Thursday, July 11, 2013

नेपाल देश छ र कतै भनी मलाई सोध्दा

नबराज खड्का, दोलखा, हाल इजरायल
 सानो जागिर खाएको  थिएँ खान लगाउन घर व्यवहार चलाउन पनि कठिन थिएन । जागिर खाएर बचेको समय घर व्यवहार र कहिले काँही समाज सेवा तिर पनि खर्चिन भ्याउथें । यसै गरी दिनचर्या बित्दै हुन्थ्यो म  स्वाभिमान र आत्मा सम्मानको साथ शीर ठड्याएर  बाँची रहेको अनुभूति गर्थें । समय र देशको परिस्थिति संगै मेरो पनि इच्छा, चाहना आवश्यकता र बाध्यताहरु थपिदै गए त्यसैले आज भन्दा झन्डै सात बर्ष अगाडि भित्री मनले नमान्दा नमान्दै धमिलो मन बनाएर बैदेशिक राजगारीमा डलर कमाउन भनी इजरायल आई पुगें । त्यो भन्दा अगाडि कहिल्यै प्लेन चढेको थिइन  र राम्रो संग देखेको पनि थिइन । पढलेख गरेको शिक्षित नै भए पनि हिब्रु भाषाको ज्ञान नभई अदक्ष कामदारको रुपमा  इजरायल काम गर्न आउनु पर्दा मनमा निकै डर लागिरहेको थियो । १ डिसेम्बर २००६ को दिन इजरायलमा आइपुगें इजरायलीहरुले छोटो समयमा नै मरुभूमीमा चुहाएको पसिनाले भएको विकास, उन्नति प्रगति देख्दा मलाई धेरै अचम्म लाग्यो र मेरो मन अझै धमिलो भयो र दुख्यो किन कि हजारौं बर्षको इतिहाँस बोकेको विकासको असिमित सम्भावना भएको प्रकृतिको एक सुन्दर रचना मेरो प्राण भन्दा प्यारो  देश नेपाल संसारकै गरीव मध्येको एक गरीव र भिखारी भएर अरुसंग हात पसारी रहेको थियो र देशमा शान्ति, विकास र रोजगार नहुँदा म जस्ता लाखौं नेपालीहरु बिदेशिनु परेको थियो त्यो समस्या अहिले
अझ भयाबह बनी रहेको छ ।

धेरै कमाउने आशा लिएर मनमा पिडा र आखाँमा आँशु थाम्दै इजरायल आई पुगेको दुई दिन पछि मलाई काममा लगियो, मैले एउटा बुढा मान्छेको रेखदेख गर्नु पर्ने रहेछ । उ अंग्रेजी बोल्न जान्दैन थियो मैले उ संगै इजरायलको हिब्रु भाषा सिक्ने कोसिस गरें । घर छोडेर टाढा कहिल्यै नगएको, बिहान १० बजे जागिरमा गएर ४ बजे घर फर्कने गरेको तर इजरायलमा भने २४ सै घण्टा काममा नै सिस्नुको किरा झैँ भएर बस्नु पर्ने र हप्ताको एक दिन मात्र बिदा पाउने हुनाले मैले आफुलाई पिंजडाको सुगा जस्तो भएको महशुस गरें । अरुको खटन पटन र आदेशमा कहिल्यै नपरेको इजरायलमा पराइको खटन र आदेश मेरो लागि फलामको च्युरा जस्तै लाग्थ्यो । मनमा  हरेक कुरा खेल्थ्यो पीडा हुन्थ्यो घरमा फोन गर्दा बोली पुर्याउन गाह्रो हुन्थ्यो आँखाबाट आशुँ बर्सिन्थे अनि विचैमा फोन राखी दिन्थें तैपनि मसँग इजरायलको काम छोडेर नेपाल फर्कने अवस्था थिएन । जस्तो सुकै दुख पचाएर पनि काम गर्ने पर्ने बाध्यता थियो । विस्तारै हिब्रु भाषा जान्न थालें, समस्या भयो भने इजरायलमा रहेका पुराना नेपाली साथीहरुलाई फोन गरेर अर्को कुरा इजरायलीहरुको खान पिन र चालचलन नेपालीको भन्दा फरक भएकोले मलाई सकस बनाएको थियो । इजरायलीहरुले खाए जस्तै खानेकुरा खान भने मलाई धेरै गाह्रो भयो किन कि इजरायलीहरू जुठोको कुनै पर्वाह नगर्ने रहेछन् खाने कुरा त काट्दा केलाउँदा देखि नै जुठो हाल्ने पकाए पछि त झन् कति हो कति यो कुराले पनि मलाई धेरै सतायो । हाम्रो नेपालमा यसरी पकाएको भाँडामा जुठो नहाल्ने इच्छा हुनेले मात्र एक आपसमा खाने चलन बाट हुर्केको म मैले थाहा पाएको देखि मेरो बुबा आमाको पनि जुठो खाएको थिइन, इजरायलको यो परिवेश मेरो लागि धेरै कठिन भयो । मैले काम गरेको घरमा भनेँ म यस्तो जुठो खान सक्दिन  हामी नेपालीको यस्तो चलन हुदैन म हिन्दु धर्म मान्ने भएकोले गाईको मासु पनि खाँदिन मेरो खानेकुरा आफै पकाएर खान्छु त्यसपछि तिनीहरुले मेरो कुरा बुझे मैले आफै पकाएर खान थालें त्यस पछि मलाई आङ हलुका भयो निकै सहज अनुभव भयो । तैपनि भोज भतेरमा जाँदा त जुठो खानै पर्ने बाध्यता नै हुन्थ्यो ।

