अचम्म लाग्न सक्छ, तर जनकपुरवासीले आज यस्तै रमिता देख्न पाए |
धनुषा, साउन २२ । चालकबिना नै रेलको इन्जिन २९ किलोमिटर यात्रा गरेर जनकपुर आइपुग्यो भन्दा अचम्म लाग्न सक्छ, तर जनकपुरवासीले आज यस्तै रमिता देख्न पाए । कुरा हो जयनगरको । दिनको ३ः४० बजे भारतको जयनगरबाट जनकपुर आउन तयारी अवस्थामा रहेको रेलको इन्जिन यात्रु र बोगी (अन्य डिब्बा) लाई जयनगरमै छाडी चालकबिना नै जनकपुर आइपुगेको छ । रेलका चालकले इन्जिन स्टार्ट गरी डिजेल निकालेर सो डिजेल अन्यत्र राख्न गएको बेला एक्कासी चालकबिना नै इन्जिन जनकपुरतर्फ गुड्न थालेको थियो ।प्रतिघण्टा ५० किलोमिटरको गतिमा आएको सो इन्जिन जनकपुर रेल्वे स्टेसनमा आइपुगेर एक्कासी रोकियो । पर्याप्त सावधानी अपनाइएका कारण यस घटनामा मानवीय क्षति भने हुन पाएन । जयनगरबाट चालकबिनानै इन्जिन हिँडेको थाहा पाएलगत्तै कुनै दुर्घटना हुन नदिन जनकपुरमा सुरक्षाकर्मी र रेल्वे कर्मचारी सतर्क भएका थिए । दू्रतगतिको ५३५ जेड डिएम ५ नम्बरको सो इन्जिन एक नम्बर लिकबाट आएको थियो । जनकपुर स्टेसनमै १ नम्बर लिक काटेर ३ नम्बरमा गाडियो भने जनकपुरबाट जयनगरतर्फ हिँड्न तयार रहेको रेल र स्टेसनमा रहेका यात्रुलाई त्यहाँबाट हटाइएको थियो । द्रूतगतिमा जनकपुर आइपुगेको सो इन्जिन २ नम्बर लिकमा बनाइएको खाल्डो र पुलको डन्डामा अडियो र दुर्घटना हुनबाट जोगियो । जनकपुर रेल्वेका निमित्त महाप्रबन्धक रामेश्वर यादवले सो घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको बताए । जयनगरमा रहेको सो रेलका मुख्यचालक रफिद कवाडीले एयर हटाएर मोबिल राख्न लाग्दा इन्जिन आफैँ स्टार्ट भएर हिँडेको टेलिफोनबाट जानकारी दिए ।
No comments:
Post a Comment