Thursday, July 5, 2012

किन विवाह गरे हरिवंशले ?

मैले उनलाई सिन्दूर हाल्दा आँखा चिम्लेर मिरालाई सम्झिएँ र मनमनै भने 'मलाई शक्ति देऊ, तिम्रो छायाँ अर्कोमा आउँदैछ' अनि उनलाई  सम्झदै 'आइ एम सरी' पनि भनें।' यसो भनिरहँदा कतै टोलाइरहेका हरिवंशका आँखा रसाएको स्पष्ट देखियो। कोठामा मिराका तस्बिरहरू थिए।  'दिवंगत भएपछि उनी अब हाम्रा लागि देवी भएकी छिन्। आत्मा मर्दैन भन्ने कुरामा म विश्वास गर्दिन। यदि त्यसो हुन्थ्यो भने मलाई निकै  केयर र माया गर्ने मिराले आफ्नो आत्मा हाम्रै वरवर भएको कुनै न कुनै रूपमा महसुस गराउँथिन्।' बोल्नेबित्तिकै लाखौं दर्शकलाई एकैपटक हँसाउन सक्ने यी प्रतिभाशाली कलाकारको स्वर त्यसो भनिरहँदा अवरुद्ध भैरहेको थियो।


२७ वर्षसम्मको साथ १४ महिनाअघि एक्कासि चुँडिएपछि आहत भएका हरिवंश आचार्यको मन छियाछिया भएको थियो। संसारलाई हँसाउने  जिम्मेवारी बहन गरिरहेका आचार्य हरेक दिन मिराको तस्बिर सामु बसेर रुन्थे। कामप्रति पनि उनलाई खासै रुचि थिएन। मिराले संसार छाडे को १४ महिनाको अवधिमा हरिवंशले जति काम गरे, त्यो फगत निरन्तरता मात्र थियो। 'यसबीच मैले केही विज्ञापनमा काम गरें, केही टे लिफिल्ममा पनि अभिनय गरें, तर मनैदेखि त्यति रुचि भने थिएन।' हरिवंशले आफ्नो पीडाको पट्टी उघार्दै गए-'म वास्तवमै डिप्रेसनको सिकार  हुँदै थिएँ। मदन दाइ (मदनकृष्ण श्रेष्ठ) त्यसो नगर्न र आफूलाई अन्यत्र भुलाउन आग्रह गरिरहनु हुन्थ्यो। साथीभाइ तथा शुभचिन्तकहरूले पनि  अर्को विवाह गर्ने सुझाव नदिएका होइनन्। मलाई भने त्यसो गरिहाल्न उचित लागिरहेको थिएन। म दिनहुँ मिराको सम्झनामा टोलाइरहन्थें। ' गाउँकी तारा' टेलिफिल्मको छायांकनस्थलमा मेरो स्वभाव पहिलेको जस्तो नदेखिएपछि वसुन्धरा भुसाल दिदीले 'डिप्रेसन हुनु राम्रो होइन विवाह  गर' भन्ने सल्लाह दिनुभयो। उहाँले नै रमिलाको प्रस्ताव ल्याउनु भयो। 

बुटवलकी ३९ वर्षीया रमिला पाठकको थापा थरका व्यवसायीसँग सानै उमेरमा विवाह भएको रहेछ। उनी २८ वर्षकी हुँदा श्रीमान्को ब्रेनहेम्रे जका कारण निधन भयो। त्यसपछिको जीवन उनले बाबुआमासँग छोरालाई हुर्काउँदै बिताउने निधो गरिन्। श्रीमान्को निधन हुँदा छोरा परिचित  थापा ११ वर्षका थिए। अमेरिकामा उच्च अध्ययन गरिरहेका उनी हाल भारतबाट आफ्नो इन्जिनियरिङको अध्ययन सक्ने ध्येयले बुटवलमा  रहेको रमिलाले बताइन्। बालक छोरा हुर्काउँदै बाबु-आमा, आफन्त तथा सासू-ससुरासँग समय बिताइरहेकी रमिलाको अभिनेतृ भुसालसँग  साइनो पर्छ। रमिलाको एक्लो जीवनको पीडा सबैले बुझेका थिए। त्यो लामो समय उनले बुटवलस्थित माइतीमा बिताइन्। आफूलाई एकल  महिला भन्न नरुचाउने रमिलाले श्रीमान्को निधनपछि सिन्दूर र पोते मात्र लगाइनन्, चुरा तथा रंगीन पहिरन लगाउन भने उनलाई घर तथा  माइतीबाटै स्वीकृति मिलेको थियो। 'श्रीमान् नभए पनि छोरा थियो। दाजुभाइ, आमाबाबु, आफन्त सबै साथमा भएपछि म कसरी एकल हुन्छु  ?'-रमिलाले भनिन्। लाजिम्पाटमा बाटो काट्ने क्रममा उनले एकपटक हरिवंशलाई नजिकबाट देख्न पाएकी थिइन्। उनको अभिनय पहिलेदेखि  नै राम्रो लाग्थ्यो रमिलालाई। एकप्रकारले उनी हरिवंशका लाखौं दर्शकमध्येकी एक थिइन्। विवाहको कुरा चल्ने क्रममा उनीहरूले १०-१५ पटक  भेटघाट गरे। 'हाम्रो पीडा एउटै भएकाले एक-अर्कालाई साथ दिन हामी सहमत भयौं।'-रमिलाले हरिवंशलाई हेर्दै भनिन्। 

