Monday, June 20, 2011

अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजना सार्वजनिक गरेको छ। एक लाख नेपाली लाभान्वित हुने -


एक लाख नेपाली लाभान्वित हुने -विज्ञान अधिकारी, काठमाडौं, असार १० - मलेसिया सरकारले अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजना सार्वजनिक गरेको छ। मलेसियाले विदेशी कामदारको लागि 'घर फर्क वा वैध होऊ' योजना ल्याएको हो। मलेसियाका उपप्रधानमन्त्री मुहायद्दिन यासिनले बुधबार योजनाको घोषणा गरे।
मलेसियामा रहेका १९ लाख अवैध विदेशी कामदारका लागि यो योजना ल्याएको उनले बताए। यो योजनाबाट नेपाली श्रमिक समेत लाभान्वित हुनेछन्। मलेसियाले सन् १९९६पछि अवैध कामदारका लागि ल्याएको सबैभन्दा राम्रो अवसर हो।

'मलेसिया सरकारले अवैध कामदारका लागि ल्याएको यो सबैभन्दा राम्रो योजना हो,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले बिहीबार नागरिकसँग भने, 'मलेसियामा रहेका एक लाख नेपाली लाभान्वित हुनेछन्।' यो योजना अन्तर्गत जुलाई ११ देखि रजिष्ट्रेसन प्रक्रिया सुरु हुनेछ। उनका अनुसार यो अवसरमा सहभागी भएमा नेपाली कामदारले सहजै घर फर्किन पाउने र फेरी मलेसियामा कामको अवसर प्राप्त गर्नेछन्।

यो योजनाभन्दा अघि अवैध रहेका कामदारले जेल बस्नैपर्ने र घर फर्किन ठूलो रकम खर्चिनुपर्ने आवश्यक थियो।

'योजना नआउँदा ठूलो रकम खुवाएर घर फर्किनुपर्ने बाध्यता थियो। रकम खुवाएर समेत केही साता जेलवस्नुपर्ने बाध्यता थियो,' खनालले भने,
'योजनामा सामेल हुनेले टिकटको रकम खर्चिएर नेपाल फर्कन पाउँछन्।' उनले योजनामा सामेल नभई अवैध रुपमा बसेमा मलेसियाले कडा कारबाही गर्ने जानकारी दिए।

'मलेसियामा रहेका एजेन्टहरुले यो अवसरमा सबैलाई सहभागी गराउन हामीलाई भनिरहेका छन्,' उनले भने, 'यस्तो अवसरमा समेत सहभागी नभएमा कारबाहीको भागिदार भएर रकम र ज्यान दुबै जोखिममा पार्नु मात्र हो।'
यस्तो प्रकृया सहभागी हुनेले बिना कानुनी कारवाही स्वदेश फर्किन वा कानुनी हैसियत प्राप्त गरि पुनः मलेसियामै काम गर्न पाउनेछन्।
बिदेशी कामदारको रजिष्ट्रेसनका लागि यसक्षेत्रमा अनुभव प्राप्त कम्पनीहरुलाई रजिष्ट्रेसन एजेन्टका रुपमा नियुक्त गरिएको छ।

रजिष्ट्रेसन सकिएपछि उनीहरुको इच्छाअनुसार स्वदेश फर्किने वा आबश्यक शुल्क तिरेर मलेसियामै बसि काम गर्ने दुई अबसर प्राप्त हुनेछन्। मलेसियामा इन्डोनेसिया, बंगलादेश, नेपाल, भियतनाम लगायत बिभिन्न मुलुकका कामदारहरु अबैधरुपमा बसोवास गरिरहेका छन्।
एकपटक रजिष्ट्रेसन प्रकृया सकिएपछि सरकारले कडाईपूर्व अबैध बिदेशी कामदारविरुद्ध अभियान चाल्ने मलेसिया सरकारले जनाएको छ।



