Wednesday, August 21, 2013

» हल्लैहल्लाको भुँवरीमा तामाकोसी -

राजेन्द्र मानन्धर
प्रत्येक विस्फोटको आवाजसँगै माथिल्लो तामाकोसीमा केही मिटर सुरुङ जमिनभित्र पसेको प्रगतिको संकेत गथ्र्यो, केही अघिसम्म । अहिलेभने विभिन्न स्थानबाट ११ किलोमिटर जमिनभित्र गैसकेकोले सुरुङ बनाउन गरिएको विस्फोटको हल्ला बाहिर आउँदैनन् । विस्फोटको आवाजले बाहिरी वातावरण नबिथोलिए पनि क्षणक्षणमै फैलने अनेक खाले हल्लाहरूले भने तामाकोसीको गतिमा बिथोलिने भय बढ्दै गएको छ । क्षणभरमै परालको आगोझैं फैलने हल्लाहरूले यतिखेर रोगको पहिचान हुन नसकेको बिरामीजस्तै तामाकोसी आतंकित छ । प्रगतिको लक्ष्य चुम्दै गरेको राष्ट्रिय गौरवको यो आयोजना कतिखेर कुन हल्लाको सिकार हुने हो, अनुमान गर्न पनि कठिन छ ।
आधा काम सकिएर बाँकी प्रगतिका लागि निरन्तर अघि बढिरहेको आयोजनाको जीवनमा उब्जिएको समस्या समयमै समाधान गर्न नसकिए ४५६ मेगावाटको
बिजुली उत्पादन हुने राष्ट्रिय आकांक्षामा धब्बा लाग्नसक्ने खतरा छ । तिब्बती सिमाना नजिक दोलखाको दुर्गम गाउँ लामाबगरको भूमिमा बन्दै गरेको आयोजनाबारे हल्ला सिंहदरबारस्थित मन्त्रिपरिषद् अध्यक्षको कर्यकक्षमा समेत पुगेको छ । भूमिगत गृहको ६० मिटर क्षेत्रको सिलिङ चर्किएर मर्मत भइरहेको विषयले आयोजनामा निर्माण भैसकेको करिब ११ किलोमिटर सुरुङ नै गुणस्तरहीन भएको हल्ला आयो । रेजबोरिङ मेसिनको विषयसंँग जोडेर चरम भ्रष्टाचारको अनुमानित आरोपहरू चर्चाको शिखरमा पुग्यो । आयोजनाको बन्न बाँकी ३५०० मिटर सुरुङको डिजाइन परिवर्तन गर्नुपरेको घटनालाई बनिसकेको सुरुङ नै काम नलाग्ने भयो भन्ने हल्लाहरू समाचारकै विषय बन्यो ।

यस्तो हल्लाहरूले ३५ अर्ब २९ करोड स्वदेशी पुँजीमा निर्माणाधीन आयोजनामा पहिलेदेखि नै आखाँ गाड्ने स्वदेशी तथा विदेशी जलस्रोत दलालहरूलाई फेरि एकपटक खेल खेल्न मद्दत पुगेको छ । किनभने स्वदेशी पुँजीबाटै ठूलो आयोजना सफलतापूर्वक

सम्पन्न भएको सन्देश कुनै पनि हालतमा सुन्न नचाहनेलाई तामाकोसीको अहिलेको हल्लाहरूले ठूलो राहत मिलेको छ ।

तामाकोसीको आधिकारिक भनाइमा सत्यता छ भने चर्किएको भागका 'टि्रटमेन्ट' र डिजाइन परिवर्तनले थप २ अर्ब लागत बढ्छ । मन्त्रिपरिषद् अध्यक्षको टेबलमा ज्ञापन लिएर गएको दोलखाका राजनीतिक दलका टोलीलाई तामाकोसीले हालको समस्याले तामाकोसीमा लागत नबढ्ने पनि स्पष्ट पारेको छ । चट्टानयुक्त भूगोलका कारण सुरुङ निर्माण गर्दा बच्ने करिब २ अर्बले हालको समस्या पूर्ति हुने दाबी छ ।

