राजेन्द्र मानन्धर
दोलखा, असार २२ - घरेलु पीडाले पाँच वर्षसम्म रोएरै बिताएकी साधारण लेखपढकी एक महिला एकाएक गाउँमा 'चुल्हो इन्जिनियर' को रूपमा परिचित छिन् ।
घरेलु पीडालाई सहँदै निरन्तर चार वर्षसम्म गाउँका घरघरमा सुधारिएको चुल्हो बनाउँदै हिँडेपछि पाएको सम्मान र पैसा दुवैले अहिले पार्वती श्रेष्ठको मन शान्त छ । श्रीमान्ले दोस्रो बिहे गरेपछि
एक्लो जीवन बिताइरहेकी उनीले अहिलेसम्म चारसय बढी चुल्हो बनाइसकेकी छिन् । एउटा चुल्हो बनाउँदा ४ सय रुपैया खुसीले दिने भएकाले उनको कमाइ पनि चित्तबुझ्दो छ । 'श्रीमान्ले छाडेपछि पाँच वर्षसम्म रोएरै बिताएँ,' उनले खुलेर भनिन्, '२०६६ सालबाट चुल्हो बनाउन थालेपछि मेरो जीवनमा पुनः खुसी आएको हो ।'
सुधारिएको चुल्हो कार्यक्रम लिएर रिमरेक नामक संस्था आएपछि उनी पनि तालिममा सहभागी भइन् । तालिमपछि घरभित्र धुवाँ नफैलने र दाउरा खपत हुने चुल्हो बनाउँदै गाउँघर डुल्न थालिन् । साधारण पढालेखा मात्र भए पनि चिटिक्क परेको चुल्हो बनाउने कलाले गाउँलेबीच लोकपि्रय हुन थालिन् । उनको माग सबैतिरबाट आउन थाल्यो । 'मालु र आसपासमात्र होइन, छिमेकी जिल्लामा समेत गएर चुल्हो बनाएकी छु,' उनले भनिन् । रिमरेकका फिल्ड प्राविधिक संयोजक पेचकुमार सुनुवारका अनुसार पार्वतीले बनाएको चुल्होमा कुनै समस्या नआउने भएकाले सबैले उनैलाई रोजेका हुन् ।
मालुका गाविसका ५ सय ६२ घरमध्ये ४ सय ६६ धुवाँरहित चुल्हो बन्नुमा पार्वतीकै बढी हात रहेको सुनुवार बताउँछन् । मालु गाविस दोलखाकै पहिलो 'घरभित्रको धुवाँरहित' गाविस घोषित भएपछि गाउँलेले उनैको नाम लिए । 'यहीँ चुल्हो इन्जिनियरको कारणले हाम्रो गाउँले यो पदवी पायो,' स्थानीय राजनीतिक नेता टंकबहादुर खड्काले भने ।
उत्कृष्ट चुल्हो बनाएबापत जिल्लास्तरको थुप्रै पुरस्कार पाए तापनि गाउँलेले गरेको सम्मान कहिले नभुल्ने उनी बताउँछिन् । 'चुल्हो प्रवर्द्धकको रूपमा गाउँलेले फूलमाला र अबिरले सम्मान गरेको क्षण मेरो पीडामा मलम लगाए जस्तै भयो,' उनले कान्तिपुरसँग भनिन्, 'सीप सिकेर उपयोग गर्न सके दुःखीको पनि दिन आउँदोरहेछ ।'
धुवाँरहित चुल्हो बनाएर गाउँघरको वातावरण जोगाउन योगदान गरेबापत उनलाई वातावरण मन्त्रालयले प्रमाणपत्र समेत दिएको छ । उत्कृष्ट महिला चुल्हो प्रवर्द्धकको रूपमा प्रशिक्षकको रूपमा पनि रिमरेकले विभिन्न ठाउँमा लाने गर्छ ।
प्रकाशित मिति: २०६९ असार २२ ०९:१८
.jpg)
No comments:
Post a Comment