Tuesday, December 17, 2013

सपिङ अर्डर घरसम्म कसरी पुर्‍याउँछ ड्रोन विमानले? Video


हवाइजहाज भन्नासाथ तपाइँ के सम्झनुहुन्छ ? आकासमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान अथवा युद्धका लागि सेनाले प्रयोग गर्ने फाइटर प्लेन? अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अम्याजनले यी भन्दा फरक प्रयोजनका लागि विमानको विकास गरिरहेको छ। तपाइँलाई आश्चर्य लाग्ला तर यो योजना सफल भएमा अम्याजनबाट अनलाइन सपिङ गरेका सामग्री ३० मिनेटभित्र मानवरहित जहाजले घरमै ल्याइपुर्याउनेछ। विज्ञान कथा जस्तो लाग्ने यो कार्यलाई सफल पार्न अहिले अमेरिकी
अनलाइन सपिङ कम्पनी सबै शक्ति केन्द्रित गरिरहेको छ। मानवरहित यो जहाजलाई प्रविधि विश्लेषकहरुले 'अक्टोकोप्टर' नाम दिएका छन्।
डिजिटल व्यापारका बादशाह मानिने अम्याजन सिइओ जेफ बेजोसलाई हालै यो कुराको पुष्टि गरेका छन् । बेजोसको योजनासँगै अमेरिका र युरोपमा मानवरहित जहाज (ड्रोन) लाई गैरसैनिक मामिलामा उपयोग गर्ने विषयमाथि गम्भीर बहस सुरु भएको छ । अहिलेसम्म ड्रोन विमान सैन्य प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको छ । अमेरिकी सेनाले अफगानिस्तान र पाकिस्तान वरपरका क्षेत्रमा आतंककारीविरुद्धको आक्रामणमा ड्रोन विमान प्रयोग गर्छ । मानव रहित ड्रोनको जनस्तरबाट चर्को बिरोध हुने गरेको छ । अम्याजनको अक्टोकोप्टर योजना सफल भएमा ड्रोन मानव हत्याको साधनबाट मानव सेवामा खटिने प्रविधिमा रुपान्तरण हुनेछ ।

'ग्राहकबाट अर्डर आएको ३० मिनेटभित्र ड्रोन विमानले ग्राहकको घरमै सामान पु¥याउनेछ', सिइओ बेजोस भन्छन्— 'अहिलेलाई २.३ किलोग्राम वजन ड्रोनले बोक्नेछ।' अम्याजनले बिक्री गर्ने ८६ प्रतिशत सामग्रीको तौल २.३ केजीभन्दा थोरै छ । ३३ बिलियन अमेरिकी डलर पूँजी भएको अनलाइन सपिङ कम्पनीले ल्याउने तयारी गरेको यो सेवालाई प्राइम एयर भनिएको छ । 'विमानलाई जिपीएस कोअर्डिनेटका अनुसार निर्देश दिइन्छ', बेजोस भन्छन्— 'त्यसपछि यो सामान लिएर उड्छ र तोकिएको जिपीएस कोअर्डिनेटमा पुग्छ ।'

अम्याजन डट कम सियाटल र वासिङ्टनमा मुख्यालय भएको विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बिक्रेता हो । डिभिडी, एमपीथ्री डाउनलोड, स्ट्रिमिङ सफ्टवेयर, भिडियो गेम्स जस्ता इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अम्याजनले किन्डल इबुक रिडर र किन्डल फायर ट्याब्लेट कम्प्युटर पनि उत्पादन गरेको छ । यस अलवा क्लाउड कम्प्युटिङ सेवा उसको मुख्य आम्दानी स्रोत हो । एक लाख ९ हजार कर्मचारी रहेको कम्पनीले सन् २०१२ मा ६१ बिलियन डलरको कारोबार गरेको थियो । कम्पनी अध्यक्ष एवं सिइओ बेजोसले यसै वर्ष संकटमा पर्दै गएको प्रतिष्ठित पत्रिका वासिङ्टन पोष्ट किनेका थिए ।

