Saturday, August 17, 2013

मंगल ग्रह जाने लाइनमा देखिए चार नेपाली पनि

लगिदिने मात्र हामीले हो, फर्काउन चाहिँ फर्काउँदैनौँ, वन वे टिकट मात्र हो भन्दाभन्दै मंगल ग्रहमा जाने पहिलो मानव बन्नका लागि आतुर विश्वभरका करिब एक लाख जनाको भिडमा चार जना नेपाली पनि रहेछन्। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वन
फाउन्डेसनले दरखास्त आह्वान गरेको दुई सातामै एक नेपाली प्रकाश पी. सुवेदीले नाम दर्ता गराएका थिए। निवेदन दिने म्याद सकिनै लाग्दा अरु तीन जना नेपाली पनि थपिएका छन्। अरुलाई त भेट्टाउन सकिएन, नेपाली उम्मेदवारमध्ये सबैभन्दा कान्छा २१ वर्षका समिर न्यौपानेसित भने कुरा गर्न पाइयो। काठमाडौँमै रहेछन् उनी। आखिर ज्यान जोखिममा हाल्दै फर्कनै नपाउने अनकन्टार ग्रहको यात्रामा जान किन लालायित छन् उनीहरु ?

नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। अरु स्पेस मिसनभन्दा फरक यसको विशेषता के हो भने त्यहाँ पठाउनका लागि अन्तरिक्ष यात्रीहरु विश्वभर प्रतिस्पर्धाबाट छानिँदैछन्। यही विशेषताका कारण विश्वभरका मिडियाले यो प्रक्रियालाई चासो दिएर हेरिरहेका छन्।नेसनल जोग्राफिकदेखि लस एन्जलस टाइम र फक्स न्युज  आदिसम्मले यसका खबर दिएका छन्। खासमा यो संस्थाले मंगल ग्रहमा मानव बस्ती बसाउन लागेको हो। यसका लागि पहिलो लटमा चार जनालाई सन् २०२३ मा उडाइनेछ। अहिले विश्वभरबाट १८ वर्ष पूरा भएकाहरुबाट यसैका लागि दरखास्त आह्वान गरिएको हो। चार जना छान्न विभिन्न प्रक्रिया अपनाइनेछ, तालिम दिइनेछ। त्यही लाइनमा चार नेपाली समीर न्यौपाने, प्रकाश पी. सुवेदी, अनिल र केशव पाब्दे भेटिएका हुन्।

यी चार नेपालीलाई मातृभूमि मात्रै हैन मातृग्रह नै छाडेर मंगल ग्रह जान केले प्रेरित गरिरहेको छ ? काठमाडौँमा रहेका समिर न्यौपानेसित मैले यसको जवाफ खोजेको थिएँ। पढ्नुस् यो छोटो कुराकानी

हैन तपाईँलाई पृथ्वीमा फर्कनै नपाउने गरी मंगल ग्रहमा जाने इच्छा कसरी पलाएको हँ?
हाम्रो देश नेपाल प्राविधिक विकासमा पछि परेको छ। यो देशलाई संसार भर चिनाउनको लागि र सबैलाई ठूलाठूला काम गर्न प्रेरणा दिनको लागि मैले “मार्स वन” मा भाग लिएको हुँ। वन वे ट्रीप जोखिमपूर्ण भए पनि म मेरो देश र सबै मानव जातिको प्रगतिको लागि यो मिसन सफल पार्न चाहन्छु।

समिर न्यौपाने

छनौट भइहाले घरपरिवार, साथीसँगीहरुसँग छुट्टिएर मंगल ग्रहमा कसरी समय बिताउने सोच्नुभएको छ त?
परिवारसँग टाढा भएर बस्न सबैलाई गाह्रो नै हुन्छ। जीवनमा केही ठूलो काम गर्न जस्तै गाह्रो कुरा पनि त्याग्न सक्नुपर्छ। यदि म लाखौँमा छनोट भएँ भने मंगल ग्रहबाट स्याटेलाइटमार्फत् म्यासेज र भिडियोहरु परिवारलाई पठाउन पाइहाल्छु नि। मार्समा गइसकेपछि धेरै समय त मेरो मार्स बेसको काम र वैज्ञानिक अनुसन्धानमा टिम मेम्बरहरुसँग बितिहाल्ला नि।
तपाईँको यस्तो निर्णयबारे तपाईँको परिवार तपाईँको आफन्त, साथीभाइ वा गर्लफ्रेन्ड छ ? भए उनी जानकार छन् ? छन् भने उनीहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हजुर, यसबारे मेरो परिवार र साथीभाइहरुलाई थाहा छ। मैले अहिलेसम्म गर्लफ्रेन्ड बनाएको छैन। मैले सबैबाट सकारात्मक प्रतिक्रिया पाएको छु। सबैजना खुसी नै हुनुहुन्छ।

अलि ढाँट्नु भो कि के हो ? छोरालाई सँधैका लागि विदाइ गर्न त कुनै पनि आमाबुबालाई गाह्रै हुन्छ नि हैन ?
हाहा, होइन मैले मम्मीलाई यसबरे राम्रोसँग सम्झाएको छु।

मार्स वनमा दर्ता गर्न त शुल्क पनि तिर्नुपर्छ। तपाईँले कति तिर्नुभयो ?
हजुर, मार्स वनमा दर्ता गर्न शुल्क तिर्नु पर्छ। देश-देश अनुसार दर्ता शुल्क भिन्न छ। नेपालबाट एक जनाको शुल्क ६ डलर पर्छ।

