
सुशील भट्टराई, काठमाडौं, भदौ २१- मुसा देखिएर सोमबार १२ घन्टा काठमाडौंमा 'ग्राउन्डेड' भएको नेपाल वायुसेवा निगमको जहाज मंगलबार फेरि हङकङमा ग्राउन्डेड भएको छ। कारण- त्यही मुसा।
हङकङ विमानस्थलमा अवतरण गर्नु पाँच मिनेटअघि पाइलट बस्ने ककपिटमै मुसा उफ्रिएर आएको हो। अघिल्लो दिन काठमाडौंमा एयर होस्टेस मञ्जु ढकालले वर्णन गरेजत्रै मुसा हङकङमा देखिएको स्रोतले बतायो। निगम व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै जहाज हङकङमै ग्राउन्डेड गरेको छ।
'हङकङ विमानस्थल पुगेपछि जहाजभित्र एउटा मुसा देखिएकाले उतै ग्राउन्डेड गरेका छौं,' निगमका उडान सुरक्षा निर्देशक दिगम्बर राजभण्डारीले मंगलबार नागरिकसँग भने, 'नभेटिएसम्म उतै रहन्छ।'
अन्तर्राष्ट्रिय मान्यताअनुसार जहाजभित्र मुसा पसे बाहिर निस्किएको पुष्टि नभएसम्म उडाउन मिल्दैन। निगमले भने सोमबार दिनभरि खोज्दा पनि फेला नपरेपछि जोखिम मोलेरै उडान अनुमति दिएको थियो।
उक्त जहाज सोमबार राति मलेसियाको क्वालालम्पुर उड्यो। त्यहाँबाट मंगलबार बिहान काठमाडौं फर्केर फेरि हङकङ गएको हो।
यसबीच हङकङ नपुगुञ्जेल मुसा नदेखिएपछि निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले 'फेला परिसकेको' दाबी गरेका थिए।
'मुसा फेला परेको मलाई विश्वास छ, तर देखेको छैन,' उनले मंगलबार बिहान नागरिकसँग भनेका थिए, 'फिल्डमा काम गर्ने कर्मचारीले भनेपछि विश्वास गर्यौं र मलेसिया उड्न दियौं।'
निगमको बोइङ ७५७ ९एन-एसिबी जहाज सोमबार बिहान बैंकक जाने तयारी क्रममा मुसा देखिएको थियो। निगमले १२ घन्टा खोजे पनि मुसा फेला पार्न सकेको थिएन।
तर, निगमका इन्जिनियर शंकरबहादुर थापाले राति ९ बजे एउटा मुसो 'ग्ल्यु मेट'मा टाँसिएर मरेको अवस्थामा भेटियो भनी सूचना दिएको निगम व्यवस्थापनको दाबी छ।
'थापाले राति ९ बजे मुसा भेटिएको भने पनि उनले डेढ घन्टापछि मात्र निगम उच्च व्यवस्थापनलाई यसबारे जानकारी दिएका थिए,' स्रोतले भन्यो, 'व्यवस्थापनले कुरा लुकाएको छ। भेटिएको भनिएको मुसा कुनै हालतमा जहाजभित्र देखिएको होइन।'
स्रोतका अनुसार सोमबार एयर होस्टेस ढकालले जहाजभित्र ल्याएको 'टि-कफी कन्टेनर'बाट एउटामात्र मुसा निक्लिएर जहाजको पछाडि भागमा छिरेको थियो। 'व्यवस्थापनले मरेको मुसाको फोटो खिचेर ढाँटेको छ,' स्रोतले भन्यो, 'व्यवस्थापनका कुनै पनि अधिकारीले मरेको मुसाको फोटोबाहेक केही देखेका छैनन्।'
त्यही जहाज मंगलबार मध्याह्न साढे १२ बजे क्याप्टेनहरू शुक्रशमशेर राणा र इच्छाराज गुरुङले १ सय २५ यात्रु बोकेर जहाज हङकङ उडाएका हुन्। उक्त जहाज नेपाली समयअनुसार दिउँसो ४ः२५ मा त्यहाँ अवतरण गरेको थियो। उताबाट राति १० बजे ८० यात्रु बोकेर जहाज ल्याउने जिम्मा क्याप्टेनहरू युवराजकुमार भट्टराई र दीपाल शेरचनलाई थियो। दुवै क्याप्टेन यही जहाजमा हङकङ गएका थिए।
स्रोतका अनुसार हङकङमा जहाज ग्राउन्डेड भएपछि निगमलाई करिब १० लाख रुपैयाँ थप व्ययभार परेको छ। हङकङमा मुसा खोज्नेदेखि मर्मतसम्म त्यहाँको 'हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कर्पोरेसन' (हेको) का इन्जिनियरहरूले गरिरहेका छन्।
पाइलटहरूका अनुसार जहाजभित्र मुसा पसे तार काट्ने वा अन्य हानी पुर्याउने सम्भावना हुन्छ। उड्दाउड्दैको जहाजमा मुसा देखिए तत्काल आकस्मिक अवतरण गराउनुपर्ने नियम छ।
मुसाको फोटोमात्र हेरेँ
सोमबार मुसा देखिएपछि उडान स्थगित गरेका क्याप्टेन युवराजकुमार भट्टराईले मंगलबार हङकङ जानुअघि निगमका इन्जिनियरहरूसँग सोधेका थिए, 'मुसा भेटिएकै हो?'
उताबाट 'हो' भन्न जवाफ आएपछि उनले भने, 'मलाई ल्याएर देखाऊ।' उनीहरू मुसा लिन दौडिए। तर, एकछिनपछि आउँदा उनीहरूको हातमा मुसा होइन, मोबाइलबाट खिचिएको फोटोमात्र थियो।
भट्टराईले 'साँच्चिकै मुसा खोइ' भनेर सोध्दा उनीहरूको जवाफ थियो, 'मुसा त ह्यांगरमा छ।'Ngarik
No comments:
Post a Comment