Thursday, May 5, 2016

सरकार कसरी जोगाउने बच्चालाई ?

 २०७३ वैशाख २२ गते
-डिबी खड्का/स्थलगत
शान्ति थामी
दोलखा (सुस्पा क्षमावती)–  पोहोरसाल वैशाख २७ गते शान्ति थामी (२८) सुत्केरी भएकी थिइन् । संयोग मान्नुपर्छ– यसपालि डाक्टरले वैशाख २२ अर्थात् आजकै दिन सुत्केरी हुने  डेट तोकिदिएका छन् । भूकम्पले घर भत्काइदिएपछि गोठमा ओत लागेको शान्तिको परिवारले पोहोर जन्मिएकी छोरी जोगाउन सकेन । यसपल्ट पनि सरकारले घर बनाइदिने योजना मात्रै सुनायो, बनाइदिएन । टहरो बनाएर उनीहरु आफू त जसोतसो बसेकै छन्  तर जन्मिन लागेको सन्तानलाई कसरी बचाउने भन्ने पीरले शान्तिको परिवारलाई सताएको छ  ।

गत वैशाख १२ को भूकम्प जाँदा डाक्टरले तोकेको उनको सन्तान जन्माउने दिन आउन १५ दिन मात्रै बाँकी थियो ।

सुत्केरी हुने दिन जति नजिकिँदै गएकाले उनमा खुशी बढ्दै थियो । दोस्रो सन्तान भएकोले उनलाई सुत्केरी हुने पीडा खासै चिन्ता थिएन । ‘पहिला पनि त्यो पीडा भोग्कै छु’ भन्ने लागेको रहेछ उनलाई । घाममा बसेर मनमा अनेक कुरा खेलाइरहेकी थिइन् । भूकम्प आयो । पहिलो धक्कै थेगेन वर्षैंदेखि उनका ४ जना परिवारलाई चिसोतातोबाट जोगाउँदै आएको घरले । घरबाट केही सामान निकाल्न पाएनन् । घर भित्रको सामान निकाल्ने भन्दा पनि आफू र पेटको बच्चा कसरी जोगाउने उनलाई चिन्ता भयो ।  घर भत्किदाको धुलोले पूरै गाउँ कुहिरीमण्डल भयो । भूकम्प आएपछि सुरक्षित स्थानको खोजी गर्न उनी जति उनी दौडन्थिन् । पेटको बच्चा पनि त्यतिनै जोडले चल्थ्यो ।

घर भत्किएपछि  नजिकैको गोठमा बसिन् । न ओड्ने थियो, न ओछ्याउँने । भत्किएको घरले च्यापिएको भाडा निकालेर खाना पकाए । सोत्तरको ओछ्यानमा रातहरु कटे ।  नियमित आउने पराकम्पनले तर्साइरहन्थ्यो । १३ गतेको अर्को शक्तिशाली भूकम्पले थप त्रसित बनायो ।
भूकम्पपछि पनि नियमित स्वास्थ्य चेकजाँच गराउन स्वास्थ्य संस्थामा गइन । बच्चाको अवस्था ठिकै रहेको र सुत्केरी हुने दिन नजिकै आएको स्वास्थ्यकर्मीले बताएपछि उनी खुसी हुन्थिन् । स्वास्थ्यकर्मीले दिएको अन्तिम दिन २७ गते सुत्केरी बेथै लागेन । उनको मनमा डर लाग्यो । ‘वैशाख २८ गते चेक गर्न गएँ, ठिकै छ भनेपछि फर्के,’ शान्तिले भनिन्, ‘बेलुकी पख बेथा लाग्यो । स्वास्थ्य केन्द्र जाने भन्दा भन्दै घरमै छोरी जन्मियो ।’ गाउँकै महिला स्वम्सेविका प्रतिमा थामीले बच्चाको सालनाल काटिदिइन्  । छोरी भइन् । शान्तिको मनकै मागेकै पुग्यो । किनभने छोरा छँदै थियो । सुत्केरी भएपनि बस्ने ठाउँ त उही गोठ थियो । उनको श्रीमान् कालुमान थामीले जसोतसो एउटा ओढ्ने लुगाको जोहो गरेका थिए ।
वैशाख २९ मा शान्तिकै छिमेकी गाबिस सुनखानी केन्द्रबिन्दु भएर ठूलो भूकम्प गयो । ‘सुत्केरी भएको २४ घण्टा पनि भएको थिएन,’ उनले भनिन्, ‘सबैजना भागे । उनीहरु सुत्ने गोठमा दुई वटा गाई र तीन वटा बाख्रा पनि बाँधिएका थिए ।  गाई र बाख्रा पनि दाम्लो छिनाएर उीम्कए । तर, शान्ति गोठबाट बाहिर निस्कन पनि सकिनन् । ‘बच्चा च्यापेर बसें,’ उनले भनिन् ।
भूकम्प पछि हावाहुरी चल्ने र मुसलधारे पानी पुग्थ्र्यो । कतिपटक ओत लाग्ने गोठको छानो पनि उडायो । ‘श्रीमान् गोठको छाना अठ्याएर बस्नुभयो,’ उनले सम्झिइन्, ‘म त रोएर बस्थें ।’ चिसोले होला चार दिनपछि बच्चा बिरामी पर्न थाल्यो । सुत्केरीको ओछ्यान सोत्तर सोरसार बनाएर थिए । ‘बच्चालाई ज्वरो आउने, खटिरा निस्केपछि दोलखाको गौरीशंकर अस्पतालमा उपचार गर्न लगें,’ शान्तिले भनिन्, ‘उपचार गरेपनि बचाउन सकिएन ।’