गत वर्षदेखि सञ्चालन नाफा र खुद नाफा दुवै गुमाउँदै गएको अम्याजनलाई नयाँ गति आवश्यक परेको बेला यो महत्वकांक्षी योजना अघि सारिएको हो । रेभिन्यु वृद्धि र कूल पूँजी बढाए पनि कम्पनीले सन् २०१२ मा ३९ मिलियन डलर घाटा व्यहोरेको थियो । यो सँगै अम्याजनले आफ्नो क्षमता सुधारका अन्य कामहरुलाई पनि तीब्रता दिइरहेको छ । यसै साता साइटमा अपलोड गरिएको भिडियोमा अम्याजनमार्फत् अर्डर गरिएकोे सामान ड्रोन विमानले ग्राहकको ढोकैमा पु¥याएको देखाइएको छ ।

नागरिक उपयोगका लागि ड्रोन विमान अहिले नै सञ्चालनमा आइहाल्ने भने छैन । 'पाँच वर्षभित्र हामी सबै परीक्षण पूरा गरेर सञ्चालन ल्याउँछौं', बेजोस भन्छन् । यसलाई प्रयोगमा ल्याउनु अघि अमेरिकी सरकारले अनुमति दिनुपर्ने हुन्छ । अम्याजनले अमेरिकी संघीय उड्डयन प्राधिकरण (एफएए) समक्ष नागरिक प्रयोजनका लागि ड्रोन सञ्चालनको अनुमति मागिसकेको छ । अहिलेसम्म अमेरिकी सरकारले नागरिक उपयोगका लागि ड्रोन प्रयोग गर्ने अनुमति दिएको छैन । एफएएले प्रहरी, सेना र अन्य सरकारी निकायलाई मात्र ड्रोन अनुमित दिँदै आएको छ । पछिल्ला वर्षहरुमा प्राधिकराणले यस्ता १४ सय अनुमति प्रदान गरेको थियो । अमेरिकाले २०१५ सम्ममा नागरिक उड्डयनका सबै क्षेत्रमा ड्रोनको अनुमति खुला गर्ने चर्चा भइरहेको अवस्थामा अम्याजनको अक्टोकोप्टर उड्ने सम्भावना धेरै छ । नियम परिवर्तनको कामलाई चुस्त गतिमा अघि बढाए युरोपले पनि २०१६ सम्ममा ड्रोनलाई अुनमति दिनसक्छ ।
मान्छेसँग ठोक्किन्छ ?
विश्वका सबै देशका नागरिक उड्डयन कानुनले आकासमा उड्ने विमानले जमिनका मान्छेलाई कमभन्दा कम जोखिम पार्नु पर्ने व्यवस्था गरेका छन् । तर ड्रोन विमानलाई आफ्नो वातावरणको जानकारी हुँदैन । जनघनत्व बढी भएका सहरहरुमा मान्छेसँग ठोक्किने खतरा रहने ड्रोन विशेषज्ञहरुको बुझाइ छ । 'मान्छेको घरसम्म सामान पुर्‍याउन ड्रोनको प्रयोग खतरनाक सावित हुनसक्छ', ड्रोन विशेषज्ञ ड्यारन एसल भन्छन्— 'धेरै जनघनत्व भएको ठाउँमा उड्नु कानुनविपरित पनि हुन्छ ।' अम्याजनले भने कानुन परिवर्तनीय विषय भएको बताउँदै आएको छ । 'प्राविधिक दृष्टिले हेर्दा कानुनहरु तत्कालै बद्लिन सकिने विषय हुन्', अम्याजनले भनेको छ— 'जति छिटो कानून बद्लिन्छ त्यति छिटो हामी प्राइम एयर सेवा सुरु गर्छौं ।'

यसअघि अष्ट्रेलियाको पुस्तक भाडामा दिने कम्पनी जुकालले सुरक्षा अधिकारीले अनुमति दिएमा २०१५ भित्र पुस्तक पुर्‍याउन ड्रोनको प्रयोग गर्ने घोषणा गरेको थियो । अष्ट्रेलियाली कानुनले मानवरहित विमानलाई व्यवसायिक प्रयोगमा ल्याउने बाटो खुला गरिसकेको छ । 'कुनै दिन अम्याजनको प्राइम एयरका हवाइ सवारी साधन अहिले सडकमा गुड्ने डाक सेवाका गाडी जस्तै सामान्य लाग्ने गरी उड्नेछन्', बेजोस भन्छन् ।

भिडियो

- See more at:

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।