एवम् रीतले दिनहरु बित्दै जाँदा विस्तारै नेपाली साथीहरुसंगको चिनजान बढ्दै गयो । बिदामा तेलाभिब भन्ने शहरमा जाँदा साथीहरु संगको भेटघाट र खानपिनले मन हलुंगो हुन्थ्यो तर फेरी साथीहरु संग छुटेर काममा फर्कने बेला हुँदा जीउ नै भारी भएर आउँथ्यो । नेपालको घृणित राजनीति अझ भनौं स्वार्थी नेताहरुको मनपरीतन्त्र र व्यवहारले देशले विकासको गति लिन नसकेकोले नेपाल र नेपालीले भोग्नु परेको दुर्दशाबाट म दुखी र आक्रोशित भइरहन्थें । मेरो मनले छिन् छिनमा भन्थ्यो हाम्रो नेपाललाई डोर्याउने नेताहरुले समाजवाद र साम्यवादका ठूला ठूला कुरा नगरी राष्ट्र र राष्ट्रियताप्रति व्यावहारिक रुपले इमान्दार भएर लागिदिएको भए लोकतन्त्र अनि गणतन्त्र संस्थागत हुन सक्थ्यो, हाम्रो देश कति बिकसित हुन्थ्यो हामी नेपालीहरु बिदेशमा हेपिएर काम गर्न होइन ति बिदेशीहरु चाहिँ नेपालमा काम खोज्न आउँथे  तर मेरा ति भावनाहरुलाई पोख्ने कुनै माध्यम थिएन ।

सन् २००७ को मध्ये तिरको कुरा हो प्युठान घर भई इजरायलमा मै जस्तो काम गर्ने अर्का एक जना साथी श्रीकृष्ण भण्डारीसंग चिनजान भयो । उहाँ तिक्ष्ण र जिज्ञाशु दिमाग भएको, अलि चन्चले स्वभावको, मिलनसार र कम्प्प्यूटरको राम्रै ज्ञान भएको हुनुहुदों रहेछ र अरु तीन जना साथी हरि मानन्धर, विष्णुप्रसाद तिमल्सिना र चिरन्जिवी पाण्डेसंग मिलेर इजरायलमा पहिलो पल्ट  नेपाल इजरायल डट नेट नामको वेव साइट खोल्ने अन्तिम तयारीमा हुनुहुँदो रहेछ मलाई पनि खुसी लाग्यो । उहाँहरुले www.nepalisrael.net को स्थापना गर्नु भयो जुन अहिले ए1नेपाल प्रा.लीको नामले पनि नेपाल सरकारसंग दर्ता भएको छ त्यति खेर मलाई कम्प्युटरको केही ज्ञान थिएन तर समाचार लेखन लगायतका केही कुराहरुमा भने जानेको सल्लाह दिंदै गएँ कृष्णजी लगायतका साथीहरुले  राम्रै मिहेनत गर्दै जानु भयो र मैले पनि मेरो मनमा बिदेशिनु पर्दाको पीडा, राष्ट्रप्रेमको भावना र देशलाई सही बाटो दिन नसक्नेहरु प्रतिको आक्रोसहरुलाई विचार विश्लेषणको माध्यमबाट उक्त वेव साइटमा लेख्ने मौका पाएँ र निरन्तर कुनै पूर्वाग्रह विना नेपालको राष्ट्र, राष्ट्रियता, राजनैतिक विकृति र विसंगतिको बारेमा कलम चलाउदै गएँ तर मेरो पत्रकारितामा खास पूर्व अनुभव थिएन बाध्यताको उपज मात्र थियो । मेरो अन्तरात्माको रुँची त मीठा मीठा रचना गर्ने र गायक बन्ने थियो तर मसंग भएको आन्तरिक क्षमतालाई विकास गर्ने मेरो चाहना नेपाल हुँदादेखि नै गुम्सिएर रहेको थियो । समय र परिस्थितिले मलाई त्यस्तो अवसर दिएन तैपनि मनमा झिनो आशा राखेको थिएँ ।