बच्चालाई के रोग लाग्यो उनले पत्तो पाइनन् । उनलाई लाग्छ, ‘गोठको बसाइँ छोरीको कलिलो ज्यानले सहेन ।’

घर भत्किएकोमा उनलाई त्यति चिन्ता छैन । तर, पाँच दिनको छोरीलाई बचाउन नसकेकोमा सम्झेर एक्लै भक्कानिर रुन्छिन् कहिलेकाहिँ ।

सुत्केरीको घाउ निको हुन नपाई छोरी गुमाउँदाको पीडा उनी अझै सम्झिन्छन् । ‘बच्चाको रोएको र दुध चुसेको अझै झलmभली याद आउँछ,’ उनी भन्छिन्, ‘घर पनि भत्कियो, चिसोले छोरी पनि गुमाएँ ।’ छोरी गुमेपछि शान्ति र कालुमानलाई बारम्बार आइरहने भूकम्पको धक्काको पनि महसुस हुनै छाड्यो । किनभने उनीहरुका लागि छोरी गुमाउनुको धक्का त्यो भन्दा ठूलो भयो । ‘जे लिनु लगिसक्यो भूकम्पले भन्ने ठान्यौं,’ शान्तिले भनिन् ।

सुत्केरी भएपछि उनको ज्यानले कहाँ सुख पायो र   । टहरो बनाउन श्रीमानेलाई सघाइन् । एक महिनासम्म रक्तश्राव रोकिएन ।  ‘छोरी त गुमाएँ, गुमाएँे, आफू पनि मरिने होकी भन्ने चिन्ता भयो,’ उनले भनिन् ,‘धामी झाक्रीलाई फुक्न लगाए । स्वास्थ्य संस्थामा पनि गएँ । एक महिनापछि रगत थामियो ।’

सबै पीडा भुलेर घर व्यवहारमा जुटिन् । असार साउनको खेतीमा मेलापात गरिन् । आफनो पनि खेती लगाइन् । असारसम्म रक्तश्राव भयो । साउनसम्म महिनावारी भएकै थिएन । महिनावारी नभएपछि गर्भ रहला भन्ने उनीहरुले सोचेनन् । ‘महिनावारी नभएपछि असोजतिर चेक गर्न जाँदा गर्भ पो भन्यो,’ उनले भनिन् । स्वास्थ्य संस्थामा नियमित जाँच गराइरहेकी छिन् । स्वास्थ्य खबरको टोलीले बैशाख १८ उनकै घरमा भेट्दा आराम गरिरहेकी थिइन् । स्वास्थ्यकर्मीले आजकै दिन (वैशाख २२) सुत्केरी हुने दिन तोकेको छ । ‘अहिलेसम्म त भएको छैन,’ बुधबार अपरान्हत महिला स्वमसेविका प्रतिमा थामीले टेलिफोनमा भनिन् ।
शान्तिलाई उही पीर छ– यसपल्ट पनि कसरी जोगाउने सन्तानलाई ?
swasthyakhabar.com वाट

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।