Monday, January 27, 2014

तामाकोसी आयोजनाले बस्तीको मुहार फेर्दै

लामाबगर (दोलखा), माघ १२ - तिब्बती सीमा क्षेत्र लामाबगर गाविसका पूर्वअध्यक्ष आगा शेर्पा वैदेशिक रोजगार त्यागेर पुनः घरगाउँमा बस्न थालेका छन् ।
अध्यक्षको कार्यकाल सकिएपछि बेकामी भएर परदेशिएका उनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएपछि घर फिरेका हुन् । ४ सय ५६ मेगावाट जडित क्षमताको नेपालको हालसम्मकै ठूलो आयोजनाको चहलपहलसँगै उनले घरमै बसेर व्यवसाय र राजनीति दुवैलाई अघि बढाएका छन् । आयोजनाले ५६ प्रतिशत लक्ष्य हासिल गरेको सार्वजनिक भएसँगै आँगाले भने, 'दुर्गम लामाबगरमा आयोजनाले सडक, सञ्चार, स्वास्थ्य सेवाजस्ता विकासलाई सँगसँगै तानिरहेको छ ।'
दुई दिन जोखिम पदयात्राबाट सदमुरकाम चरिकोट पुग्नुपर्ने बाध्यता सकिएसँगै घर फिरेका पेम्बाछिरिङ शेर्पा पनि समाजसेवा र व्यापारमा जमेका छन् । आयोजनाको पेरीफेरीमा सञ्चालित होटल र खुद्रा पसलमा व्यस्त 'मिजार' भनेर चिनिने उनी द्वन्द्वकालकै बेला रोजगारीका लागि विदेश पलायन भएका थिए । गाउँका अगुवा
कहलिएका उनीलाई पनि तामाकोसीले नै गाउँमा तानेको हो ।
आयोजनाले स्तर वृद्धि र निर्माण गरेको ६८ किलोमिटर सडकमा मोटर चल्न थालेपछि द्वन्द्वकालले मृत बन्दै गएको लामाबगर क्षेत्रमा चहलपहल बढ्दैछ । तामाकोसी आयोजनाले तानेको तिब्बत जोड्ने सुरुङ मार्ग र अन्य निर्माण कार्यले लामावगर सिमा बजारमा परिणत हुँदै गएको पेम्बाछिरिङले बताए । 'त्यसैले हिजो असुरक्षा र विकल्पहीन ठानेर परदेशिनेहरू फर्केर गाउँमै उद्यम, व्यवसाय र रोजगार थालेका छन्,' उनले भनेे । गौरीशंकर टाँसीनामका भीमबहादुर तामाङले भने, 'आयोजना आएपछि गाडी चढ्न पाइयो, सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नुन बोकेर खानुपथ्र्यो, अहिले त यहीँ किनेर खान पाइन्छ ।' आयोजना आएपछि गरिखानेका लागि लामाबगर अवसरहरूको खानी हुँदै गएको उनको बुझाइ छ ।
अपुग बिजुलीका कारण अँध्यारोमा बस्न बाध्य नेपालीका लागि तामाकोसी 'आशाको दियो' बनेको
छ । आयोजनाको कामले यस भेगका बासिन्दाको जीवनस्तरमा पनि सुधार हुँदै गएको छ । कोदो, मकै र आलुले वर्ष दिन खान नपुग्ने यस भेगका बासिन्दालाई अहिले तरकारी र पशुपालन पेसाले मनग्गे कमाउन सक्ने अवसर आएको छ । 'बारीको साग, काउली वा अन्य तरकारी बिक्रीको चिन्ता छैन,' स्थानीय साइमान भन्छन्, 'कुखुरा ठूला हुनै पाउँदैनन्, सानै भए पनि खसीबोका खोरबाटै थुतेर भनेजति पैसामा किन्छन् ।'
सामाजिक विकासअन्तर्गत सुरु गरेको कृषि, पशुपालन र सिकर्मी, डकर्मीजस्ता सीपयुक्त तालिमको प्रभावले स्थानीयको आयआर्जन वृद्धि भएको आयोजनाको ठहर छ । गरिबीका कारण जोखिम कामका लागि विदेशमा श्रम गर्न जानुपर्ने बाध्यता अब लामाबगरवासीलाई