रमिलाका रूपमा हरिवंशले आफ्नो घाउमा मल्हम लगाउने र आफूलाई अबको बाँकी जीवन साथ दिने जीवनसाथी पाएका छन्। काठमाडौंको  गोंगबुस्थित एउटा घरको एउटा कोठामा मात्र १५ मिनेटको विधि पूरा गरेर हरिले रमिलालाई आफ्नी जीवनसंगीनी स्वीकार गरे। वैवाहिक  समारोहमा राजाराम पौडेल, गौरीशंकर धुजू, नरेन्द्र कंसाकार, राजु भुजू आदि मह संचारमा आबद्ध केही व्यक्ति पत्नीसहित आमन्त्रण गरिएका  थिए भने हरिवंशलाई परेको बेलामा साथ दिइरहेका नयाँ मित्रहरू रवीन्द्र समिर र मुकुन्द अधिकारी पनि त्यहाँ थिए। त्यसका साथै आफन्तमा  हरिवंशकी भाञ्जी बुहारी पनि सामेल थिइन्। छोराले बाबुको विवाह हेर्नु हुँदैन भन्ने परम्परा रहेकाले हरिका छोरा मोहितवंश आचार्य भने घरमै  कुरेर बसे। रमिलाका सबै आफन्तलाई डाक्दा ५ सयभन्दा बढी हुने भएकाले अत्यन्तै नजिकका आफन्तहरू मात्र समारोहमा सामेल थिए। 

'उनको बुबामुमाले कुनै पार्टी प्यालेसमा वैवाहिक कार्यक्रम गर्ने कुरा गर्नुभएको थियो। पछि त्यसरी नगर्ने सल्लाह गर्‍यौं। किनभने त्यसरी  मनाउन त्यो कुनै उत्सव थिएन। भोजभतेर गर्दा पुरानो पीडालाई बिर्सेर रमाइलो गर्न खोजेजस्तो सन्देश जान्थ्यो। फेरि निराश व्यक्त गर्दै विवाह  गरियो भने पनि उनी आफ्नो अतीतलाई छाडेर मसँग सुखमय जीवन बिताउन आएकी छिन्। उनलाई निराश गर्न पनि नसकिने अवस्था थियो।  एक प्रकारले 'ह्याप्पिनेस' देखाउन पाइएन, न 'स्याडनेस' नै। त्यसैले यो एउटा कोठामा 'लिमिटेसन' गरेर गरिएको सम्झौता विवाह हो।' 

हरिवंशले आफ्नो विवाह लुकाउन नचाहेको स्पष्ट पारे। मिराको निधनको केही समयपछि उनले विवाह गर्लान् कि नगर्लान् ? उनले विवाहका  लागि केटीहरू छानिरहेका छन् रे। यहाँसम्म कि हरिवंशले खुसुक्क विवाह गरिसके भन्ने हल्ला चलिरहेको अवस्थामा वैधानिक रूपमा गरिएको  विवाह लुकाउनु उनीहरूको हकमा उचित पनि थिएन। 'हल्लालाई मिथ्या साबित गर्न भए पनि प्रेस रिलिज गर्ने विचार गरिएको थियो, तर  त्यसो नगरेर फेसबुकमार्फत तस्बिर तथा विवरण सार्वजनिक गर्ने निर्णय गरियो। किनभने त्यसबाट विश्वभरि रहेका सबैमा मेरो विवाहको  सकारात्मक खबर प्रसारित भैहाल्थ्यो। त्यसरी सार्वजनिक गर्नु जरुरी पनि थियो। यसमा मेरो र उनको जीवन गाँसिएको छ। मैले यो  सम्बन्धलाई इज्जत दिनु पर्छ।'- भक्तपुरको बालकोटस्थित रोज भिलेज हाउजिङ्को घर नम्बर ५ को बैठकमा नवविवाहिता रमिलासँग चियाको  चुस्की लिँदै हरिवंशले बताए। 

