Saturday, July 7, 2012

धेरैजसो किशोरकिशोरी शारीरिक, मानसिक तथा यौन समस्याबाट प्रताडित छन्।

डा.सुमनराज ताम्राकार- प्रजनन् अंगको विकासले युवायुवतीमा कौतूहल थपिदिन्छ। नेपालको जनसंख्यामध्ये २२ प्रतिशत किशोरकिशोरी छन्। सामान्यतया किशोरीहरूमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन्। किशोरीहरूमा नितम्ब चौडा हुने, स्वर अझै सुरिलो हुने, पाठेघर बढ्ने, महिनावारी हुन थाल्ने, तिघ्रा सुलुत्त पर्ने आदि शारीरिक परिवर्तनका सार्थ मानसिक, भावनात्मक तथा व्यावहारिक परिवर्तन पनि हुन्छन्। यस बेला किशोरकिशोरीमा विपरीत लिंगीप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने, यौन सम्बन्धी खोजीनिती गर्ने हुन्छ। साथै एक्लै बस्ने, स्वतन्त्रता चाहने, दिवास्वप्न देख्ने, मुड परिवर्तन भइरहने, गोपनीयता चाहने आदि लक्षण पनि देखाउँछन्।



धेरैजसो किशोरकिशोरी शारीरिक, मानसिक तथा यौन समस्याबाट प्रताडित छन्। युवतीहरूमा महिनावारी गडबडी, तल्लो पेट दुख्ने समस्या, कुमारीत्वको पीर, मोटोपनाको समस्या हुन सक्छ। र, समग्रमा यौनरोग, असुरक्षित यौनसम्पर्क, असुरक्षित गर्भपतन, कलिलै उमेरमा गर्भधारण, बाँझोपनको समस्या आउन सक्छ।
यसका साथै भविष्यको लक्ष्य, करिअर, प्रतिस्पर्धा, लक्ष्य प्राप्तिलाई लिएर चिन्ता हुनसक्छ। यसले गर्दा युवायुवतीमा निराशा छाउने तथा मानसिक तनाव बढ्ने हुन सक्छ। अर्कोतिर कलिलै उमेरमा बिहे भएको खण्डमा पारिवारिक बोझ र आर्थिक समस्या आइपर्ने हुन्छ।
युवतीहरूमा आउन सक्ने यौनजन्य केही समस्या यस प्रकार छन्।
महिनावारी गडबडी
प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप किशोरीहरूमा नियमित महिनावारी सुरु हुन थाल्छ। प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि १०० मिलिलिटरसम्ममात्र रगत प्रवाह हुने गर्छ। यसभन्दा तल-माथि हुनासाथ असामान्य मानिन्छ। किशोरी वा महिलाको उमेर समूह अनुसार महिनावारी असामान्य हुनाका कारक तŒव भने फरक-फरक हुन सक्छन्।
नियमित अन्तरालमा हुने तर महिनावारी हुँदा बढ्ता रगत जाने वा धेरै दिनसम्म रगत जाने वा दुवै स्थितिलाई मेनोरेजिया, छिटो छिटो हुने (२१ दिनको अन्तराल भन्दा कम) लाई पोलीमेनोरिया, ३५ दिनभन्दा बढ्ता अन्तरालमा (ढिलो-ढिलो) हुने परिस्थिति लाई ओलिगोमेनोरिया, हल्का (थोरै) मात्रामा रगत जाने एवं दुई दिन भन्दा कम समयसम्ममात्र जाने अवस्थालाई हाइपोमेनोरिया भनिन्छ। तर, एकअर्काबीचको मासिक श्रावको अन्तराल पनि अनियमित हुने परिस्थितिलाई मेट्रोरेजिया भनिन्छ, जुन किशोरी अवस्थामा त्यति धेरै हुँदैन।
तल्लो पेट दुख्ने समस्या
मेडिकल भाषामा महिनावारीको बेला सानो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ। तर, यसले किशोरी वा महिलाको दैनिक क्रियाकलापमा असर पुग्ने गरी हुने पीडादायी महिनावारीलाई बुझाउँछ। कारणबिनाको र कारणसहितको गरी डिस्मेनोरिया दुई प्रकारका हुन्छन्।
