Thursday, May 12, 2016

दोलखाका भूकम्पपीडित अवस्था: एक वर्षमा पनि उस्तै

सुवास योञ्जन
२०७३ बैशाख ३०
जफे (दोलखा): एक वर्षअघि भूकम्पमा परिवारका चारजना सदस्य गुमाएर घरबारविहीन भएकी ६४ वर्षीया नरमाया महतको अवस्था अहिले पनि दयनीय छ । नरमाया भूकम्पको कहालीलाग्दो पीडा बिर्सने प्रयासमा परिवार गुमाएको थातथलो छोडेर खेतको गरामा बाँसका भाटाले बारेको टहरामा बसेर गुजारा चलाइरहेकी छन् ।
गत वर्ष वैशाख १२ गतेको भूकम्पमा नरमायाका पति ६८ वर्षीय अम्बरबहादुर महतसहित ३० वर्षीय छोरा उत्तम, २५ वर्षीया बुहारी दिव्या र १३ महिनाकी नातिनी दीक्षाको ज्यान गएको थियो । भूकम्पमा परी नरमायाको पनि ढाड भाँच्चिएको थियो । उनी अझै अशक्त छिन् । बाँचेका परिवारका सदस्यमा २५ वर्षीया छोरी सुनिताले बाँकी रहेका दुई नाति र नातिनीको पालनपोषण गर्दै आएकी छिन् ।
सुनिता गाउँकै एक विद्यालयमा मासिक तीन हजार तलबमा निजी स्रोतकी शिक्षिका हुन् । उनको त्यही तीन हजारले चारजनाको परिवार पालिनुपर्ने बाध्यता छ । घरमा खेतीपाती गर्नसक्ने कोही नभएपछि उनीहरू अभावग्रस्त र कष्टकर जीवन गुजारिरहेका छन् । सुनतिाले भनिन्, ‘मेरो कमाइले दुई बच्चालाई पालनपोषणदेखि आमाको स्याहारसुसार गर्न कसरी पुगोस् ? आखिर जे परिआए पनि बेहोर्नै पर्दोरहेछ जसोतसो ।'

वृद्धा नरमायाले ६ वर्षका दीपेश र तीन वर्षकी दीपिकालाई राम्रो विद्यालय पढाउने इच्छा हुँदाहुँदै पनि खर्च नभएकाले पढाउन नसेको दुःखेसो पोखिन् । उनले बाँसको टहरामा हावाहुरी चल्दा र पानी पर्दा परिवारलाई राख्न निकै समस्या हुने गरेको बताइन् । भूकम्पपीडितका नाममा गाउँमा धेरै संघसंस्था आए पनि आफूहरूको अवस्था उस्तै रहेको उनको गुनासो छ ।

नरमायाले धेरै संस्था जिल्लामा आएको सुने पनि आफूहरूले भने केही सहयोग नपाएको बताइन् । सामान्य सहयोग पाए पनि घर बनाउन कसैले सहयोग नगरेको उनको गुनासो छ । ‘घर बनाउने इच्छा त छ नि, पैसा छैन', सुनिताले भनिन् । उनले आफूहरूको जीवन निकै कष्टकर भएकाले घर बनाइदिन र परिवारलाई सहयोग गरिदिन सबैलाई अनुरोध गरेकी छन् ।