सञ्चारमाध्यमहरू र केही जिम्मेवार व्यक्तिहरूले सुरुङ चर्कनुलाई गम्भीर रूपमा लिँदै सचेत गराएपछि आयोजनाबारे चिन्ताजनक हल्लाहरू आएका हुन् । ऊर्जा मन्त्रीस्तरको टोलीले तामाकोसीको अवस्थालाई सामान्य रूपमा लिएपछि पनि गुणस्तरबारे हल्लाहरूले गम्भीर अवस्था सिजर्ना गर्दै जानु चिन्ताजनक विषय हुन् ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरको नर्वेको नेरकन्सल्ट र जमर्नीको लाह्मेयर जस्ता ख्याति कमाएको परामर्शदाताहरूले सुरुङ मार्गहरू निर्माणको क्रममा यस्तो समस्याहरू देखिनुलाई सामान्य भनिरहेका बेला अन्यले गुणस्तरहीन भनेर भन्नुका आधारहरू स्पष्ट हुनसकेको छैन । कन्सल्टेन्टकै सल्लाहमा आएका अन्तर्राष्ट्रिय स्तरको प्राविधिक टोलीले पनि प्राकृतिक कारण हो भनिरहेको अवस्थामा कमसल साधन प्रयोग गरिएको र भ्रष्टाचार भयो भन्ने सतही आरोपले स्वदेशी श्रम र पुँजी परिचालनमा अवरोध आउने खतरा पनि छ । सुरुङको डिजाइन परिवर्तनबारे भने परामर्शदाताको कांँधमा पूर्ण दोष थुपार्न सकिन्छ । प्रारम्भिक बेला तोकिएको डिजाइन गलत ठहर्‍याउंँदै अर्को डिजाइन परिवर्तन गर्ने र हाल प्रारम्भिक कालकै डिजाइन ठीक छ भन्ने एउटै परामर्शदाता हुन् । एउटै परामर्शदाताले डिजाइन परिवर्तनबारे तामाकोसीलाई दिएको सुझावहरूले वढी खर्च भएकोप्रति नेरकन्सल्ट र लाह्मेयरको परामर्शप्रति भने आयोजना सचेत रहनैपर्छ । धन्न निर्माण हुन बाँकी रहेको भागमात्र परिवर्तनको सल्लाहलाई भने सम्मान गर्नैपर्छ, नत्र तामाकोसीले ३,५०० मिटर सुरुङबाट मात्रै सोझै अर्को एक अर्बजति गुमाउनुपर्ने थियो ।

'स्याल पनि कराउनु कुखुरा पनि हराउनु' सरह जब प्राविधिक समस्या आएको चर्चा भयो, तब तामाकोसीका दुई हस्तीहरू उजुरीको आधारमा अख्तियारको छानबिनको सूचीमा परेको घोषणा भयो । त्यसैबीच ठाउँ-ठाउँमा सरोकार समितिको नामबाट ामाकोसीमा मागहरूको ठेली बुझाइन थालियो । विक्रम सम्वत् २०६३ सालदेखि वातावरण विकासमा हुंँदै आएको कामबारे यसअघि औपचारिक रूपमा कहीं कतै प्रश्न उठेको थिएन । कुन आशयले हो, आयोजनाको आधा काम सकिसकेपछि अख्तियार र सतर्कता

केन्द्रको दृष्टि पर्नेबित्तिकै वातावरण विकासको रकम भ्रष्टाचार भएको आरोपसहित मागपत्रहरू मन्त्रालय तहसम्म पुर्‍याइयो ।

सात दिनभित्र दुई अलग समितिहरूले स्थानीय तहदेखि मन्त्री स्तरसम्म पुर्‍याएको मागपत्रहरूमा तामाकोसीको हितमा भन्दा पनि एकले अर्काको खण्डन गर्दै विभाजित भएकोले निजी स्वार्थ अनुकूल हो कि भन्ने आँकलन गर्न सकिन्छ । तामाकोसी आयोजना तोकिएकै समयमा सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सरोकार समितिहरू आयोजनाका कर्मचारी सरुवा गर्ने र रोक्ने भन्ने जुहारीमा केन्दि्रत देखिएको मागपत्रबाट स्पष्ट हुन्छ ।