केहीले त यसलाई शुल्क उठाएर ठगी खाने काम होला भनेर शंका पनि गरेका छन् नि !
मार्स वनमा मलाई पुरा विश्वास छ। त्यस्तो होला भन्ने सोच्ने हो भने त हामी विकासतर्फ बढ्न सक्दैनौ। म जान नपाए पनि यो प‌्रोजेक्टका लागि सानै भए पनि मेरो सहयोग भएको मान्नेछु।

नेपालबाट पेमेन्ट गर्न सजिलो छैन। तपाईँले कसरी तिर्नुभयो त छ डलर ?
मेरो पेपालमा केही रकम थियो, त्यसैबाट तिरेँ।

साइन्समा तपाईँको ब्याकग्राउन्ड के हो ?
कम्प्युटर। मलाई फर्मल एडुकेसन भन्दा सेल्फ एडुकेसन बढी मन पर्छ। धेरैजसो समय म घरमै प्रोग्रमिङ र वेब होस्टिङ गरेर बिताउँछु। मंगल ग्रह जान नपाए यहीँ पृथ्वीमा कम्प्युटर बिजनेस गर्ने विचार गरेको छु।

अरु तीन जना नेपाली पनि मार्स रेसमा छन्। चिन्नुहुन्छ उहाँहरुलाई ?
अहँ, व्यक्तिगत रुपमा छैन। फेसबुकमा खोज्या हो तर भेटिएन।

मार्समा जान पाउने संभावना कति प्रतिशत देख्नुभएको छ तपाईँले ?
एक लाखमा एक। के थाहा मै छनौट भइ पो हाल्छु कि !

लु गइहाल्नु परो भन्यो भने मानसिक रुपमा तयार हुनुहुन्छ हैन त ?
पक्कै पनि। मानसिक किन शारीरिक रुपमा पनि फिट हुनुपर्‍यो भनेर बिहानबिहानै एक्सरसाइज र जगिङ त थालिसक्या छु।

तपाईँको परिवार ?
मेरो मूलघर पाल्पा हो। म परिवारसँग छ वर्ष फिलिपिन्स बसेँ। अहिले सबै नेपालमै छौँ।

अरु केही भन्नुछ कि ? 
माइस‌ंसारका पाठकहरुलाई हाइ भन्नुहोला। तपाईँले लेखेको मंगल यात्रासम्बन्धी पुरानो ब्लग ‘अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !’ पढेँ। “मै पो बनुँ कि क्या हो दोस्रो आवदेनकर्ता। जान पाइहालेँ भने मंगल ग्रहबाट ब्लग लेखौँला नि, माइसंसार फ्रम मार्स ! तर इन्टरनेट पो कहाँबाट पाउने होला त्यहाँ” लेख्नुभा रैछ। गर्नुस् गर्नुस् तपाईँ पनि आवेदन गर्नुस्। इन्टरनेट त स्याटेलाइटबाट भइहाल्ला नि।

उतै जान इच्छुक अरु नेपाली
२९ वर्षीय प्रकाश पी सुवेदी। उनी आफूलाई नयाँ ठाउँ, नयाँ बाटोमा अभिरुचि रहेको बताउँछन्।

त्यस्तै २९ वर्षीय अनिल पोखरेल नेपालमा जन्मिए पनि १२ वर्षको उमेर मै अमेरिका पुगे र अहिले उनी त्यहीँको नागरिक भइसकेका छन्।

अर्का नेपाली ३१ वर्षीय केशव पाब्दे पर्यटन क्षेत्रमा काम गर्छन्। एडभेञ्चर गर्न र नयाँ कुरा हेर्न र अनुभव गर्न रुचि भएको उनले बताएका छन्।

हेर्नुस् उनीहरुको परिचय भिडियो









नेसनल जोग्राफिकले मंगल जान चाहनेहरुको परिचय भिडियोमध्येबाट केही राम्रा भिडियोहरु संकलन गरेको छ। यहाँ क्लिक गरी हेर्नुस्


मंगल ग्रह जान सबैभन्दा बढी आवेदन अमेरिकाबाट परेको छ। त्यसपछि चिनियाँको संख्या बढी छ।

छ अर्ब डलरको प्रोजेक्ट
मंगल ग्रहमा मानव बस्ती बसाउने महत्वाकांक्षी योजना बुनेको सो संस्थाले यसका लागि ६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरेको छ। अमेरिकी सरकारले सन् २०३० सम्ममा मंगल ग्रहमा मानव मिसन पठाउने लक्ष्य राखे पनि यो संस्था १० वर्षभित्रै यो काम थाल्ने योजनामा छ।

यो महिनाको अन्त्यसम्म दरखास्त लिने काम सकाएपछि यही वर्ष अन्तरिक्ष यात्री छनौटको काम हुनेछ। २०१५ देखि प्रशिक्षण सुरु हुनेछ भने १८ मा रोभर मिसन लन्च हुनेछ। कार्गो मिसन २० मा लन्च हुनेछ भने आउटपोस्टले २०२१ मा काम गर्न थाल्नेछ। २०२२ सालमा पहिलो चार जनालाई उडाइनेछ। उनीहरु २०२३ मा त्यहाँ पुग्नेछन्। २०२४ मा अर्को समूहलाई त्यता उडाइनेछ।
copied by...  

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।