नरमायाको परिवार भूकम्पको पीडा बेहोर्ने एउटा नमुना परिवार हो । केही धेरै, केही थोरैमात्र हो, बारीको पाटामा टहरो बनाएर राहतको पर्खाइमा बस्ने यहाँका सबैजसो भूकम्पपीडितको अवस्था उस्तै छ । गत वर्ष वैशाख १२ को भूकम्पले तहसनहस भएको दोलखा वैशाख २९ गतेको भूकम्पको केन्द्रबिन्दु थियो । त्यसपछि दोलखाका बस्ती थप ध्वस्त भएका थिए ।
भूकम्पलगत्तै आएका आईएनजीओ र एनजीओले भूकम्पपीडितका नाममा अर्बौं खर्च गरेको हिसाब देखाएका छन्् तर पीडितको अवस्थामा केही सुधार आएको छैन । नरमायाको परिवारले किरिया खर्चबाहेक सरकारी राहत २७ हजार रुपैयाँ पाएको छ । दोलखामा भूकम्पबाट मृत्यु भएका एक सय ७७ जनामध्ये जफे गाविसका १३ जना छन् । त्यसमा महत परिवारका मात्र चारजनाको ज्यान गएको थियो । दोलखामा मात्र भूकम्पका कारण ८० हजार सात सय ११ परिवारका घर भत्केका छन् ।
आईएनजीओ र एनजीओको आठ अर्ब खर्च
जिल्ला विकास समिति दोलखाका अनुसार सरकारी निकाय, आईएनजीओ र एनजीओले सात अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । सरकारी कार्यालय, यूएन एजेन्सी, एनजीओ र आईएनजीओले पाँच अर्ब ५८ करोड खर्च गरेका छन् भने भूकम्पसम्बन्धी सचेतना कार्यक्रम, स्वास्थ्य, खानेपानी विद्यालयलगायतको पुनर्निर्माणका लागि दुई अर्ब २३ करोड रुपैयाँ प्रस्ताव गरेर खर्च गरिरहेको जिविसले जनाएको छ ।
जिल्लामा हाल काम गरिरहेका ११ आईएनजीओले एक वर्षमा एक अर्ब ८६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । त्यसमध्ये प्लान इन्टरनेसनलले ८४ करोड ६१ लाख रुपैयाँ ३१ गाविसमा खर्च गरेको छ । उद्धार, राहत, अस्थायी आवास निर्माण, जनचेतना कार्यक्रमलगायतमा खर्चेको प्लानको एक वर्षको प्रशासनिक खर्च १८ करोड ७० लाख रुपैयाँ छ ।
भूकम्पलगत्तै दोलखामा आठवटा संयुक्त राष्ट्रसंघअन्तर्गतका संस्था आएका थिए । तीमध्ये विश्व खाद्य कार्यक्रम फर्किसकेको छ । सातवटा यूएन एजेन्सीले वर्ष दिनमा ४९ करोड ७२ लाख रुपैयाँ खर्च गरेका छन् । सबैभन्दा बढी खर्च यूएनडीपीको १८ करोड ७० लाख र आईओएमको १८ करोड ३८ लाख रुपैयाँ देखिएको छ । डब्लूएफपीले गरेको खर्च स्थानीय साझेदार संस्थामार्फत देखाइएको छ ।

सेभ द चिल्ड्रेनले ३७ करोड ८२ लाख, एक्टेडले १८ करोड, मर्सी कप्र्सले १७ करोड, एक्सन एडले नौ करोड, कारितास नेपालले ६ करोड २० लाख, वल्र्ड भिजनले चार करोड ७३ लाख, एलडब्लूएफले ३ करोड ५८ लाख, एनएचएसएसपीले दुई करोड २१ लाख, हेल्भेटासले एक करोड ४३ लाख र हेन्डिक्याप इन्टरनेसनलले ७३ लाख रुपैयाँ खर्च गरेको छ ।
जिल्लामा भूकम्पपछि काम गर्न जिविसमा सम्झौता गर्न आएका ४३ वटामध्ये ३७ संस्थाले मात्र खर्च विवरण कार्यालयलाई बुझाएका छन् । ३७ संस्थाले एक अर्ब एक करोड ९५ लाख रुपैयाँ भूकम्पपछि खर्च गरिसकेका छन् ।
सबैभन्दा बढी रेडक्रसको जिल्ला शाखाले ३३ करोड ४१ लाख र आरआरएनले १८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ ।
-annapurnapost वाट साभार 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।