'यस्तो संवेदनशील ठाउँमा पनि यति ठूलो हेल्चेक्र्याइँ कसरी भयो?' सभासदहरूले आफूसँगै आएका कर्मचारीलाई प्रश्न गरे, 'निर्माणका बेला प्राधिकरण, आयोजना कार्यालय र विमानस्थल व्यवस्थापनको अनुगमन नपुगेको हो कि?'
नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूले भने 'मध्यरातमा काम गर्नुपर्ने, वर्षातको मौसम र जहाजको चाप'ले समस्या आएको जवाफ दिए।
'ठेकेदार कम्पनीलाई पुनर्निर्माण गर्न भनिसकिएको छ,' विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले भने, 'वास्तविकता पत्ता लगाउन उच्चस्तरीय छानबीन समिति बनाएका छौं।'
यस्तो जवाफ सुनेर सभासद् प्रकाशचन्द्र लोहनीले सोधे, 'यस्तो कामबाट तपाईं सन्तुष्ट हुनुहुन्छ?' सुमनको उत्तर आयो, 'म सन्तुष्ट छैन। हामी छानबीन गर्दैछौं।'
सभासद् लोहनीले धावनमार्ग भत्किएका बेला ठूला जहाज अवतरण गर्दा दुर्घटना भएको भए जिम्मेवार को हुने भन्दै अधिकारीहरूलाई हप्काए। 'त्यस्तो घटना भएको भए नेपाल पर्यटन वर्ष त कता हो कता देशकै बदनाम हुन्थ्यो,' उनले भने।
अर्का सभासद् नारायणप्रसाद दाहालले पनि कड्किँदै भने, 'ठेकेदारले यस्तो प्रकृतिको काम गर्ने आँट कसरी गर्‍यो? यो सरासर बदमासी हो।'

