Thursday, July 19, 2012

राजधानीमा सुन पसल लुट्न भारतबाट भाडामा लुटेरा


रमेश ठाकुर । तस्बिर: श्रीधर पौडेल/कान्तिपुर

 काठमाडौ, श्रावण ४ - राजधानीमा सुन पसल लुट्न भारतबाट भाडामा लुटेरा ल्याएको भेटिएको छ । म्याग्दीका राजन भुर्तेलको गोंगबुस्थित म्याग्दी धौलागिरी सुनचाँदी पसल लुट्न आएका दुई भारतीयलाई स्थानीयको सहयोगमा प्रहरीले बुधबार पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।
लुटमा संलग्न एक नेपाली र दीपक भनिने अर्का भारतीय अझै फरार छन् । प्रहरीका अनुसार पक्राउ परेका दुई जनालाई नेपालीले भाडामा ल्याएर लुटपाट गर्न लगाएको अनुसन्धानबाट पत्ता लागेको छ ।
पक्राउ परेकामा भारत समस्तीपुरका २० वषर्ीय रमेश ठाकुुर र त्यहींका १८ वषर्ीय रञ्जित सिंह छन् । बिहान ९ बजे पसल खोल्न लाग्दा ३ जनाले हतियारसहित आफूलाई नियन्त्रणमा लिएर भित्र पस्न खोजेको पसलधनी भुर्तेलले बताए ।
'म भित्रको ढोका खोलेर जाँदै गर्दा ३ जनाले अचानक मुख थुनेर भित्र पस्न खोजे,' उनले भने, 'उनीहरूले मेरो मुख थुनिदिएपछि प्रतिकार गर्दै थिएँ । त्यसैबेला बाहिर आएका दुई महिलाले देखेर चोर/चोर भनेपछि उनीहरू भागे ।' उनका अनुसार भागिरहेका बेला एक महिलाले रञ्जितलाई समातेकी थिइन् । पछाडि रहेका रमेश ठाकुरले पेस्तोलबाट हवाई फायर गरेपछि भने उनले आत्तिएर रञ्जितलाई छाडिदिएकी थिइन् ।प्रहरीले ती लुटेरालाई लखेटेर पक्राउ गरेका थिए । गोली चलेको आवाज आउनेबित्तिकै सादा पोसाकका दुई असईले उनीहरूको पिछा गरेका थिए ।
प्रहरीलाई स्थानीयहरूले पनि सघाएका थिए । रमेशलाई मेड इन इटाली लेखेको पेस्तोल, त्यसको ४ राउन्ड गोली र एउटा गोलीको खोकासहित महानगरको २९ वडाबाट पक्राउ गरिएको हो । रञ्जित मेड इन यूएसए लेखेको रिभल्बर र त्यसको ५ राउन्ड गोलीसहित गोंगबुकै म्याग्दी चोकबाट पक्राउ परे ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी जगदीश पोख्रेलले लुटपाटको योजना बनाउने मुख्य व्यक्ति नेपाली नै भएको जनाए । उनका अनुसार नेपालीले नै भारतीयहरूलाई पेस्तोलसहित भाडामा ल्याएको पाइएको छ । मुख्य योजनाकारले ६ दिनदेखि उनीहरूलाई नयाँ बजारको 'डे-होलिडे' होटलमा आफ्नै खर्चमा राखेका थिए ।
'उनीहरूलाई लुटेबापत यति नै रकम दिने भन्ने तय नभए पनि 'ह्यान्डसम स्यालरी' दिने भनेर ल्याएको रहेछ,' पोख्रेलले भने, 'यी दुई केटा र नेपालीबीच फरार भएका भारतीय दीपक भन्नेले मध्यस्तकर्ता गरेको पाइएको छ ।'
काठमाडौं प्रहरीका प्रमुख एसएसपी जयबहादुर चन्दले स्थानीयको सहयोगमा लुटेरा समूह पक्राउ गरिएको जनाए । उनका अनुसार यिनीहरू भारतका पनि व्यावसायिक अपराधी हुन् । प्रहरीका अनुसार पक्राउ परेका रमेशको दायाँ हातमा उनकै काकाले गोली हानेको खत छ । रमेशले काकासँग जग्गाको विषयमा विवाद हुँदा काकाले गोली हानेको बताए ।
लुटेराले दुई वर्षअघि पनि यही सुन पसल यसरी नै लुट्ने प्रयास गरेका थिए । २०६७ जेठ ४ गते बिहान ७ बजे भुर्तेलले पसल खोल्न लाग्दा ३ जनाकै लुटेरा समूहले नियन्त्रणमा लिएर लुटपाट गर्न खोजेका थिए । त्यो बेला पनि स्थानीयकै मद्दतले पसल लुटिनबाट जोगिएको थियो । लुटेराहरू
भागेका थिए ।
सुनको भाउ महँगो भएसँगै सुन चोरी र लुटपाटका घटना उपत्यकामा बढिरहेका छन् । सोमबार मात्र ललितपुरको जावलाखेलमा सञ्जीव थापाको घरबाट ३० तोला बराबरको सुन चोरी भएको छ ।
परिवारका सदस्य तेस्रो तलामा भएका बेला घरको दोस्रो तलाबाट दिउँसै चोरी भएको हो । गत २०६८ मंसिर १५ मा ललितपुरको पुल्चोकस्थित सुन पसल लुट्न आएको समूहले त्यहाँका कामदार जुजुकाजी वज्राचार्यको हत्या गरेका थिए । त्यही पुस ८ गते कपनमा सुन व्यवसायी हर्कबहादुर दियालेलाई पनि लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।

प्रकाशित मिति: २०६९ श्रावण ४ ०९:३० KANTIPUR

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।