Tuesday, May 17, 2016

बाइकको मूल्य ह्वात्तै घट्यो पल्सरको मूल्य जम्मा १२ हजार मात्रै


काठमाडौं, ४ जेठ । ५८ लटको पल्सर मोटरबाइकको वास्तविक मूल्य २ लाखभन्दा बढी छ । तर, त्यही मोटरबाइक राजधानीमा १०–१५ हजारमा पनि कारोबार हुने गरेको छ । बूढानीलकण्ठको एक वर्कसपबाट गोकर्णेश्वरका मञ्जिल तामाङले १८ हजार रुपैयाँमै ५८ लटको २४१६ नम्बरको मोटरबाइक खरिद गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
वर्कसपका सञ्चालक रमेश मुखियाले ६ हजार नाफा लिएर मोटरबाइक तामाङलाई बिक्री गरेका थिए । उनले १२ हजार रुपैयाँमा मोटरबाइक आशिष कार्की र योगेश अधिकारीसँग खरिद गरेका थिए ।
यति सस्तोमा उनीहरूले बिक्री गर्न कहाँ किने मोटरबाइक ? ‘किनेका होइनन्, चोरी गरेका हुन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी विश्वमणि पोखरेलले भने, ‘त्रिवि शिक्षण अस्पतालको पार्किङबाट उनीहरूले मोटरबाइक चोरी गरेका थिए । चोरी गरेको मोटरबाइक भएकाले सस्तोमा बेचे ।
कार्की र अधिकारी पक्राउ परेपछि दुवैले लामो समयदेखि मोटरबाइक चोरी गरी बिक्री गर्दै आएको पनि खुलेको छ । महाराजगन्ज वृत्तले उनीहरूसहित मोटरबाइक चोरी र बिक्रीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

वर्कसप सञ्चालक वीरगन्ज घर भएका रमेश मुखिया, मोटरबाइक किन्ने गोकर्णेश्वरका मञ्जिल तामाङ र राजकुमार नेसुरलाई प्रहरीले पक्राउ गरेको छ । ‘हालसम्म उनीहरूले तीनवटा मोटरबाइक चोरी गरेको खुलेको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पोखरेलले भने । महाराजगन्जमा दुईवटा र गौशलामा एउटा मोटरबाइक चोरी गरी उनीहरूले बिक्री गरेका थिए ।

वर्कसप सञ्चालकले चोरीका मोटरबाइक खरिद–बिक्री गर्दै आएको खुलेको छ । नक्कली नम्बर प्लेट राखेर तीन मोटरबाइक प्रयोग भइरहेका थिए । चोरीमा संलग्न कार्की गत वर्ष पनि मोटरबाइक चोरीकै आरोपमा पक्राउ परेका थिए । तर, त्यसवेला १६ वर्ष नपुगेकाले प्रहरीले मुद्दा नचलाई छलफल गराएर मिलापत्र गराएको थियो । छुटेपछि पनि उनी सुध्रिएनन् ।

हरेक महिना राजधानीमा करिब ५० वटा मोटरबाइक चोरी भएको उजुरी प्रहरीमा पर्ने पर्छ । सबैभन्दा धेरै महाराजगन्जको त्रिवि शिक्षण अस्पतालको पार्किङबाट मोटरबाइक चोरी हुने गरेको छ । अस्पतालको पार्किङ ठूलो भएको र सुरक्षा व्यवस्था कमजोर रहेकाले त्यहाँबाट चोरी हुने गरेको हो ।
ह्यान्डल भाँची तार जोडेर स्टार्ट गर्ने र मोटरबाइक लिएर फरार हुने गरेको अनुसन्धानमा खुलेको छ । ‘अस्पतालमा जाने मान्छे तनावमा हुने र आफ्नो सवारीतर्फ ध्यान नदिने गरेकाले चोरहरूले अस्पतालको पार्किङबाट धेरै चोर्ने गरेका हुन्,’ डिएसपी पोखरेलले भने, ‘प्राय: पार्किङ गरेर अस्पतालभित्र छिर्नेबित्तिकै एउटाले सवारीधनीको पिछा गर्ने र अर्काेले चोरी गर्ने प्रवृत्ति देखिएको छ ।’

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।