'विवाहको कुरा चल्ने क्रममा धेरै पटक हाम्रो भेटघाट भयो। मैले उनको छोरालाई पनि भेटिसकेको छु। मेरा छोराहरूको पनि मेरो यो निर्णयमा  स्वीकृति छ। जेठो छोरा अमेरिकामै छ। उसले उतै विवाह गरिसकेको छ। कान्छो मोहित यतै छ। मैले रमिलालाई घरमा भित्राउँदा मोहित र  मिराका भाइ बुहारीहरूले स्वागत गरेका थिए।'- ५४ वर्षीय हरिवंशले केही उत्साहित हुँदै सुनाए। अमेरिका रहेको जेठो छोराले उतैको संस्कार  बमोजिम अमेरिकन दुलही ल्याएपछि मिराले यहाँको संस्कारबमोजिम विवाह गरिदिने तयारी गरिरहेकी थिइन्। उनको त्यो चाहना पूरा हुन  सकेन। बुबाले अर्को विवाह गर्नुपर्छ र बुढेसकालका लागि सहारा खोज्नुपर्छ भन्ने कुरामा जेठा छोरा त्रिलोकवंश आचार्य तथा उनकी पत्नी पनि  सहमत भए। अब विगतको घाउमा मल्हम लगाउँदै सुखमय जीवन व्यतीत गर्न उनीहरू दुवै तत्पर छन्। मिराको सम्झनालाई सर्वदा ताजा  राख्न 'मिरा चाइल्ड केयर' लगायत उनको नाममा सामाजिक संस्थाहरू सञ्चालन गर्न लागेका हरिवंशको उक्त कार्यको जिम्मेवारी रमिलाले  बहन गर्ने भएकी छिन्। 

हरिवंश आचार्यले पुनर्विवाह गरे भन्ने खबर सुन्नेहरूमध्ये केहीले उनको मिराप्रतिको माया र प्रगाढ सम्बन्ध ढोंग भएको पनि बताए।  फेसबुकमा उनका बारेमा नकारात्मक प्रतिक्रिया पनि आए। जबकि हरिवंश र रमिलाको विवाह समाजमा उदारणीय भएको धेरैको दाबी छ।  दिवंगत पतिसंग सति जाने परम्परा त खारेज नै भैसकेको अवस्था छ तर दिवंगतको सम्झनामा आजीवन सादा जीवन बिताएर विधवा  रहनुपर्ने अनि केही सामाजिक संस्कारहरूबाट पनि टाढा रहनुपर्ने परम्परा भने यथावत् छ। पत्नीको निधन भएको केही दिनमै लोग्ने मानिस  भएका कारणले पतिले पुनर्विवाह गर्न हुने, तर पति गुमाएकी पत्नीले भने एक्लो जीवन बाँच्नुपर्ने विडम्बनालाई चिर्दै नेपाली समाजमा पनि  यस्ता खालका विवाह भैरहेका छन्। हरिवंश आचार्यले रमिलालाई साथ दिएर आफू त खुसी छन् नै, रमिलालाई पनि कैयौ गुणा बढी खुसी  दिएका छन्। त्यसैले यो विवाहलाई समाज सुधारक विवाह भन्नेहरू नै बहुमतमा छन्। यो आफैंमा उदाहरणीय विवाह हो।



समाजलाई सकारात्मक उदाहरण दिएका छन् 

मदनकृष्ण श्रेष्ठ (हास्य अभिनेता)