आयोजनामा कर्मचारी सरुवा हुनु र नयाँ आउनु नियमित प्रक्रिया हो । उजुरीको आधारमा सावर्जनिक पद धारण गर्ने व्यक्तिहरूलाई अख्तियारले छानबिन गर्नु पनि एक प्रक्रिया नै हो । सायद उक्त हेक्का नभएर नै होला, दोलखा जिल्ला उत्तरी क्षेत्र नागरिक समाजको मागपत्रमा कर्मचारीको नाम नै तोकेर सरुवा गर्नुपर्ने मागदाबी छ । कर्मचारीलाई आयोजना क्षेत्र निषेध गर्ने विज्ञप्ति जारी गरेर कर्मचारीहरूलाई त्रसित बनाउने प्रयत्न पनि भएको छ ।

निर्वाचन आचरसंहिता लागू भैसकेको बेला नियुक्ति र सरुवाको कुरामा आन्दोलन गर्नु अप्ठ्यारो विषय हो । डेढ वर्षदेखि महत्वपूर्ण पदहरू खाली हुनु कमजोरीको विषय भए पनि पदपूर्ति गर्नेतर्फ चासो नदेखाउनुको पछाडिको रहस्य सञ्चालक समिति, नेपाल विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले जान्ने विषय हुन् । तर पद खाली भएकै बेला आयोजनाको काम आश्चर्यजनक ढंगबाट प्रगति भएकोतर्फ भने मूल्याङ्कन गर्न जरुरी छ, जसले अरु आयोजनाहरूका लागि नमुना बन्न सक्छ । उक्त बेलामा काम नगर्ने तर आयोजना क्षेत्रको भत्ता खाएर दुरुपयोग गर्ने कर्मचारीहरूलाई डिजिटल हाजिर राखेर कारबाही यही अवधिमा थालियो । जसले सबै कर्मचारी बिहानदेखि राति अबेरसम्म आयोजनास्थलमै खटिन थाले । सबै कर्मचारी कार्य क्षेत्रमा भएपछि धमाधम निर्णय हुन थाल्यो, काम अघि बढ्न थाल्यो र दसंैतिहार जस्ता विदाका दिनहरूमा काम भयो ।

ठूलो र दूरगामी महत्त्व राख्ने हुँदा तामाकोसी आयोजनाले सदरमुकाम चरिकोटदेखि लामाबगरसम्म करिब ६८ किलोमिटर भागलाई प्रभावित क्षेत्र मानेको छ । एक नगर र करिब ९ गाविसलाई प्रभावित क्षेत्र मानेर विकासको सबैभन्दा महत्वपूर्ण मानिने सडक सञ्जाललाई व्यवस्थित गरेपछि तिब्बती सीमा क्षेत्रका वासिन्दाहरूसमेत मोटरबाट आवत-जावत गर्ने सुविधा प्राप्त गरिरहेका छन् । हालसम्म आयोजनाले वातावरणीय विकासमा ५ करोड ६१ लाख खर्चेर प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य र भौतिक आवश्यकताहरू केही मात्रामा भए पनि पूर्ति गर्दै आएको छ । ७ करोड ८० लाख खर्चेर जनताको क्षति भएका जग्गाहरू खरिद गरिदिएको छ । विद्युतीकरणमा १० करोड खर्च गरेर अहिले पनि केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको गाउँहरूमा बिजुली पुर्‍याउने लक्ष्य राखेको छ । अझै १८ करोड खर्च गर्न बाँकी छ ।

जनशक्ति, स्रोतसाधन र पुँजी परिचालनमा वृद्धि गरेरै भए पनि निर्धारित समय विक्रम सम्वत् २०७२ साल चैतभित्र ४५६ मेगावाट विद्युत उत्पादन गर्न कुनै कसर राख्नुहुन्न । यो प्रतिबद्धता पूरा भए मुलुकको अन्य जलविद्युत आयोजनाहरूमा स्वदेशी लगनीको ढोका खोल्नेछ । नेपालका ठूला आयोजनाहरू स्वदेशी लगानीले सम्भव छैन भन्नेहरूलाई तामाकोसीको सफलताले मात्र मुखमा बुजो लगाउन सक्छ ।
www.ekantipur.com

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।