नयाँ कामदार दर्ता रोकियो
मलेसिया सरकारले अवैध कामदारलाई ल्याएको योजना सफल बनाउन नयाँ कामदार लिने प्रक्रिया भने रोकेको छ। उसले जुलाई अन्तिम समयसम्मका लागि नयाँ कामदारको (एप्रुभल) रोकेको हो।

'मलेसियाले नयाँ कामदारको दर्ता लिन रोकेको छ,' खनालले भने, 'मलेसियाले अवैध कामदारलाई व्यवस्थापन गर्न रोक लगाएको हो।' उनका अनुसार दर्ता भइसकेका कामदार भने मलेसिया जान नरोकिएको जानकारी दिए। खनालले अवैध कामदारको व्यवस्थापनपछि मलेसियाले थप धेरै कामदार लिने अवस्था रहेको बताए।
'मलेसियामा कामदारको माग अझै धेरै छ। अवैध कामदार बढी फर्किएमा नयाँ कामदारको माग बढ्छ,' उनले भने। उनका अनुसार बंगलादेशका कामदार अवैध रुपमा बसिरहेकोले तत्काल खुल्ने सम्भावना नरहेकोले नेपाली कामदारको माग बढ्ने देखिन्छ। खनालका अनुसार पछिल्लो समयमा पर्यटक भिषामा गएका ९० हजार बंगलादेशी अवैध रुपमा मलेसियामा बसिरहेका छन्।

'बंगलादेश कामदार खोल्ने/ नखोल्ने बारेमा अझै अन्यौल रहेको छ,' उनले भने, 'बंगलादेशी कामदार नखोलेमा मलेसियाको विकल्प नेपालीनै हुन्।' मलेसियाले सन् २००८देखि बंगलादेशी कामदारलाई ल्याउन रोक लगाएको छ।
बंगलादेशका नागरिकले मलेसियामा गएर त्यहीका नागरिक सँग विवाह गरेर बस्ने प्रवृति बढेकोले मलेसियाले बंगलादेशी कामदारलाई लिन रोक लगाएको हो। मलेसियाले लेबी हटाएपछि नेपाली कामदारका लागि आर्कषक गन्तब्यको रुपमा रहँदै आएको छ। मलेसियामा अहिले करिब पाँच लाख भन्दा बढी नेपाली कामदार कार्यरत छन्।



इन्टरनेटमा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://slcresult.soce.gov.np/ बाट मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ। 

  
भक्तपुर, अषाढ ६ - २०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फको यो नतिजा गत वर्ष भन्दा ९ प्रतिशतले घटेको छ ।
आंशिक तर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय परीक्षा समितिको सोमबारको वैठकले नतिजा सार्वजानिक गरेको हो ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार कुल ४ लाख ५४ हजार २२ जना परीक्षार्थीमध्ये २ लाख ३० हजार ४ सय ९९ सय जना उत्तीर्ण भएका छन् । नतिजा अनुसार २० हजार १ सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) र ८२ हजार ६ सय १९को प्रथम श्रेणी छ । सबैभन्दा बढी १ लाख ९ हजार ७ सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या ८ हजार २ सय ४१ छ ।
'झण्डै ४४ प्रतिशत विद्यार्थी एसएलसीमै फेल हुनु शैक्षिक क्षति हो', गत सालभन्दा कम विद्यार्थी उत्तीर्ण हुनुको कारणबारे नियन्त्रक गौतमले नतिजा सार्वजानिकपछि भने, 'हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि परिरहन्छ । यसले विद्यार्थीको क्षमता अनुसार विद्यालयको पठन पाठन प्रभावकारी छैन भन्ने देखाउँछ । शैक्षिक सत्रको सुरुदेखिनै प्रभावकारी शिक्षण चलाउन ध्यान दिनु पर्छ ।'
१ लाख ४४ हजार विद्यार्थी २ विषयमा अनुतीर्ण भएका छन् । ५ नम्बर ग्रेस दिदा १७ हजार ७ सय ४० जना उत्तीर्ण भएको गौतमले बताए । उनले यसपालीको परीक्षा सुरुदेखिनै विगत वर्षमा भन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए । परीक्षा गत चैत १० देखि १८ गतेसम्म चलेको थियो । प्ररम्भीक अनुमान अनुसार सामुदायिक विद्यालयको नतिजा कमजोर भएको छ । यसको विश्लेषण भने भइसकेको छैन । पछिल्लो ५ वर्षमा यो सबैभन्दा कमजोर नतिजा हो ।
शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछिमात्रै विद्यार्थीको नतिजा विश्लेषण गर्न सकिने बताए । 'अहिलेनै यसको कारण बताउन सकिन्न', उनले कान्तिपुरसित भने, 'यसैमा निरास हुनु पर्दैन । पढ्ने सबै पास हुनु पर्छ भन्ने आधारभूत कुरा हो, तर त्यसमा सुधारका ठाउ धेरै छन् । सरकार सुधारका पक्षमा छ ।' नतिजा २०६२ पछि बढ्दै गएको थियो । पछिल्लो ५ वर्षमा यो सबैभन्दा कम हो । शिक्षाविद् डा विष्णु कार्कीले यसले शिक्षक, परीक्षा तथा पठन पाठनमै प्रश्न खडा गरेकेा टिप्पणी गरे । उनले भने, '४४ प्रतिशत विद्यार्थी फेल हुनुमा कहा कमजोरी भयो, शिक्षकले पनि सोच्नु जरुरी छ ।'
पुरक साउनदेखि
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले दुई विषय अनुत्तीर्ण विद्यार्थीका लागि साउन २३ देखि ३० गतेसम्म पुरक परीक्षाको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयल जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न‌. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ ।