आ-आफ्नो जीवनसाथीलाई असमय गुमाउनुपर्दा दुवै जना आकाशबाट खसेका जस्ता थिए। दुवैलाई एक बनाएर भगवान्ले हात थापेजस्तो  लागिरहेको छ। यो विवाहमा मेरो आशीर्वाद थियो, त्योभन्दा पनि हामीले नै उसको अवस्था देखेर विवाह गर्ने चाँजोपाँजो मिलाइदिएका थियौं। म  अहिले श्रीमतीको उपचारका क्रममा थाइल्यान्डमा छु। जुलाई १६ मा उनको अप्रेसन छ। म अझै केही समय यतै हुन्छु। यता आउनुपरेकाले  विवाहमा म सामेल हुन सकिनँ, तर हामीले रमिलालाई पहिले धेरै पटक भेटिसकेका थियौं। उनीहरूको पारिवारिक भेटमा पनि हामी सामेल  थियौं। मीराको निधनपछि हरिवंश डिस्टर्ब थिए। उनी सधैं टोलाइरहन्थे। त्यसैले उनले विवाह गर्नुपर्छ भन्ने राय मैले पनि दिएको थिए। विवाह  गर्दा कुनै अविवाहित कुमारी केटीभन्दा पनि एकल वा द्वन्द्वपीडित महिला खोज्नु भन्ने सल्लाह दिएका थियौं। किनभने ऊजस्तो व्यक्तित्वको  पुनर्विवाहले समाजमा सकारात्मक सन्देश दिन सकोस् भन्ने ध्येय हामी सबैको थियो। बसुन्धरा भुसालले त्यो काम गरिदिनुभएकोमा म  व्यक्तिगत रूपमा उहाँप्रति आभारी छु। पहिलेको जमानामा श्रीमान्को निधनपछि श्रीमतीलाई सती पठाएर जिउँदै जलाइन्थ्यो। त्यो प्रथा समाप्त  भए पनि दिवंगत श्रीमान्को सम्झनामा श्रीमती आजीवन जिउँदै जलेर बस्नुपर्ने अवस्था आयो। स्वास्नी बितेपछि लोग्नेले तुरुन्तै विवाह गर्न  हुने, श्रीमतीले किन नहुने ? भन्ने बहस चलिरहेका बखत हरिवंश र रमिलाको विवाहले समाजलाई एउटा सकारात्मक उदाहरण दिएको छ।  उनीहरूको जीवन बिजोग हुनबाट जोगिएकोमा म र मेरी पत्नी साह्रै खुसी छौं।



म निमित्त मात्र भएकी हुँ , बसुन्धरा भुसाल (अभिनेत्री)

धम्पुसमा टेलिचलचित्र 'गाउँकी तारा'को छायांकनमा हरिभाइ निकै झोक्राएर बसेको देखें। छायांकनपछि उनी मलाई घर पुर्‍याउन आए। बाटो मा मैले नै कुरा झिकें। यसरी झोक्राएर बस्दा डिप्रेसनमा गइन्छ। त्यसैले कुनै उचित जीवनसाथी खोज्ने सल्लाह दिएँ। उनले विवाह नगर्ने  अडान लिइरहे। धेरै बेर कुरा भएपछि अन्ततः आफूजस्तै जीवनसाथीबाट एक्लो भएको एकल वा द्वन्द्वपीडित महिला पाए विचार गर्ने बताए।  बुटवलमा मेरी माइली दिज्यूकी छोरीकी आमाजु रमिलालाई बिगत १२ वर्षदेखि एक्लो जीवन बिताइरहेको देखेकी थिएँ। उनका श्रीमान साह्रै  असल हुनुहुन्थ्यो। ब्रेनहेम्रेजले असमय उनलाई चुँडेर लग्यो। 

रमिलाका बुवा श्यामबहादुर पाठक बुटवलका कहलिएका उद्योगपति हुनुहुन्छ। उहाँहरूसमक्ष मैले कुरा राखें। उहाँहरू त छोरी खुसी र सुखी  हुने भएपछि मान्नुभयो, तर रमिलाले मानिनन्। मैले धेरै बेर सम्झाएपछि राजी भइन्.। यता हरिभाइलाई रमिला र उनको छोरा परिचितको  तस्बीर देखाएँ। उनका छोराहरू त्रिलोक र मोहित पनि खुसी भए। त्रिलोककी अमेरिकन श्रीमती पनि निकै खुुसी भइन्। त्यसपछि मदनकृष्ण  दाइ, त्रिलोक, बुहारी, मोहित र म हरिभाइलाई लिएर बुटवल गयौं। यस्तैमा एउटा कुरा के पनि थाहा भयो कि मोहित र परिचित सानैदेखिका  स्कुले साथी रहेछन्। हरिभाइका छोराहरूको स्वीकृतिले मात्र पुग्दैनथ्यो। परिचितको स्वीकृति पनि उत्तिकै आवश्यक थियो। मदनदाइले त्यो  अभिभारा बहन गर्नुभयो। अन्ततः सबैको राजीखुसीमा विवाह हुने पक्का भयो र विवाह पनि भयो। 