उनले अन्तर्राष्ट्रिय मापदण्ड पुगे पनि गुणस्तर नभएको प्रष्ट देखिएको बताए। 'यस्तो गम्भीर निर्माणका काममा पनि इन्जिनियर र ठेकेदार अभ्यास गर्न आएजस्तो देखियो,' उनले भने।
सभासद् धनराज गुरुङले प्राधिकरण र विमानस्थलले काम राम्रो भने पनि ठेकेदारको नियत खराब भएको उल्लेख गरे। 'हेलिप्याडको हालत धान रोप्न ठिक्क पारेको खेतजस्तो छ' भन्दै गुरुङले दुई हातले कालोपत्रे उक्काएर विमानस्थलका अधिकारीहरूलाई देखाएका थिए।
उनले कालोपत्रे भकाभक हातले उक्काउँदै विमानस्थल कर्मचारीलाई भने, 'खै खन्ती दिनुस् त, तपाईंहरूले कति बाक्लो कालोपत्रे गर्नुभएको रहेछ खनेर हेर्नुपर्‍यो।'
सभापति यादव र लोहनीले हाँस्दै भने, 'हैन, हैन छोड्दिनुस्। इन्जिनियरहरूको टोली नै ल्याएर अनुसन्धान गर्नुपर्छ। तपाईंले खनेर मोटाइ नाप्न सक्नुहुन्न।'
त्यसपछि गुरुङले 'ल सभापतिज्यू नै त्यसो भन्नुहुन्छ भने ठीकै छ' भनेका थिए।
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २०६६ कात्तिकमा पुनः कालोपत्रे सुरु गरी २०६७ माघ २१ मा सकिएको हो। त्यसयता कालोपत्रे उक्किएर चारचोटि टाल्ने काम भइसक्यो। विमानस्थलको उत्तरी भागबाट २ हजार १ सय मिटर दक्षिणतर्फ र दक्षिणी भागबाट ९ सिय मिटर उत्तरतर्फको धावनमार्गको ५० मिटर क्षेत्रको कालोपत्रे कम्तीमा २२ ठाउँमा उक्किएका छन्। त्यहाँ टालटुल पारेर काम चलाइएको छ।
यही मंगलबार धावनमार्गको मध्यभाग भत्किएपछि बिहान ८ देखि ११ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकिएका थिए। विमानस्थल सम्बद्ध अधिकारीका अनुसार स्पाइस जेट, चाइना इस्टर्न एयर, जेट एयरवेज र इन्डियन एयरलाइन्स यहाँ अवतरण गर्न नसकी 'डाइभर्ट' भएका थिए।
भारतको नयाँदिल्लीबाट आएको स्पाइस जेट पुनः दिल्ली, चीन कुन्मिङबाट आएको चाइन इस्टर्न ढाका, दिल्लीबाट आएको इन्डियन एयरलाइन्स दिल्लीमै र दिल्लीबाटै आएको जेट एयरवेज लखनऊ डाइभर्ट भएको थियो। आन्तरिकतर्फ बुद्ध एयर र यती एयरलाइन्सका दुई-दुई तथा सीता एयरको एक उडान यहाँ बस्न नसकी काठमाडौं बाहिर फर्किएका थिए।
धावनमार्ग पहिलोचोटि भत्किएको जेठ १९ गते हो। त्यतिखेर कालोपत्रे गरेको चार महिना पनि बितेको थिएन। त्यसपछि जेठ २३, जेठ २९ र असार ७ मा फेरि भत्कियो।
धावनमार्ग पुनः कालोपत्रे गर्न नागरिक उड्डयन प्राधिकरणले २५ करोड २३ लाख ६४ हजार रुपैयाँ खर्च गरेको विमानस्थल सुधार आयोजना निर्देशक धु्रव भोछिभोयले जानकारी दिए। चीनको चाइना रेलवे इन्जिनियरिङ कर्पोरेसन र नेपालको टुन्डी कन्स्ट्रक्सन प्रालिले संयुक्त रूपमा कालोपत्रे गरेका हुन्।
हेलिप्याड त अझै योभन्दा कम समयमै भत्किएको छ। विमानस्थलको पूर्वपट्टि २ करोड ७० लाख रुपैयाँ खर्च गरेर बनाइएको हेलिप्याड सञ्चालनमा आएको तीन महिनामै भत्किएको हो। गत पुस १६ मा उद्घाटन गरिएको यो हेलिप्याडमा चैतबाट पार्किङ सुरु गरिएको थियो। यो पनि जेठबाटै भत्किन थाल्यो। १३ हेलिकप्टर पार्किङ गर्न मिल्ने ११ हजार ८ सय ९४ वर्गमिटर क्षेत्रफलको हेलिप्याड बिरुवा, आजाद तथा उमा एन्ड प्रतिमा ठेकेदार कम्पनीले कालोपत्रे गरेका हुन्।

विमानस्थल सुधार आयोजनामा नेपालकै जिइओसिई कन्सल्टेन्ट प्रालि प्राधिकरणको परामर्शदाता हो। परियोजना डिजाइन, सुपरीवेक्षण लगायत सबै यही कम्पनीको जिम्मेवारीभित्र पर्छ। यसले सिफारिस नगरेसम्म ठेकेदार कम्पनीलाई प्राधिकरणले रकम चुक्ता गर्दैन। हेलिप्याडको रकम भने ठेकेदारलाई सबै चुक्ता भइसकेको छ।
प्राधिकरणका अनुसार सन् १९९५ मा कालोपत्रे गरिएपछि हाल गरिएको हो। विमानस्थल सञ्चालन भएयता कालोपत्रे गरिएको तेस्रोपटक हो। अन्तर्राष्ट्रिय नियमअनुसार धावनमार्गलाई प्रत्येक पाँच वर्षमा एकपल्ट कालोपत्रे गर्नुपर्छ।
विमानस्थल खुल्नुअघि प्रत्येक बिहान विमानस्थल व्यवस्थापनले पूरै धावनमार्ग निरीक्षण गर्ने गरेको महाप्रबन्धक सुमनले जानकारी दिए। केही महिनादेखि सम्बद्ध परामर्शदाता कम्पनीले पनि निरीक्षण गरिरहेको छ।
भ्रमणमा विमानस्थल सञ्चालन निकाय प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपाने, विमानस्थलका महाप्रबन्धक सुमन, विमानस्थल सुधार आयोजना निर्देशक भोछिभोय लगायत उच्च अधिकारी थिए। सबै फोटोः विकास कार्की




No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।