प्रकाशित मिति: २०६८ अषाढ ६ ०८:००  कान्तिपुर   


विद्यालय तहको अन्तिम परीक्षा एसएलसी दुई वर्षपछि १२ कक्षामा लिइने
काठमाडौं, अषाढ ७ - विद्यालय तहको अन्तिम परीक्षा एसएलसी दुई वर्षपछि १२ कक्षामा लिइने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार कक्षा १२ सम्म विद्यालय तह नै हुने भएकाले नेपाल सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको हो । गत वर्षदेखि कार्यान्वयनमा आएको विद्यालय क्षेत्र सुधार कार्यक्रमले १-१२ कक्षासम्मलाई विद्यालय तह मानेको छ । यसैअनुसार सन् २०१२ बाट कक्षा १२ मा एसएलसी लिन लागिएको हो । त्यसपछि कक्षा १० को परीक्षा क्षेत्रीय तहमा सीमित हुनेछ । १९९० सालमा सुरु भएयता हरेक वर्ष कक्षा १० मा एसएलसी परीक्षा लिइँदै आएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुकूल बनाउन कक्षा १२ मा एसएलसी लिन लागिएको जनाउँदै शिक्षाविद् डा. कमलकृष्ण जोशीले अब नयाँ संरचनाअनुसार राष्ट्रिय परीक्षा बोर्ड बन्न जरुरी रहेको बताए । नयाँ संरचनाका निम्ति अहिलेको परीक्षा नियन्त्रण कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई समाहित गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गर्ने तयारी छ । सन् २०१५ देखि कक्षा १२ मा राष्ट्रिय, १० मा क्षेत्रीय र ८ मा जिल्लास्तरीय परीक्षा हुनेछ ।
नयाँ संरचना नियमनका निम्ति शिक्षा ऐन संशोधन संसद्मा विचाराधीन छ । 'शिक्षा ऐनमा विद्यालय संरचना र राष्ट्रिय परीक्षा बोर्डको प्रस्ताव गरिएको छ,' ऐन संसद्मा रहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. लेखनाथ पौडेलले भने, 'ऐन आएपछि बाटो खुल्नेछ ।'


प्रकाशित मिति: २०६८ अषाढ ७ १२:४१ kantipur.............
फैसला सुन्नेबित्तिकै बेहोस