करीब पाँचदेखि १० प्रतिशत किशोरी वा महिलामा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ। यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रियमा स्पष्ट रूपमा कुनै समस्या देखिँदैन। प्रायः किशोरी अवस्थामा हुने, डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक प्रकारको डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्चाइ तथा पाठेघरमा अक्सिजन अभाव हुनाले हुने गरेको विश्वास गरिएको छ। पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिनजस्ता कतिपय पीडा कम गर्ने औषधिले यस्ता खाले डिस्मेनोरिया घटाउन सकिन्छ।
सेतो पानी बग्ने समस्या
सेतो पानी अर्थात् सामान्य खालको योनीश्राव (योनीरस) मासिक चक्र अनुसार फरक-फरक हुन्छ। त्यसैगरी सामान्य प्रकारको योनीरसको अधिक बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ। पिप एवं गन्धरहित, नचिलाउने खालको तथा निरन्तर रूपमा योनीद्वार वा भित्री कपडा भिज्ने गरी वा प्याड नै प्रयोग गर्नुपर्ने गरी हुने योनीरसको बहावलाई सामान्य मान्नुपर्छ। तर, कहिलेकाहीँ सामान्य खालको वा संक्रमित खालको छुट्याउन गाह्रो हुन्छ। संक्रमित भन्नलाई यौनांगको आन्तरिक जाँच गर्नुपर्छ।
कतिपय अवस्थामा योनीरसको अधिक उत्पादन शरीरको स्वाभाविक उत्पादन नै हो। जस्तै, यौवनावस्थामा महिनावारीको मध्य भागतिर (डिम्ब निस्कने बेला), महिनावारी हुनु ठीक अगाडि स्त्री जननेन्द्रियमा रगतको बहाव बढ्नाले सेतो पानी बढी बग्छ। यौनजन्य फिल्म हेर्दा, यौनसम्बन्धी सोच्दा, पत्रपत्रिका पढ्दा यौन उत्तेजना बढ्छ। यौन उत्तेजनाको बेला योनीद्वारको दुवैतिरको बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हार्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनीश्राव हुन्छ।
कलिलै उमेरमा गर्भधारण
उमेर नपुगिकनै (प्रायः १३ देखि १९ वर्षभित्र) गर्भवती हुनुलाई अंग्रेजीमा टिनएज प्रेगनेन्सी अर्थात् किशोरावस्थामा गर्भधारण भनिन्छ। नेपाली किशोरीहरूमा ११/१२ वर्षको उमेरदेखि मासिक श्राव सुरु हुन थालेको छ। महिनावारी हुनु भनेको गर्भधारण गर्न सक्ने क्षमताको विकास भएको प्रमाण पनि हो। टिनएज प्रेगनेन्सीका कारण न्यून साक्षरता, गरिबी, बाल विवाह आदि हुन्। सानै उमेरमा यौन सम्पर्क स्थापित गर्नु तथा परिवार नियोजनका साधनहरूको उचित प्रयोग नगरिनु पनि यो समस्याको अर्को कारण हो। आफ्ना उमेरकाले भन्दा वयस्कहरूले नै टिनएज केटीहरूलाई गर्भवती बनाएको पाइन्छ।
बाल्यावस्थामा यौन दुर्व्यवहारबाट प्रताडित बालिकाहरू नै कालान्तरमा गएर यौन कार्य चाँडै स्थापित गर्ने, आफूभन्दा धेरै वयस्क पार्टनर छान्ने, जोखिमपूर्ण यौन कार्यमा संलग्न हुने, धेरै जनासँग र धेरै पटक यौन सम्बन्ध स्थापित गर्ने खालका हुने अध्ययनहरूले देखाएका छन्। बाल्यावस्थामा घरेलु हिंसा, पारिवारिक बेमेल, अनेक खाले दुर्व्यवहार भोगेका बालिकाहरू सानै उमेरमा आमा बन्ने सम्भावना बढी हुन्छ। सौतेनी आमाको छत्रछायामा हुर्केकाहरू, निरक्षर तथा कम साक्षर युवती पनि चाँडै आमा बन्ने गरेको पाइन्छ।
नागरिक न्यूजबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।