यो जोडीलाई म जुराइएको जोडी भन्छु। हरिलाई भाइ मानेकाले मीरासँग मेरी आमाजू र बुहारीको मीठो नाता गाँसिएको थियो। उनको निधन  हुँदा म घाट पुगेकी थिएँ। हरिभाइले मलाई अँगालो मारेर रोएको अहिले पनि झलझली सम्झना आइरहन्छ। त्यसपछिका दिनमा हरिभाइ निकै  एक्लो महसुस गर्न थाले, उनी जुनबेला पनि झोक्राएरै बसिरहे। कल्कलाउँदो उमेरमा विवाह भएको दस वर्षमै श्रीमानले संसार छाडेर गएपछि  रमिला पनि आफूलाई सम्हाल्न खोजिरहेकी थिइन्। १२ वर्षमा उनको घाउ पुरिए पनि खाटा बाँकी नै थियो। उनी बाँकी जीवन छोराका लागि  बिताइरहेकी थिइन्। हरि र रमिलालाई एक बनाउन म निमित्त मात्र भएकी हुँ। मेरो चाहना यी दुई एक-अर्कासँग खुसी र सुखी रहुन् भन्ने मात्र  हो।



साप्ताहिकले हरिवंश र रमिलालाई भेट्दा विवाह भएको भर्खरै ५ दिन पुगेको रहेछ। घरको सोफामा बसेर कुराकानी गर्दै उनीहरूसँग केही  समान प्रश्न गरियो। तीमध्ये अधिकांश प्रश्नको उत्तर दुवैले एउटै प्रकारको दिए। 

आफ्नो विगतको जीवनसाथीसँग एक-अर्कालाई दाँज्नुभएको छ कि छैन ?

हरिवंशः जीन एउटै भएको वा क्लोन भएका भए आनीबानी मात्र होइन, अनुहारै मिल्थ्यो होला। यद्यपि सरलता, व्यावहारिक, मायालु, हँसिलो  र आत्मीय सम्बन्ध राख्ने उनको स्वभाव मिरासँग मिल्छ। मेरा लागि उनी मिराकै छायाँ हुन्। मिराले परिवारलाई जति माया-ममता दिन्थिन्,  रमिलाबाट पनि त्यो प्राप्त हुन थालिसकेको छ। 

रमिलाः उहाँ निकै असल हुनुहुन्थ्यो। मिजासिलो बानी थियो। त्यो बानी मिल्छ। उहाँ भगवान्को स्थानमा पुगिसक्नुभयो। उहाँलाई भगवान् मानेर  सम्झना मात्र गर्न सकिन्छ। दाँज्न भने सकिँदैन। 

एकअर्काको अतीतका बारेमा कत्तिको कुरा हुन्छ ?

हरिवंश-रमिलाः मानिसहरू एक-अर्काको विगतका बारेमा धेरै कुरा नगर्नू त्यसले एक-अर्कालाई पीडा हुन्छ भन्थे, तर हामीले एक-अर्कासँग  विगतका धेरै कुरा गर्‍यौं। दिवंगत जीवनसाथीका आनीबानी र स्वभावका बारे सोध्यौं। बिताएका मीठा पलहरू सेयर गर्‍यौं। त्यसले हामीलाई  पीडा भएन, बरु मन हल्का भएको महसुस भयो। 

एक-अर्काका छोराहरूलाई कसरी साथ दिने विचारमा हुनुहुन्छ ?

हरिवंश-रमिलाः हाम्रो अब एक वा दुई होइन, तीन छोरा छन्। उनीहरूलाई समान माया र ममता दिनेछौं। उनीहरू पनि हामीसँग धेरै नजिक  भैसकेका छन्। विवाहमा उनीहरूकै सबैभन्दा बढी साथ भएकाले भविष्यमा हामी सुखमय जीवन बिताउने कुरामा ढुक्क छौं। 
कान्तिपुर साप्ताहिकबाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।