काठमाडौ, अषाढ ६ - सायद उनी हतकडी छुट्ने आशमा थिइन् । एक वर्षदेखि बस्दै आएको जेलको बन्द पर्खालभित्र सास फेर्ने सुरसारमा थिइन् । त्यही आशमा झापा गोलधापकी सुरक्षा श्रेष्ठ सुरक्षाकर्मी र हतकडी सँगसँगै आइतबार काठमाडौं जिल्ला अदालत पुगेकी थिइन् ।
तर उनको आशा चकनाचुर भयो । ‘सात वर्ष कैद, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति’ न्यायाधीश महेश पुडासैनीले फैसला सुनाए । उनका शब्द कानमा पर्नेबित्तिकै ४२ वर्षे सुरक्षाका हातगोडा लुला भए । उनी अदालत परिसरमै ढलिन् । उनलाई समातेर ल्याउने महिला प्रहरी वाल्ल परे ।
‘ला, अब के गर्ने होला ?’ उनको मुखमा हावा हम्किंदै एक प्रहरी भन्दै थिइन्, ‘अस्पताल लैजाने होला कि अदालतमा खबर गर्ने होला ?’
सुरक्षाको मुखबाट रगत पनि बगिरहेको थियो । प्रहरीका अनुसार पक्राउ परेदेखि उनलाई मुटुको व्यथा लागेको छ ।
‘तनाब हुने कुरा सुन्नेबित्तिकै उहाँ मूच्र्छा पर्नुहुन्छ,’ ती प्रहरीले भनिन्, ‘अहिले पनि फैसला सुनेपछि ढलिहाल्नु भयो ।’
दोलखाको खरिढुंगामा जन्मे पनि झापामा बस्दै आएकी सुरक्षालाई अदालतले अपहरण तथा शरीर बन्धक गरेको कसुरमा सजाय सुनाएको हो ।
उनले गत वर्ष एक साढे तीन वर्षीया भारतीय बालिका वैभवी चतुर्वेदीलाई अपहरण गरेर काठमाडौं ल्याएकी थिइन् । उनी दिल्लीस्थित ती बालिकाको घरमा काम गर्न बसेकी थिइन् ।
‘मलाई ऋणैऋण लागेको थियो र घर व्यवहार चलाउन पैसाको जरुरत पर्यो,’ अदालतमा सुरक्षाले साबिती बयान दिएकी छन्, ‘पैसा कमाउने धुनमा मैले वैभवीलाई पार्कमा खेल्न लगेका बेला रेल चढेर जोगवनी हुँदै काठमाडौं ल्याएकी हुँ ।’
सुन्धारास्थित सुविधा गेस्ट हाउसमा बालिकालाई राखेर सुरक्षाले दिल्लीका आफ्ना घरपट्टीसँग डेढ लाख डलर (एक करोड ५ लाख नेपाली रुपैयाँ) फिरौती मागेको साबिती बयानमा स्वीकारेकी छन् ।
‘तर मलाई पैसा लिनुअघि नै गेस्टहाउसमा प्रहरीले पक्रिहाले,’ बयानमा उनले भनेकी छन् । उनीविरुद्ध झारखण्ड बस्ने वैभवीका मामा सन्तोषकुमार ओझाले काठमाडौंमा आई प्रहरीमा मुद्दा दायर गरेका थिए । त्यही उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
गत वर्ष जेठ २८ गते अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जगन्नाथ देवलस्थित महिला कारागारमा बस्दै आएकी उनलाई साँझतिर प्रहरीले अस्पताल लगेको थियो ।
केही दिनअघि धरौटी तिर्ने आदेश हुँदा तनावका कारण एक ५० वर्षीय व्यक्ति पनि यसै गरी अदालतमै मूर्छा परेका थिए । उनको अदालतमै मृत्युसमेत भएको थियो ।
स्रेस्तेदार भरत लम्सालले अदालतमा यस्ता घटना पहिले नदेखेको बताए । ‘यी दुई घटनाजस्तो अरू मैले देखेको छैन,’ उनले भने ।
प्रकाशित मिति: २०६८ अषाढ ६ १२:००
कान्तिपुरबाट,,,,,,,,,,,,,, 

No comments:

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।