छैन । 'सीप र मिहिनेतीका लागि घरमै बसेर विदेशको जस्तै कमाउन सकिने अवस्था छ,' आयोजनाका वातावरण अधिकृत गणेश न्यौपानेले बताए । आयोजनाले वातावरण विकासमा झन्डै ४० करोड खर्च गर्नेछ ।
आयोजनाको चहलपहलसँगै व्यावसायिक सीप भएका होटल व्यवसायीहरूलाई पनि लामाबगर क्षेत्रले तानिरहेको छ । स्तरीय होटल र रेस्टुराँले स्थानीयको उत्पादन बिक्री बढाइरहेको छ । दोलखा प्रशासनको रेकर्डमा लामाबगर र गौरीशंकर क्षेत्रबाट विदेशिनेको संख्यामा कमी आइरहेको देखिन्छ । द्वन्द्वकालको अन्त्यतिर यस क्षेत्रका घरहरू बुढापाका र केटाकेटीबाहेक रोजगारका लागि विदेश गएका भेटिन्थे । अहिले भने आयोजनामा काम गर्नकै लागि केही युवापंक्तिहरू गाउँमा अडिन लागेको पूर्वगाविस अध्यक्ष आँगा बताउँछन् ।
आयोजनाले आयआर्जनका साथै स्तरीय शिक्षा र स्वास्थ्य सेवालाई पनि यस क्षेत्रमा तानिरहेको छ । आयोजनाका कारण यस भेगमा यसअघि कहिलै नपाएको दक्ष चिकित्सकीय सेवालाई समेत तानेको छ । डाक्टरको नियमितता र स्थानीय स्वास्थ्य केन्द्र सुधारिँदै गएपछि विगत जस्तो विकराल समस्या कमी हुँदै गएको गोंगर बजारकी इन्द्रकुमारी गुरुङले बताइन् । उनले भनिन्, 'पहिला पहिला महिला जंगलमा घाँसदाउरा जाँदा त्यतै नानी पाउँथे, ढुंगाले सालनाल काट्थे, घाँस दाउरामा नानी बेरेर ल्याउँथे ।' अहिले त गाउँमै उपचार पाउने भएपछि महिलाहरूले धेरै सुख पाउने गरेको उनी बताउँछिन् ।
विद्यालयको भौतिक व्यवस्थापन सुधार र पढाइको गुणस्तर बढेपछि विद्यालय नआउने र बीचैमा पढाइ छाड्नेमा कमी आएको छ । गौरीशंकर प्राविका शिक्षक पासाङ शेर्पाको भनाइमा पहिलापहिला विद्यार्थी संख्या न्यून हुनेमा माथिल्लो तामाकोसीले विद्यालय सुधारमा सहयोग पुर्‍याएपछि अहिले विद्यार्थी संख्या बढेको छ । 'सबैभन्दा राम्रो परिवर्तन यस भेगमा शिक्षकहरु नियमित बस्नु नै हो,' स्थानीयको भनाइमा आयोजना सुरु हुनुअघिसम्म यस भेगका विद्यालयमा वर्षको चार महिना पनि शिक्षक बस्दैनथे ।
दुर्गम भनेर सरकारले तलबको ९० प्रतिशतसम्म थप सेवा थपिदिए पनि वर्षको आठ महिनासम्म उनीहरू बेपत्ता हुन्थे । स्वास्थ्यकर्मीसमेत पालो गरेर बस्थे भने कहिलेकाहीँ त पियनलाई स्वास्थ्य चौकी जिम्मामा छाडेर हिँड्थे ।
२०७३ सालभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य बोकेको स्वदेशी लगानीको आयोजनाले गुणस्तरीय सञ्चार सेवालाई पनि तानेको छ । पहिलापहिला हुलाक सेवामा भरपर्नुपर्ने यस क्षेत्र अहिले मोबाइल र इन्टरनेटका गुणस्तरीय सेवासँग जोडिएको छ । स्वदेशी पुँजी ३५ अर्ब २९ करोड लगानी सुरक्षाका लागि भनेर तामाकोसीले नेपाली सेना, सशस्त्र र जनपदलाई पनि तानेको
छ । द्वन्द्वकालमा सीमा क्षेत्रको सुरक्षार्थ खटिएको प्रहरीसमेत विस्थापित हुनुपरेको लामाबगरमा सुरक्षाको प्रत्याभूति भएको स्थानीय बासिन्दा बताउँछन् ।
प्रकाशित मिति: २०७० माघ १२ ०९:१७  copied by   ekantipur 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।