Saturday, August 27, 2011

दोलखा...सिगटी सडक कमसल ठेकेदारले आयोजनाका प्राविधिक र परामर्शदातासँग 'मिलेमतो' गरी अनियमितता

दोलखा, भदौ ९ (नागरिक)- तामाकोसी जलविद्युत् आयोजनाको सडक निर्माण गुणस्तरहीन भएकाले भत्किन थालेको कर्मचारी र स्थानीयले बताएका छन्। ठेकेदारले आयोजनाका प्राविधिक र परामर्शदातासँग 'मिलेमतो' गरी अनियमितता गरेकाले सडक कमसल बनेको उनीहरुको भनाइ छ।


ठेकेदारबाट दोलखा-सिगँटी खण्डको निर्माण गुणस्तरहीन भएको बुझिबुझी पनि परामर्शदाता र प्राविधिकले ६५ किमिको सडकका लागि ५१ करोड खर्चको भुक्तानीका लागि सिफारिस गरेको खुलेको छ।
प्राविधिकले भने यसमा आफ्संलग्नता अस्वीकार गरेका छन्। 'स्थानीयबाट बारम्बार गुनासो आइरहेकै हो,' आयोजना उच्च स्रोतले बतायो, 'उल्टै निर्माणस्थलमा खटिएका परामर्शदाता र सुपरभाइजरदेखि इन्जिनियर हुँदाहुँदै अरुबाट हस्तक्षेप जरुरी छैन भने।'
तिनै प्राविधिकले सडक कमसल भएको थाहा पाउँदापाउँदै ठेकेदारसँग मिलेमतो गरी बिल भुक्तानीको सिफारिसमा हस्ताक्षर गरेको स्रोतले जनायो। उक्त सिफारिसपछि ठेकेदारलाई भुक्तानी लिन सहज भएको थियो।
आयोजनाले निर्माण अवधिभर दोलखा सिगँटी सडकका तीनवटै प्याकेजमा पाँचौ तहका सुपरभाइजरदेखि आठौं तहका इन्जिनियरलाई रेखदेखका लागि खटाएको थियो।
महालक्ष्मी कन्स्ट्रक्सनले थालेको काम तामाङ बज्रगुरु गोल्डेन गुटले संयुक्त रुपमा हेर्नेगरी दोस्रो प्याकेजको जिम्मा इन्जिनियर पुष्कर भट्टराई र सिँगटीसम्मको तेस्रो प्याकेज रेखदेख गर्न इन्जिनियर भरत मैनालीको नेतृत्वमा आयोजनाले प्राविधिक खटाएको थियो। पछिल्लो खण्डको मुख्य जिम्मेवारी भने इन्जिनियर बिष्णु थापाले पाएका थिए।
आयोजना लेखा शाखाका अनुसार, परामर्शदाताको सिफारिस र निर्माणस्थलमा खटिएका प्राविधिकले नापजाँच गरी सही गरेपछि ठेकेदारको बिल भुक्तानी हुने गर्दछ। गुणस्तरहीन काम हुनुमा आफूहरूको दोष नरहेको इन्जिनियर थापाले बताए। 'हामीले नापजाँचमात्रै गर्ने हो, गुणस्तर हेर्ने परामर्शदाताले हो,' थापाले भने, 'डिजाइनमा कमजोरी भएकाले सडक भत्केको हो, सुन्द्रावतीसहित केही ठाउँमा ४० सेमी ग्राभेल हाल्नुपर्ने थियो, डिजाइनमा २५ सेमीमात्र उल्लेख भएकाले सडक भासिएको हो।'
यस्तै, सिँगटीसम्म पुग्ने ३९ किमि सडक सुपरिवेक्षण गर्न इआरएमसी र जिइसीलाई जिम्मा दिइएको थियो। तीन प्याकेजमध्ये सुन्द्रावती-सुनखानी खण्डका लागि ठेक्का पाएको तामाङ, बज्रगुरु, गोल्डेन गुट कन्स्ट्रक्सनको काम सबैभन्दा खराब देखिएको छ।
सडकको अनुमानित लागत नै गलत भएकाले 'खर्च बढेको' बताइएको छ। १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको तमाङ बज्र गुरुसँग आयोजनाले सुरुमा ठेक्का सम्झौता ११ करोडमा गरे पनि काम सकिने बेला १६ करोड नाघेको थियो।
'पर्याप्त जग्गा अधिग्रहण नगरेकाले साइडवाल लगाउनुपर्‍यो,' एक अधिकारीले भने, 'एउटै वालका लागि २० लाखसम्म खर्च लागेको देखिन्छ।'
यता आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठ भने मिलेमतोमा कमसल काम भएको दावी अस्वीकार गरे। 'सानातिना गल्ती भएका हुन सक्छन्,' श्रेष्ठले भने, 'ग्राभेल २० सेमीसम्म हाल्नु गलत थियो, ओसिलो भागमा अलि बढाउनुपर्थ्यो।' स्थानीयको दबाबले धेरैपल्ट वाल र बाटो बदल्नुपरेकाले पनि खर्च दोब्बर भएको उनले जनाए। स्रोत नागरिकबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।