इजरायलको रोजगारीमा आजसम्म रहंदा सुनसरी घर भएका अर्का एक जना संगीतकार साथी रियाज शिवाकोटीसंग पनि नजिकबाट चिनजान भयो । उहाँको गीत संगीत प्रतिको रुची र मेहेनत निकै प्रशंशायोग्य रहेछ । आफु जुन काममा गए पनि साथैमा गितार र तबला लानु हुँदो रहेछ अनि त्यो घरको मालिकलाई भन्नु हुँदोरहेछ मलाई गाउन र बजाउन दिनु पर्छ यदि त्यो घरमा गीत गाउन र बजाउन नपाए त्यो काम छोडी अर्को काम खोजेर जानु हुँदोरहेछ । यसरी जुन काममा गए पनि रियाजजीले राती पनि नसुतेर कडा मेहेनत गरी संगीत सिक्दै आफ्नो गीति एल्बम पनि निकाली सक्नुभएको छ, अरुका रचनामा संगीत गर्दै स्वर भर्ने काम पनि एक पछि अर्को गर्दै हुनुहुन्छ भने केही नेपाली फिल्मका गीतमा संगीत र स्वर पनि दिनुभएको छ उहाँको म अझ प्रगतिको शुभकामना दिन चाहन्छु । मेरो लेख रचनाहरु पनि उहाँले पढ्नु हुँदोरहेछ खुसी लाग्यो मेरो रुची र इच्छाको बारेमा उहाँलाई राम्ररी थाहा भयो र उहाँले मलाई भन्नु भयो तपाई गीतहरु रचना गर्नुस् म त्यसलाई संगीत गर्छु त्यसले मलाई थप हौसला मिल्यो र मैले पनि गीत लेख्ने अठोट गरें र सोचें वर्तमान अवस्थामा  नेपाल र नेपालीको पिडा र  व्यथा बोकेको राष्ट्रिय गीत लेख्छु भनेर । इजरायलको सरकारी स्तरमा नेपाल भन्ने छुट्टै अस्तिवको स्वाधीन र सार्वभौम मुलुक हो भन्ने भए पनि सर्वसाधारण इजरायली नागरिकहरुलाई नेपाल देश छ भन्ने थाहा रहेनछ म नेपाली हुँ भन्दा पनि धेरै इजरायलीहरुले हामीलाई होदु (भारतिय)भन्दा रहेछन् यो कुराले मलाई झन् मन दुखायो । मलाई लाग्छ मैले मात्र होइन अरु देशमा रहनुभएका नेपालीहरुले पनि यो कुरा सुनेको भोगेको हुनुपर्छ । आफ्नो देशमा शान्ति र राजनैतिक स्थिरता हुन नसक्दा उब्जिएको विकराल समस्याले मेरो मात्र होइन श्रम गरी खाने सारा स्वाभिमानी राष्ट्रप्रेमी नेपालीको मन पोली रहेको अवस्थामा भारतिय शासकको  गिद्दे नजरले नेपालको सिमाना झन् दिन प्रतिदिन मिची रहेको छ अनि हाम्रो देश चलाउने जनताका प्रतिनिधि भन्नेहरु त्यसको प्रतिवाद गर्नुको सट्टा नेपाली जनतालाई नक्कली राष्ट्रवादको कुरा गरेर तिनकै खुट्टा ढोग्न एक पछि अर्को लाम लागेर गई रहन्छन् अनि कसरी हाम्रो राष्ट्रियताको जगेर्ना हुन सक्छ त्यसका लागि हामी सचेत नागरिकहरु पनि जागरुक र सजग हुन जरुरी छ ।  आफ्नो मातृभूमी नेपाललको  बिकास गर्न मेहेनतका साथ पसिना बगाउनेहरु र बिदेशी रोजगारीको क्रममा सिकेको ज्ञान सीप स्वदेशमा लगी देशको हीतमा उपयोग गरौं  र विश्व सामु  नेपाललाई चिनाउन लागि परौं भन्ने भाव बोकेको यो राष्ट्रिय गीत मैले रचना गरेको छु यसलाई संगीतकार रियाज शिवाकोटीले संगीत गर्नु भएको छ भने वरिष्ठ गायक रामकृष्ण ढकालले स्वर दिनु भएको छ । मैले आशा गरेको छु राष्ट्रप्रेमी स्वाभिमानी तपाइहरु सबैले यो गीतलाई मन पराई मलाई थप हौसलाको लागि सल्लाह, सुझाव र मायाँ दिन भुल्नु हुने छैन भन्दै तपाइहरु माँझ मेरो पहिलो रचना ”नेपाल देश छ र कतै भनी मलाई सोद्धा“ भन्ने बोलको यो गीत तलको भिडियो बाट सार्वजनिक गरेको छु कृपया सुनेर आफ्नो प्रतिकिया दिनु भए म आभारी हुने छु ।
प्रतिकृयाको लागि  मेरो  फेसबुक पेजमा जान यहाँ  क्लिक,, नवराज खडका

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।